
हामीले दुर्घटनाबाट मेरुदण्डमा चोट लागेर जिन्दगीभर ह्वीलचेयरको सहारामा बाँचिरहेका धेरै व्यक्ति देखिरहेका छौं । सडक दुर्घटना, लडेर, अग्लो स्थान जस्तै रुख, भीर वा घरको छतबाट खसेर, पौडी खेल्दा डाइभिङ नमिलेर वा कुनै कारणले ढाडको हड्डीमा दबाब परेर स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । यस्तै सांघातिक आक्रमण, गोली लागेर वा विस्फोटमा पर्दा पनि स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । स्पाइनल कर्ड इन्जुरीका घटनामा स्पाइन (मेरुदण्ड) मा मात्रै चोट लागेको हुँदैन । अरू सहायक इन्जुरी पनि हुनसक्छन् । स्पाइनल कर्ड इन्जुरीमा छाती, पेट, आन्द्रा, मुख र दाँतमा पनि चोट लाग्ने सम्भावना बढी हुन्छ ।
जटिल समस्याको कारक
स्पाइनल कर्डको माध्यमबाट सम्पूर्ण शरीरसँग मस्तिष्कको सम्पर्क–समन्वय हुन्छ । शरीरको कुनै भाग चलाउन स्पाइनल कर्डबाट सेन्सेसन मस्तिष्कसम्म आउँछ । स्पाइनल कर्ड इन्जुरी हुँदा यस्तो सेन्सेसन मस्तिष्कसम्म लैजान र ल्याउने इन्द्रीय विफल भइदिन्छन् । पूर्णरूपमा चोट लागेको अवस्थामा तल्लो शरीर नचल्ने हुनसक्छ । जस्तोः घाँटीमा चोट लागेमा घाँटीभन्दामुनी हातखुट्टा नचल्ने र सास फेर्न गाह्रो हुनसक्छ । पिठ्युको ढाडमा चोट लागेमा खुट्टा चल्दैन । यसमा आधा शरीर प्यारालाइसिस पनि हुनसक्छ । यसको ‘ए’ देखि ‘इ’ सम्म ग्रेड छुट्याइएको हुन्छ । ‘ए’ ग्रेडमा पूर्णरूपमा केही थाहा नपाउने र ‘इ’ भनेको चोट लागेको तर ‘न्युरल स्ट्रक्चर ड्यामेज’ नभएको भन्ने बुझिन्छ ।
उद्धारमा उच्च सावधानी

स्पाइनमा चोट लागेको बेलामा घटनास्थलबाटै उपचार सुरू गर्नुपर्छ । कहिलेकाहीँ नसा चलिरहेको अवस्थामा बिरामीलाई सावधानीपूर्वक हस्पिटल पुुर्याउनुपर्छ। अन्यथा गम्भीर इन्जुरीमा जाने सम्भावना रहन्छ । बेहोस बिरामीलाई पानी खुवाउन हुँदैन किनभने पानी सर्किएर एस्पिरेसन हुनसक्छ । त्यस्तै बिरामीको खुट्टा चलिरहेको अवस्थामा हिँडाइ हाल्नुहुँदैन । बिरामीलाई कडा सतह जस्तैः काठको पटेरा, कडा टिन वा फलाम बिछ्याएर घाँटीको दुबैपट्टी कडा वस्तु राखेर घाँटीलाई चलाउन नमिल्नेगरी राख्नुपर्छ ।
उपचार र शल्यक्रिया
समस्याको पहिचान भएपछि आवश्यकता अनुसार उपचार शुरू गर्नुपर्छ । यसमा ओपन जर्सरी र दुरबीनको मद्दतबाट पनि शल्यक्रिया गरिन्छ । दुरबीनबाट गरिने शल्यक्रियालाई मिनिमल इन्भेजिभ स्पाइनल सर्जरी भनिन्छ । यसबाट चाँडो शल्यक्रिया हुने, कम दुखाइ, धेरै दिन अस्पतालमा बस्ननपर्ने र चाँडै चलायनमान गतिमा फर्किन सकिन्छ ।
तर स्पाइनल कर्ड इन्जुरी भएका सबैलाई शल्यक्रियाको जरूरत पर्दैन । ग्रेड ‘ए’ ग्रेडको इन्जुरीमा शल्यक्रिया गरेर पनि फाइदा हुँदैन । बी, सी, डी, र इ ग्रेडको इन्जुरीलाई शल्यक्रियाले फाइदा गर्नसक्छ । यदि चोट नभएमा शल्यक्रिया गर्नुपर्दैन । यदि हड्डीको उचाइ घटेको, हड्डीहरू डिस्ट्रक्सन भएर स्पाइनल कर्ड वा स्पाइनल क्यानल, दिसापिसाब नियन्त्रण गर्ने ठाउँमा आएको वा हातखुट्टा चलाउने ठाउँमा असर पुर्याएको अवस्थामा तुरून्त शल्यक्रियाको जरूरत पर्छ । स्पाइनल कर्डभित्र ट्युमरले पहिले नै नसा च्यापिएको र दुर्घटना भएर स्पाइनल इन्जुरी भएर डिस्ट्रक्सन भएको अवस्थामा शल्यक्रिया गर्दा सुधार हुन सक्दैन । तर सामान्य कुरकुरे हड्डी खिइएर नसा च्यापिएको र ढाड दुखेको समस्यामा शल्यक्रिया गर्दा पूर्णरूपमा प्यारालाइसिस हुन पाउँदैन ।

पुनःस्र्थापना केन्द्रको आवश्यकता
स्पाइनल कर्ड इन्जुरी भइसकेपछि मनोवैज्ञानिक प्रभाव पर्दछ । स्पाइन इन्जुरी भएका करिब ८० देखि ९० प्रतिशत बिरामी सामान्यदेखि दीर्घकालीन डिप्रेसनमा जानसक्छन् । त्यसैले बिरामीलाई रोगबारे पूर्ण रूपमा जानकारी दिनुपर्छ ।
पुनःस्र्थापना केन्द्रमा मनोचिकित्सक, फिजियोथेरापिष्ट, न्युरो सर्जन, न्युरोफिजिसियन, फर्मासिष्ट, पोषणविद आदि सबै मिलेर मल्टिडिसिप्लिनरी एप्रोचबाट उपचार गर्नुपर्छ । नेपाल सरकारले स्पाइनल इन्जुरी र हेड इन्जुरी भएका बिरामीलाई उपचारवापत् १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । त्यसैगरी स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीले स्थानीय वडा कार्यालयबाट पाँच हजार रुपैयाँ निर्वाह भत्ता पाउँछन् ।
(लेखक नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
