नेपाल हेल्थ न्युज, काठमाडौं । गाउट लाई सामान्यतया जोर्नीमा युरिक एसिड जम्मा भएर हुने रोगका रूपमा बुझिन्छ । तर नेपालबाट युरोपको प्रतिष्ठित रियुम्याटोलोजी सम्मेलन युरोपियन एलायन्स अफ एसोसिएसन फर रियुम्याटोलोजी (ईयुलार) कंग्रेसमा प्रस्तुत गरिएको एक अध्ययनले गाउट केवल जोर्नीमा सीमित रोग नभई शरीरको समग्र मेटाबोलिक स्वास्थ्य र कलेजोसँग समेत गहिरो सम्बन्ध रहेको देखाएको छ ।
काठमाडौंस्थित नेशनल सेन्टर फर रियुम्याटिक डिजिज (एनसिआरडी) का अनुसन्धानकर्ताहरूले ४ सय ५५ जना गाउटका बिरामीमा गरेको अध्ययनले गाउट भएका व्यक्तिहरूमा इन्सुलिन रेजिस्टेन्स, फ्याटी लिभर तथा कलेजो फाइब्रोसिसको उल्लेखनीय बोझ रहेको देखाएको हो ।
अध्ययनका अनुसार गाउटका ३४.७ प्रतिशत बिरामीमा नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज भेटिएको छ । त्यस्तै ३८.३ प्रतिशत बिरामीमा इन्सुलिन रेजिस्टेन्स देखिएको छ जहाँ फास्टिङ इन्सुलिनको मात्रा २० एमयुएमएल भन्दा बढी थियो ।
अझ चासोको विषय के छ भने ७४.१ प्रतिशत बिरामीमा होमा आईआर स्कोर २.५ वा सोभन्दा माथि पाइयो, जसले इन्सुलिन रेजिस्टेन्सको उच्च बोझ रहेको संकेत गर्दछ । इन्सुलिन रेजिस्टेन्सलाई मधुमेह, मुटुरोग तथा अन्य मेटाबोलिक समस्याको प्रमुख जोखिम कारक मानिन्छ ।
अध्ययनले कलेजोसम्बन्धी जोखिम पनि उल्लेखनीय रहेको देखाएको छ । एफआईबी–४ स्कोरको आधारमा ३२.७ प्रतिशत बिरामीमा मध्यम स्तरको कलेजो फाइब्रोसिसको जोखिम रहेको पाइएको छ । कलेजो फाइब्रोसिस भनेको कलेजोमा क्रमशः दाग बस्ने प्रक्रिया हो जसले दीर्घकालमा गम्भीर कलेजो रोग निम्त्याउन सक्छ ।
अनुसन्धानमा गाउटको उन्नत अवस्थाका रूपमा चिनिने ‘टोफी’ भएका बिरामीहरूमा इन्सुलिन रेजिस्टेन्स र कलेजो फाइब्रोसिसका सूचकहरू अझ बढी देखिएका थिए । टोफी भनेको शरीरका विभिन्न भागमा युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर बन्ने गाँठो हो जसले रोगको दीर्घकालीन र जटिल अवस्थालाई संकेत गर्दछ ।
त्यसैगरी २० वर्षभन्दा लामो समयदेखि गाउटबाट पीडित बिरामीहरूमा मेटाबोलिक तथा कलेजोसम्बन्धी जोखिम अझ बढी रहेको अध्ययनले देखाएको छ । यसले रोगको अवधि बढ्दै जाँदा शरीरका अन्य अंगहरूमा समेत असर पर्ने सम्भावना बढ्ने संकेत गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार गाउटको उपचार केवल रगतमा युरिक एसिडको मात्रा घटाउने उद्देश्यमा सीमित हुनु पर्याप्त हुँदैन । गाउटका बिरामीमा इन्सुलिन रेजिस्टेन्स, फ्याटी लिभर र कलेजो फाइब्रोसिसको नियमित मूल्यांकन तथा व्यवस्थापनलाई पनि उपचार योजनाको अभिन्न अंग बनाउनुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ ।
दक्षिण एशियाली जनसंख्यामा गाउट र मेटाबोलिक रोगबीचको सम्बन्धबारे सीमित अध्ययन भएका बेला नेपालबाट प्रस्तुत यो अनुसन्धानले महत्वपूर्ण प्रमाण उपलब्ध गराएको अनुसन्धानकर्ताहरूको भनाइ छ । भ्ग्ीब्च् ऋयलनचभकक जस्तो अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भएको यो अध्ययनले गाउटलाई केवल जोर्नीको समस्या नभई सम्पूर्ण शरीरको मेटाबोलिक स्वास्थ्यसँग जोडिएको रोगका रूपमा बुझ्नुपर्ने सन्देश दिएको छ ।
विशेषज्ञहरूका अनुसार समयमै युरिक एसिड नियन्त्रण, स्वस्थ खानपान, तौल व्यवस्थापन, नियमित व्यायाम तथा कलेजो र मेटाबोलिक स्वास्थ्यको निगरानीले गाउटका बिरामीमा दीर्घकालीन जटिलता कम गर्न मद्दत पुग्न सक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

