
डायवेटिक रेटिनोप्याथी अनियन्त्रित मधुमेह (चिनी रोग) भएका व्यक्तिहरूमा देखिने समस्या हो । डायबेटिक रेटिनोप्याथीको समस्या टाइप–१ र टाइप–२ दुवै मधुमेहका बिरामीलाई हुनसक्छ । तपाईलाई मधुमेह जति लामो समयदेखि हुन्छ, त्यति नै यसको जोखिम बढ्छ । यसले आँखाको पछाडि अवस्थित पर्दा (रेटिना) लाई असर गर्छ । डायबेटिक रेटिनोप्याथीको कारणले रेटिना सुन्निन्छ र रक्तश्राव पनि हुनसक्छ । यसले दृष्टिमा असर पुग्छ । लामो समयदेखि अनियन्त्रित मधुमेह भएकाहरूलाई डायवेटिक रेटिनोप्याथी हुने सम्भावना बढी हुन्छ । डायबेटिक रेटिनोप्याथी हाल विश्वमा अन्धोपनको प्रमुख कारण मानिएको छ । समयमै उपचार नगरे मानिस अन्धो हुनसक्छ ।
डायवेटिक म्याकुलर इडिमा मधुमेहले निम्त्याउने अत्यन्त जटिल अवस्था हो । जसमा रेटिनामा तरल पदार्थ जम्मा हुन्छ जुन मधुमेहका कारण स—साना रक्तकोशिका कमजोर हुँदा चिनी रोग लागेकाहरूमा दृष्टि गुम्ने खतरा अन्य व्यक्तिको तुलनामा बढी देखिएको छ । त्यसकारण समयमा आँखा रोग विशेषज्ञलाई भेट्न जरुरी पर्छ ।
डायवेटिक रेटिनोप्याथीका लक्षण
दृष्टिमा धमिलोपना, रङ छुट्याउन गाह्रो, दृष्टिमा चकिलोपनाको कमी, आँखा अगाडी काला वस्तुहरु (फ्लोटर्स) उड्ने, सिधा धर्काहरू बाङ्गो देखिने आदि ।
डायवेटिक रेटिनोप्याथीको कारण
डायबेटिक रेटिनोप्याथीको मुख्य कारण रेटिनामा रगत पु–याउने स्वस्थ्य नसाहरूमा क्षति हुनु हो । रगतमा चिनीको मात्रा बढी हुँदा स्वस्थ्य नसाहरू कमजोर र क्षतिग्रस्त हुन्छन् । रेटिनाले बिस्तारै सबै साना रक्तनलीहरू गुमाउन थाल्छ जसले गर्दा रेटिना कमजोर हुन्छ ।
कस्तो र कहाँ जाँच गराउने ?
मधुमेह भएका प्रत्येक व्यक्तिले वर्षमा एक पटक आँखाको नानी फुलाएर आँखा रोग विशेषज्ञबाट आँखाको पर्दा (रेटिना) को जाँच गराउनुपर्दछ ।
पर्दाको फोटो, पर्दाको स्क्यान आदि जाँचले डायवेटिक रेटिनोप्याथी भएनभएको र जटिलताको किसिमबारे जानकारी गराउँछ ।
के कस्ता उपचार विधि छन् ?
डायवेटिक रेटिनोप्याथीमा सुगर लेभल नियन्त्रण नै सबैभन्दा प्रमुख उपचार हो । यसका अलावा आँखामा नयाँ रक्तनली (नियोभास्कुलराइजेसन) पलाएमा लेजर गर्नुपर्छ । यसले रेटिनामा रगत जम्नबाट बचाउँछ । कतिपय अवस्थामा आँखामा इन्जेक्सन पनि लगाउनुपर्ने हुनसक्छ । ओसिटी स्क्यान हेरेर निर्णय लिनुपर्छ । जटिल अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

लेजर फोटोकोगुलेसनः यो लेजर टेक्नोलोजीमा आधारित छ । लेजरको तापलाई रेटिनामा रहेका असामान्य रक्तनलीहरूलाई संकुचित गर्न वा नष्ट गर्न यो प्रयोग गरिन्छ । यो उपचारले रक्तसञ्चारमा सुधार गर्छ र रेटिनामा हुने क्षति रोक्न मद्धत गर्छ । यो सामान्यतया डायबेटिक रेटिनोप्याथी र म्याकुलर डिजेनेरेशन (एएमडी) जस्ता आँखाका रोगहरूको उपचारमा विशेषज्ञहरूद्वारा प्रयोग गरिन्छ ।
एन्टी—भीईजीएफ इन्जेक्सनः एन्टी—भीईजीएफ इन्जेक्सन (एक्सेन्ट्रिक्स/ राजुमाब/आइलिया/ओजुर्डेक्स) रेटिनाको सतहमा लगाउँदा डायवेटिक रेटिनोप्याथीको प्रभाव नियन्त्रण गर्न ठूलो मद्दत पुग्छ ।
भिट्रोरेटिनल आई सर्जरीः यदि रेटिनोप्याथीको समस्या बढेर लेजर विधिबाट उपचार सम्भव नभएमा शल्यक्रियाद्वारा रक्तकोषिकाको दाग हटाइन्छ ।
मधुमेह भएका प्रत्येक ३ मध्ये एक जनालाई डायवेटिक रेटिनोप्याथी हुनसक्छ । नेपालमा चिनी रोग भएकाहरूमध्ये लगभग १९% मानिसमा डायवेटिक रेटिनोप्याथी देखिने विभिन्न खोजहरूले देखाएका छन् । त्यसैले दृष्टिको समस्या नभएपनि वर्षमा एकपटक आँखाको पर्दा (रेटिना) जँचाउन अत्यन्त जरूरत पर्छ ।

डायवेटिक रेटिनोप्याथीबाट कसरी बच्ने ?
समय समयमा आँखाको रेटिना जाँच गराउनुपर्छ । यदि तपाईंलाई पाँच वर्षदेखि मधुमेह भएमा हरेक ६ महिनामा आँखा जाँच गराउनुहोस् । साथै मधुमेह हुने व्यक्तिले धुम्रपान बन्द गर्ने, प्रशस्त सागसब्जी खाने र शारीरिक व्यायाम गर्न जरूरी हुन्छ । यसले डायवेटिक रेटिनोप्याथी रोक्न मद्धत गर्छ । मोटोपनाले डायवेटिक रेटिनोप्याथी निम्त्याउने खतरा बढी भएकाले सक्रिय जीवनशैली निकै महत्वपूर्ण मानिन्छ । यसैगरी चिकित्सकले दिएको उपचार पालना गर्ने र नियमित फलोअपमा बस्नाले दृष्टि गुम्नबाट बचाउन सकिन्छ । एक पटक डायवेटिक रेटिनोप्याथी भइसकेपछि नियन्त्रणमा राख्न निकै मुस्किल पर्नसक्छ । सुगर लेभल पूर्ण रूपमा नियन्त्रण भएपनि रोग बढ्न सक्छ । त्यसैले नियमित जाँच, फलोअप र उपचार आवश्यक छ ।
(प्रा.डा. पौडेल तिलगंगा आँखा प्रतिष्ठान तथा मेट्रो आइकेयरमा कार्यरत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



