
डा. शाश्वत ढुंगेल, सिनियर रिफ्र्याक्टिभ सर्जन
केराटोकोनस आँखाको नानी (कर्निया) मा देखिने एक गम्भीर रोग हो । यसले कर्नियाको आकार बदलिदिन्छ । कर्नियालाई पातलो र कमजोर बनाउँछ । त्यसपछि कर्नियाको आकार बिस्तारै कोन जस्तो चुच्चो हुन्छ । कर्नियाको आकारमा आएको यो परिवर्तनलाई केराटोकोनस भनिन्छ । यसले आँखाको फोकसिङ मेकानिजम नै बिगार्छ र बिरामीको दृष्टि कमजोर हुँदै जान्छ । बिस्तारै यो बढ्दै गएमा आँखाको नानी नै फेर्नुपर्ने हुनसक्छ । कर्नियाको आकारको परिवर्तन धेरै वर्षमा हुने गर्दछ । विगतमा नेपालमा केराटोकोनस रोग त्यति भेटिदैँनथ्यो । यसको कारण, यो रोग पत्ता लगाउने प्रविधि नहुनुले हो भन्न सकिन्छ । तर, अहिले नयाँ प्रविधि भित्रिएसँगै नेपालमा यो रोग धेरै भएको पाइएको छ ।
केराटोकोनस सामान्यतया किशोरावस्था देखि ४०–४५ वर्ष उमेर समुहमा देखिने गरेको पाइन्छ । तर बाल्यावस्थाबाट शुरू हुन पनि सक्छ । यो एक्कासी आउने समस्या होइन ।

केराटोकोनस भएको कसरी थाहा पाउने ?
कर्नियाको गोलो आकार परिवर्तन भएर कोण आकार हुन्छ । यसरी कर्नियाको अघिल्लो भाग उठेपछि भिजन स्पष्ट हुँदैन । लाइट छरिएर जाने भएकाले प्रष्ट देख्न सकिदैन । हाइ पावरको चश्मा लगाउनुपर्ने हुनसक्छ । चिल्लो सतह पनि विकृत हुन्छ । यस परिवर्तनलाई अनियमित दृष्टिवैषम्य (इरेगुलर अस्टिग्म्याटिजम) भनिन्छ । यसमा चस्मा लगाए पनि काम गर्न सक्दैन । नजिकका वस्तुलाई मात्र स्पष्ट देख्न सकिन्छ । यसले धेरै पटक नयाँ चस्मा फेरिरहनुपर्ने वाद्यता हुनसक्छ ।
सामान्यतः बिस्तारै एउटा या दुईवटै आँखाको भिजन खराब हुँदै जान्छ । उज्यालो चमकदार रोशनीमा प्रभामण्डलजस्तो देखिन्छ । एउटै चिज दुइटा जस्तो देखिन्छ ।
किशोरावस्थामा ३ देखि ६ महिनाको अन्तरालमा पावर फेरिरहने र त्यो पावर लगाउँदा पनि प्रष्ट नदेख्ने भएमा केराटोकोनस रोगको शंका गर्नुपर्दछ । आँखा धेरै मिचिरहने र स्पष्ट नदेखिएको अवस्थामा पनि शंका गर्न सकिन्छ ।
कारण र जटिलता
अहिलेसम्म यसको कारण पत्ता लाग्न सकेको छैन । केही अध्ययनहरूले वंशाणुगत कारण मानेका छन् । आँखा धेरै मिच्ने व्यक्तिहरुलाई केराटोकोनस हुने सम्भावना बढी हुन्छ । यो रोग जटिल हुँदै गएमा यसले जलविन्दु, मोतिविन्दु जस्ता समस्याभन्दा भयावह स्थिति निम्त्याउन सक्छ । धेरै कडा भएपछि कर्नियाको भित्री पत्र टुट्छ र तरल पदार्थ कर्निया (हाइड्रोप्स) मा प्रवेश गर्छ । कर्निया सुन्निने र अचानक दृष्टि कम हुनसक्छ ।
निदान र उपचार
आँखाको स्क्यान गरेर पत्ता लगाउन सकिन्छ । नेपालमा धेरै व्यक्तिलाई केरोटोकोनस भएको पाएको छ । समयमै निदान भएमा आँखा बचाउन सकिन्छ ।
केराटोकोनसको प्रारम्भिक चरणमा आँखाको नानीलाई लेजरले सेकेर चुच्चो हुने क्रमलाई रोक्न सकिन्छ । यसले आँखाको नानी बलियो बनाउन मद्धत गर्छ । केराटोकोनस बढिरहेकोे अवस्थामा कोर्नियल कोलाजेन क्रस लिकिंक (सीथ्रआर) ले यसलाई रोक्न सकिन्छ ।
त्यतिमात्र नभई अहिले मात्रिका आँखा केन्द्रले नेपालमै पहिलोपटक सी थ्री आर वीथ टीइपीआरके गरेर यो रोगको नियन्त्रण मात्र नगरी दृष्टिमा नै सुधार ल्याउन सकिन्छ । यो विश्वकै सबैभन्दा एडभान्स्ड उपचार विधि हो । यसले भविष्यमा कर्निया प्रत्यारोपणको आवश्यकता हुनबाट रोक्न मद्धत गर्छ । हल्कादेखि मध्यम केराटोकोनसलाई चस्मा वा कन्ट्याक्ट लेन्सले उपचार गर्न सकिन्छ । यो पनि नभएमा कर्निया प्रत्यारोपण आवश्यक पर्नसक्छ । (डा. ढुंगेल मात्रिका आइ सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



