नेपाल हेल्थ न्युज, काठमाडौं । गाउट लाई सामान्यतया जोर्नीमा युरिक एसिड जम्मा भएर हुने रोगका रूपमा बुझिन्छ । तर नेपालबाट युरोपको प्रतिष्ठित रियुम्याटोलोजी सम्मेलन युरोपियन एलायन्स अफ एसोसिएसन फर रियुम्याटोलोजी (ईयुलार) कंग्रेसमा प्रस्तुत गरिएको एक अध्ययनले गाउट केवल जोर्नीमा सीमित रोग नभई शरीरको समग्र मेटाबोलिक स्वास्थ्य र कलेजोसँग समेत गहिरो सम्बन्ध रहेको देखाएको छ ।
काठमाडौंस्थित नेशनल सेन्टर फर रियुम्याटिक डिजिज (एनसिआरडी) का अनुसन्धानकर्ताहरूले ४ सय ५५ जना गाउटका बिरामीमा गरेको अध्ययनले गाउट भएका व्यक्तिहरूमा इन्सुलिन रेजिस्टेन्स, फ्याटी लिभर तथा कलेजो फाइब्रोसिसको उल्लेखनीय बोझ रहेको देखाएको हो ।
अध्ययनका अनुसार गाउटका ३४.७ प्रतिशत बिरामीमा नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज भेटिएको छ । त्यस्तै ३८.३ प्रतिशत बिरामीमा इन्सुलिन रेजिस्टेन्स देखिएको छ जहाँ फास्टिङ इन्सुलिनको मात्रा २० एमयुएमएल भन्दा बढी थियो ।
अझ चासोको विषय के छ भने ७४.१ प्रतिशत बिरामीमा होमा आईआर स्कोर २.५ वा सोभन्दा माथि पाइयो, जसले इन्सुलिन रेजिस्टेन्सको उच्च बोझ रहेको संकेत गर्दछ । इन्सुलिन रेजिस्टेन्सलाई मधुमेह, मुटुरोग तथा अन्य मेटाबोलिक समस्याको प्रमुख जोखिम कारक मानिन्छ ।
अध्ययनले कलेजोसम्बन्धी जोखिम पनि उल्लेखनीय रहेको देखाएको छ । एफआईबी–४ स्कोरको आधारमा ३२.७ प्रतिशत बिरामीमा मध्यम स्तरको कलेजो फाइब्रोसिसको जोखिम रहेको पाइएको छ । कलेजो फाइब्रोसिस भनेको कलेजोमा क्रमशः दाग बस्ने प्रक्रिया हो जसले दीर्घकालमा गम्भीर कलेजो रोग निम्त्याउन सक्छ ।
अनुसन्धानमा गाउटको उन्नत अवस्थाका रूपमा चिनिने ‘टोफी’ भएका बिरामीहरूमा इन्सुलिन रेजिस्टेन्स र कलेजो फाइब्रोसिसका सूचकहरू अझ बढी देखिएका थिए । टोफी भनेको शरीरका विभिन्न भागमा युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर बन्ने गाँठो हो जसले रोगको दीर्घकालीन र जटिल अवस्थालाई संकेत गर्दछ ।
त्यसैगरी २० वर्षभन्दा लामो समयदेखि गाउटबाट पीडित बिरामीहरूमा मेटाबोलिक तथा कलेजोसम्बन्धी जोखिम अझ बढी रहेको अध्ययनले देखाएको छ । यसले रोगको अवधि बढ्दै जाँदा शरीरका अन्य अंगहरूमा समेत असर पर्ने सम्भावना बढ्ने संकेत गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार गाउटको उपचार केवल रगतमा युरिक एसिडको मात्रा घटाउने उद्देश्यमा सीमित हुनु पर्याप्त हुँदैन । गाउटका बिरामीमा इन्सुलिन रेजिस्टेन्स, फ्याटी लिभर र कलेजो फाइब्रोसिसको नियमित मूल्यांकन तथा व्यवस्थापनलाई पनि उपचार योजनाको अभिन्न अंग बनाउनुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ ।
दक्षिण एशियाली जनसंख्यामा गाउट र मेटाबोलिक रोगबीचको सम्बन्धबारे सीमित अध्ययन भएका बेला नेपालबाट प्रस्तुत यो अनुसन्धानले महत्वपूर्ण प्रमाण उपलब्ध गराएको अनुसन्धानकर्ताहरूको भनाइ छ । भ्ग्ीब्च् ऋयलनचभकक जस्तो अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भएको यो अध्ययनले गाउटलाई केवल जोर्नीको समस्या नभई सम्पूर्ण शरीरको मेटाबोलिक स्वास्थ्यसँग जोडिएको रोगका रूपमा बुझ्नुपर्ने सन्देश दिएको छ ।
विशेषज्ञहरूका अनुसार समयमै युरिक एसिड नियन्त्रण, स्वस्थ खानपान, तौल व्यवस्थापन, नियमित व्यायाम तथा कलेजो र मेटाबोलिक स्वास्थ्यको निगरानीले गाउटका बिरामीमा दीर्घकालीन जटिलता कम गर्न मद्दत पुग्न सक्छ ।
टिचिङ अस्पतालमा अब प्रविधिको सहारा: लाइन घटाउन महानगरको १ करोड ७० लाखको सहयोग
बिहीबार, जेठ २१, २०८३
उत्कृष्ट शुक्रकिट बनाउन मद्दत गर्ने टमाटर, प्रजनन क्षमतामा वृद्धि
सोमबार, जेठ १८, २०८३
स्वास्थ्यमा १ खर्ब १ अर्ब ९५ करोड:बीमा सुधारदेखि मेडिकल शिक्षासम्म सरकारका ठूला घोषणा
शुक्रबार, जेठ १५, २०८३


