
विगतमा ढाडको दुखाइ कम गर्न औषधि, फिजियोथेरापी, मालिस र आराम गर्न लगाइन्थ्यो । करिब १०० वर्षयता ढाड चिरफार गरी नसा च्याप्ने डिस्कलाई निकाल्ने शल्यक्रिया गरिन थालियो । सन् १९७७ मा डा. हार्वे कुशिङ (फादर अफ न्युरो सर्जरी) ले पहिलो पटक माइक्रोस्कोपबाट हेरेर ढाडको नसा च्यापिएको शल्यक्रिया सुरू गर्नुभयो । माइक्रोस्कोपको मद्दतबाट कुन डिस्क, हड्डी वा लिगामेन्टले नसा च्यापिएको छ ? भन्ने सहजै म्याग्निफाइड (वास्तविक आकारभन्दा ठुलो बनाएर हेर्नु) गरेर हेर्न सकिन्थ्यो । जसले गर्दा नसा च्याप्ने डिस्क वा लिगामेन्टका स–साना टुक्रा निकालेर नसालाई स्वतन्त्र गर्न सहज हुन्थ्यो । यो उपचार विधिलाई माइक्रोस्कोपीक डिसेक्टोमी भनिन्छ ।
अहिलेपनि माइक्रोस्कोप प्रयोग गरेर गरिने ओपन सर्जरीलाई स्ट्यान्डर्ड मानिन्छ ।
इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरूवात्
सन् १९९० तिर केही न्युरो वैज्ञानिक तथा न्युरो सर्जनहरूले माइक्रोस्कोपको ठाउँमा दुरबिन (इन्डोस्कोप) छिराएर च्यापिएको नसा खोल्ने प्रयास गरे र सफल पनि भए । सुरूसुरूमा गुणस्तरीय इन्डोस्कोपिक उपकरणको विकास नभएकाले शल्यक्रिया गर्न कठिन हुन्थ्यो ।
सर्जनहरूलाई शल्यक्रिया गर्न धेरै समय खर्चिनुपथ्र्यो । परिष्कृत इन्डोस्कोपिक मेसिन बजारमा उपलब्ध भएसँगै विगत १ दशकदेखि दुरबीनको मद्दतले ढाडको नसा च्यापिएको शल्यक्रिया हुने क्रम बढेको छ ।
ओपन माइक्रोस्कोपिक र इन्डोस्कोपिक सर्जरीमा कुन भरपर्दो ?
‘कानलाई जताबाट समातेपनि उस्तै’ भनेजस्तै आफूलाइ सजिलो लाग्ने विधिबाट शल्यक्रिया गर्न सकिन्छ । विगतमा ओपन माइक्रोस्कोपिक सर्जरीबाट उपचार गरिन्थ्यो । आजकल दुरबीनबाट गर्न थालिएको छ । दुबै शल्यक्रिया विधि राम्रो मानिन्छ । व्यक्तिगत रूपमा म इन्डोस्कोपिक डिसेक्टोमी विधि रूचाउँछु । माइक्रोस्कोपमा नाङ्गो आँखाले माथिबाट रोग भएको ठाउँ म्यानिफाइड गरेर हेर्ने गरिन्छ । तर दुरबीन (इन्डोस्कोप) बाट रोग भएको ठाउँमा पुगेर राम्रोसँग अवलोकन गर्न सकिन्छ । क्यामरासँगै प्रकाश पनि प्रशस्त हुन्छ । प्वाल सानो पारिएको हुन्छ । त्यसबाट औजार छिराएर नसा च्यापिएको भाग खोल्नुपर्छ ।
यसले बिरामीलाई धेरै चोट लाग्दैन । त्यसैकारणले बिरामीको रिकभरी चाँडो हुन्छ र दाग पनि सानो हुन्छ । ढाडसम्बन्धी जुनसुकै समस्यामा पनि दुरविन प्रयोग गर्न सकिन्छ । पछिल्लो समय पित्तथैली, पेट, मस्तिष्क, ढाड, नाक कान घाँटी, छाती, पिसापथैली आदिको शल्यक्रिया गर्न दुरबिनको प्रयोग हुन थालेको छ ।

नेपालमा शुरुवात्
नेपालमा विगत ४–५ वर्ष पहिलदेखि दुरबीनको सहयोगमा मेरूदण्डको सर्जरी को विकास भइरहेको छ । सन् २०१९ मा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा मुम्बईका प्रा.डा. सतिशचन्द्र गोरेले ट्रान्सफरामिनल डिस्क सर्जरीबारे वर्कसप ट्रेनिङ दिनुभयो । त्यस्तै सन् २०२१ तिर भारतका प्रख्यात सर्जन डा. मालकोम पेस्टन्जीले काठमाडौं मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा दुरबीनको मद्दतबाट ढाडको सर्जरीबारे वोर्कसप तालिम दिनुभयो । त्यसपछि मात्र नेपालमा द्रूत गतिमा दुरबीनको मद्दतबाट ढाडको शल्यक्रिया सुरू भएको हो । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालले गतवर्ष मात्र यस सम्बन्धि वृहत कार्यशाला आयोजना गरेको थियो । दुरबीनबाट मेरुदण्डको शल्यक्रिया गर्न आवश्यक स्रोत साधनको आवश्यकता पर्छ । हामीले विगत ७–८ महिनाको अवधिमा १५ देखि २० वटा सफल इन्डोस्कोपिक स्पाइन शल्यक्रिया गरिसकेका छौँ ।
जोखिम
दुरबीनबाट गरिएको शल्यक्रिया ९५ देखि ९६ प्रतिशतसम्म सफल पाएका छौं । शल्यक्रिया गर्दा कहिलेकाहीँ नसाको झिल्लीमा चोट लाग्ने, घाउ पाक्ने जस्ता समस्याका कारण एन्टिबायोटिक चलाउनुपर्ने अवस्था आउनसक्छ । तर यो निकै न्युन अवस्थामा मात्र हुने गर्छ ।
चोटपटक लागेर मेरुदण्डको नसा च्यापिएको बिरामीलाई दुरबीन प्रयोग गरिदैन । चोटपटकले मेरुदण्डको हड्डी भाँचिने भएकाले सर्वप्रथम त्यसलाई फिक्स गर्नुपर्छ । यसका लागि मिनिमल इन्भेजिभ सर्जरी गर्नुपर्छ ।
पहिले पुरै ढाडलाई चिरेर स्क्रु फिक्स गरिन्थ्यो । अहिले जुन ठाउँमा स्क्रु हाल्नु पर्ने हो, सो ठाउँमा प्वाल पारेर स्क्रु लगाउन सकिन्छ ।
(लेखक उपेन्द्र देवकोटा न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
