
मेरूदण्डलाई संस्कृत शव्दमा ब्रह्माण्डको केन्द्र ‘सेन्टर अफ द युनिभर्स’ पनि भनिन्छ । मेरुदण्ड (स्पाइन) ले शरीरलाई सिधा र चलायमान राख्न मद्दत गर्छ । मेरुदण्डले शरीरको सम्पूर्ण बोझ उठाउँछ । यसले टाउको अड्याउन र चलाउन मद्दत गर्छ । साथै मस्तिष्कबाट निस्कने सम्पुर्ण नसालाई हाइ–वे जस्तै बनाएर शरीरका प्रत्येक अंगहरूसम्म पुर्याउन मद्धत गर्छ । यसले नसाहरूको सुरक्षा पनि गर्छ । मेरुदण्ड ३३ वटा हड्डीबाट बनेको हुन्छ जसलाई भर्टेब्रल बडिज भनिन्छ । त्यसभित्र २३ वटा कुरकुरे हड्डी हुन्छन् । यी सबैलाई बाँध्ने ज्वाइन्ट ५३ वटा हुन्छन् । स्पाइनको भित्री भागमा एउटा टनेल हुन्छ । टनेल हुँदै ब्रेनबाट निस्कने सबै नसा पास हुन्छन् । शरीरका सम्बन्धित अंग चलाउने नसाहरू उप–शाखा भएर निस्कन्छन् ।

नसा किन च्यापिन्छ ?
शरीरलाई गतिमा ल्याउनुपर्ने भएकाले सबै भार मेरूदण्डमा पर्छ । उमेर बढ्दै जाँदा हड्डी खिइन थालेपछि कुरकुरे हड्डी चिप्लिएर पछाडि निस्किन सक्छ र यसले नसा च्याप्छ । उमेर बढ्दै जाँदा लिडामेन्टम फ्लेबम नामक सब–टिस्यु बाक्लो भएर स्पेस घटेपछि नसा च्यापिन सक्छ । यसले हड्डी र नसा बीचमा ब्यारिएरको काम गरेको हुन्छ । साथै उमेर बढ्दै जाँदा फ्यासेट ज्वाइन्टमा भार परेमा खिइएर नयाँ कुकुरे हड्डी पलाउँछ । यसले पनि स्पेसलाई सानो बनाउँछ र नसा च्यापिनसक्छ । नसाबाट निस्कने ट्युमर, चोटपटक, क्षयरोगको संक्रमणले पनि नसा च्यापिन सक्छ । कहिलेकाँही स्पाइनल कर्डबाट निस्किएको नसाले रूटलाई च्याप्छ । यस्तो अवस्थामा पार्टिकुलर नसामा असर पर्छ । यसलाई रेडिकुलोप्याथी भनिन्छ । स्पाइनल कर्ड आफैँमा समस्या आएर पनि नसा च्यापिनसक्छ ।
कस्तो लक्षण देखिन्छ ?

कुरकुरे हड्डी चिप्लिएर, टनेल वा नसा निस्कने भाग साँघुरो भएर लम्बर स्पाइनको तल्लो भागमा नसा च्यापिँदा खुट्टा झमझमाउने, लाटो हुने र लुलो हुने गर्छ । साथै दिसापिसाबमा पनि असर गर्छ । समस्या बल्झिदै जाँदा पिसाब रोकिन्छ र पिसाब चुहिन थाल्छ । साथै दिसा वरीपरको भाग लाटो हुनथाल्छ । यसलाई काउडा इक्वाइना सिन्ड्रोम भनिन्छ । यस्तो अवस्थामा तुरून्त शल्यक्रिया गर्नुपर्छ । तुरून्त शल्यक्रिया भएमा निकासको सम्भावना हुन्छ । ढिलो भएमा दीर्घकालीन क्षति भएर अपाङ्गता हुनसक्छ ।
ढाड किन सड्किन्छ ?
मसल्स स्पाजम र कुरकुरे ह्डीमा परेको भारका कारण ढाड सड्किनसक्छ । मसल्स स्पाजम भनेको मेरूदण्ड वरपरीको मांशपेशी कडा हुने समस्या हो । यस्तो अवस्थामा निकै दुख्छ र हलचल गर्न सकिदैन । मसल्स रिल्याक्सिङ, चिकित्सकको सिफारिसमा नदुख्ने औषधि सेवन गरेर एकदुई दिन आराम गरेमा विस्तारै कम हुन्छ । यस प्रकारको समस्या एक्स–रे रिपोर्टले पनि देखाउँदैन । साथै निहुरिएर सामान उठाउँदा कुरकुरे हड्डीको अघिल्लो भागमा धेरै भार पर्ने भएकाले ढाड सड्किने गर्छ । यसको दवावले कुरकुरे हड्डी पछाडी चिप्लिएर नसा च्याप्छ ।
आकस्मिक उपचार गर्नुपर्ने लक्षण
२० वर्ष भन्दा कम र ५० वर्ष भन्दा माथिको उमेरका व्यक्तिमा ढाड दुखेमा सचेत हुन जरूरी छ किनभने यो उमेरमा क्यान्सर वा ट्युृमरले समस्या गरेको हुनसक्छ । यस्तो अवस्थामा हड्डी नरम भएर मेरुदण्ड भाँचिन सक्छ । यसलाई ओस्टियोपोरोटिक बोन फ्याक्चर भनिन्छ ।
यो उमेरमा मसल्स स्पाजम, हड्डी खिएर दुखाइ हुने सम्भावना कम हुन्छ । ढाडको दुखाईसँगै खुट्टा लुलो र झमझम गर्ने, दिसापिसाबमा अफ्ठेरो महसुस भएमा डाक्टरलाई देखाउनुपर्छ । ढाडको दुखाइसँगै ज्वरो आएमा पनि चिकित्सकलाई देखाउनुपर्छ । इन्फेक्सले पनि ढाड दुख्ने र ज्वरो आउन सक्छ । विगतमा लामो समयअघि मेरुदण्डमा लागेको चोटपटकले पनि ढाडको दुखाइ बल्झिनसक्छ । स्टेरोइड र इम्युनो सप्रेसन औषधि सेवन गर्नेहरूमा पनि स्पाइन हड्डीको इन्फेक्सन हुने दर बढी हुन्छ । यसले सेप्सिसको समस्या ल्याउन सक्छ । ढाड, खुट्टा दुख्ने र दिसापिसाबमा अफ्ठेरो हुने कडा इक्वाइना सिन्ड्रोम हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया गरेर समस्याको समाधान खोज्न जरूरी पर्छ ।
कहिले चिकित्सकलाई देखाउने ?

८० प्रतिशत ढाडको दुखाई सामान्य हुने गर्छ । तर ढाडसँगै खुट्टा दुख्ने, हिँड्दै गर्दा खुट्टा पुरै गल्ने स्पाइनल स्टेनोसिसको समस्या हो । यसलाई न्युरोजेनिक क्लाउडिकेसन भनिन्छ ।
यसरी ढाड दुख्ने, खुट्टा झमझम गर्ने, गोडाबाट फित्ता भएको चप्पल फुत्किने समस्या भएमा तुरून्त चिकित्सकको सम्पर्कमा आउनुपर्छ । ढाडको दुखाइसँगै ज्वरो, खुट्टा लुलो र झमझम गर्ने समस्यामा पनि ढिलो गर्न हुँदैन । धेरै व्यक्तिको मांसपेशी कडा हुने, फ्यासेट ज्वाइन्टमा समस्या आदि कारणले ढाड दुख्नसक्छ ।
यो मेकानिकल ब्याक पेन हो । यसमा केहि समय आराम गर्ने र चिकित्सकको सिफारिसमा नदुख्ने औषधिको सेवनपछि निको हुनसक्छ । तर ढाडको दुखाइ करेन्ट लागेजस्तो झमझम गरेर खुट्टातिर सर्दै जाने, खोक्दा र हाच्छुँ गर्दा ढाड र खुट्टा दुवै दुख्ने र करेन्ट लागेजस्तो महसुस हुने, ढाडको दुखाईसँगै खुट्टा लाटो र झमझम हुने समस्यामा पनि चिकित्सकलाई देखाउन ढिला गर्न हुँदैन ।
निदान र उपचार
ढाड र खुट्टाको दुखाइ भएका व्यक्तिहरूको मेकानिकल व्याकपेन, रेडिकुलोप्याथी र माइलोप्याथी गरी ३ भागमा वर्गीकरण गरेर उपचारको प्रक्रिया सुरू गर्नुपर्छ । मेकानिकल ब्याक पेन धेरैलाई हुने समस्या हो । यो मांसपेशीको दुखाइ, लिगामेन्ट, जोर्नीमा प्रेसर, बस्ने तरिका नमिलेर हुने गर्छ । यस्तो अवस्थामा नदुख्ने औषधि, फिजियोथेरापी र बसाइको तरिका (पोस्चर) मिलाएमा आफैँ निको हुन्छ । स्पाइनल कर्डबाट निस्केको कुनै नसाको रूट मात्र च्यापिने समस्यालाई रेडिकुलोप्याथी भनिन्छ । यसले हातखुट्टा खुम्च्याउन, सिधा गर्न वा कुनै औँला चलाउन समस्या हुने गर्छ ।
यदि बिरामीलाई दिसापिसाबमा समस्या (क्वाडा इक्वैना सिन्ड्रोम) र हातखुट्टा लुलो हुने समस्या नभएमा फिजियोथेरापी, नदुख्ने औषधि र पोस्चर मोडिफिकेसन उपचार विधि अपनाइन्छ । यदि दुखाइ कम गर्ने औषधि, फिजियोथेरापी र इन्जेक्सनले पनि ढाडको दुखाइ कम नभएमा शल्यक्रिया गर्नुपर्छ ।
के मेरुदण्डको शल्यक्रिया गर्दा कुँजो भइन्छ ?

सामान्यत ढाडको शल्यक्रिया गर्दा प्यारालाइसिस हुँदैन । तर लामो समयदेखि च्यापिएको नसा खोल्ने क्रममा नसाको रूटमा चोट लागेर औँला चलाउन समस्या हुनसक्छ । साथै औंला हल्का कमजोर हुने सम्भावना हुन्छ । तर यो फिजियोथेरापीबाट बिस्तारै फर्किएर आउँछ । वर्तमान दक्ष र अनुभवी सर्जन र अध्याधुनिक उपकरणका कारण विगतको जस्तो समस्या छैन
टेक्नोलोजीको भूमिका
विश्व बजारमा विकसित भएका नयाँ टेक्नोलोजी जस्तोः न्युरो मोनिटरिङ, नेभिगेसन, सिटी स्क्यान आदि) ले स्पाइनल सर्जरीलाई धेरैनै सुरक्षित बनाएको छ । शल्यक्रियाका क्रममा चाहेर वा नचाहेर नसालाई हिट गर्दा कति चोट पुग्यो भन्ने कुरा वेभ प्याटर्नका रुपमा न्युरो मोनिटरमा हेर्न सकिन्छ । न्युरो मोनिटरिङले नसा छुने बित्तिकै अलर्ट गराउँछ । न्युरो न्याभिगेसन सिस्टम प्रयोग गर्दा नचिरिकन कुन ठाउँमा समस्या छ भन्ने कुरा थाहा पाउन सकिन्छ । सानो घाउबाट नै शल्यक्रिया गर्न सकिन्छ । यसले एक्युरेसीलाई बढाउँछ । न्याभिगेसन सिस्टमलार्य प्रयोग गर्दा शल्यक्रिया धेरै सजिलो र सुरक्षित हुन्छ ।
(लेखक नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
