
‘कक्षा ११ मा अध्ययनरत रहँदा ठूलो बुबाको क्यान्सरका कारण अस्पतालको शय्यामै निधन भयो । त्यो बेला कुन स्टेज (चरण) को क्यान्सर थियो भन्ने थाहा पाउनसमेत सकिएन । त्यसैले आफूले हेर्ने बिरामी र आफन्तलाई उपचार पद्धति एवं सामाजिक परामर्श दिएर मात्र उपचार सुरू गर्न सल्लाह दिन्छु,’ डा. अरूण शाही भन्नुहुन्छ । डा. अरूण युवा पुस्ताका मेडिकल अंकोलोजिस्ट हुनुहुन्छ । सहायक प्राध्यापकसमेत रहनुभएका उहाँ हाल सन् २०१९ देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत हुनुहुन्छ । डा. अरूण युरोपको सबैभन्दा ठूलो क्यान्सर विशेषज्ञको संस्था युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (इएसएमओ) को सर्टिफाइड अंकोलोजिस्ट हुनुहुन्छ । यसैगरी उहाँ इनोभेटिभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च नामक संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । यो संस्थाले जनस्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान गर्दै आएको छ ।
डा. अरूणका ३ वटा मेडिकल पुस्तक प्रकाशन भइसकेका छन् । उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन (नेपाल, बंगलादेश, भारत, सिंगापुर, जापान, अस्ट्रेलिया, जर्मनी अमेरिका) मा क्यान्सरसम्बन्धी १ सयभन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उहाँको ‘नेपाली महिलामा स्तन क्यान्सरको ढिलो देखिने सम्बन्धित कारणहरू’ शीर्षकको प्रस्तुतिलाई समेत पुरस्कृत गरिएको थियो । डा. अरूणले पाँच वर्षे अवधिमा करिब ५ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गरिसक्नुभएको छ ।करिब २ हजार बिरामीले उहाँको प्रत्यक्ष सम्पर्कमा रहेर उपचार लिइरहेका छन् । क्यान्सर मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको वर्तमान समय सामाजिक सञ्जाल, सञ्चार माध्यम, राष्ट्रिय/अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचनामूलक जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय हुनुहुन्छ, डा. अरूण । उहाँलाई नन् रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ । डा. अरूणसँग नेपालमा क्यान्सरको अवस्था, रोकथामबारे गरिएको कुराकानीः
तपाईंको जन्मथलो र प्राथमिक शिक्षा कहाँबाट लिनुभएको हो ?
मेरो जन्मथलो जुम्ला हो । म दुई वर्षको दूधे बालक हुँदा हाम्रो स—परिवार तराई बसाइँ सरेको हो । त्यसपछि बर्दियाको दौलखपुरस्थित बुद्ध प्राथमिक विद्यालयबाट कक्षा ३, कालिका निम्नमाध्यमिक विद्यालयबाट कक्षा ८ र टीकापुरको श्री खड्ग स्मृति माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुँ । म सानैदेखि पढाइमा तीक्ष्ण थिएँ । काठमाडौंको सान इन्टरनेशनल कलेजबाट प्लस टु गरेपछि एमबीबीएस अध्ययनका लागि चीन पुगेँ। चीनको हार्बिन मेडिकल विश्वविद्यालयबाट एमबीबीएस गरेँ । सन् २०१३ मा बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिबुर मेडिकल विश्वविद्यालयबाट मेडिकल अंकोलोजीमा ५ वर्षे एमडी र ढाकाकै नर्थ साउथ विश्वविद्यलयबाट इपिडिमियोलोजी (महामारी विज्ञान) मा मास्टर्स (एमपीएच) गरेको हुँ । भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा मेडिकल अंकोलोजीमा तालिम पनि लिएको छु ।

हाल क्यान्सर रोगको अवस्थाबारे केही बताइदिनुस् न ?
क्यान्सर रोग पहिलेदेखि नै थियो । तर, यसको उपचार र विज्ञानको प्रगति भर्खरै सुरु भएको छ । धेरै क्यान्सरलाई अझै निर्मूल पार्न बाँकी नै छ । उपचारको दुनियाँमा मुुटुलगायत अन्य थुप्रै रोग निर्मूल हुन लागेका छन् । त्यसैले डाक्टर, बिरामी, सरकार, नीति निर्माता र जनस्वास्थ्य विज्ञ सबै मिलेर काम गर्न आवश्यक देखिन्छ ।
यहाँको प्रत्यक्ष निगरानीमा कति बिरामी छन् ?
मैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम सुरू गरेको लगभग पाँच वर्ष भयो । यस अवधिमा करिब ५ हजार क्यान्सरका बिरामीको उपचार गरिसकेको छु । अहिले दुई हजार बिरामी मेरो निगरानीमा नियमित उपचार र फलोअप गराइरहेका छन् । यीमध्ये पाटनका १ हजार ५ सय र बाहिरका ५ सय जना छन् ।
एउटा बिरामीलाई कति समय दिनुपर्छ ?
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक दिन ५० देखि ७० जना बिरामी हेर्नुपर्छ । चार घन्टामा सबै बिरामीलाई परामर्शका लागि पर्याप्त समय दिन गाह्रो हुन्छ । अर्को कुरा, बिरामीलाई रोग लागेपछि डाक्टरसँग के सोध्ने, कसरी सोध्ने भन्ने ज्ञान हुँदैन । अधिकांश बिरामीहरू रोगबारे सोध्दैनन् । के खाने, के नखाने, घुम्न जाने/नजाने आदि प्रश्न सोधेर समय खर्चिन्छन् । बिरामी आफैंले प्रश्न नसोधेर साथमा आउने आफन्तले एकैखाले प्रश्न फरक शैलीमा सोध्ने गर्छन् । यसले गर्दा बिरामी भ्रमित भएका हुन सक्छन् । त्यस्तै, बिरामीको रोगबारे बुझ्ने स्तर (लेबल अफ अन्डर–स्ट्यान्डिङ) पनि कम हुन्छ । गाउँघरबाट आएका बिरामी अशिक्षित हुन्छन् । डाक्टरलाई के सोध्ने, थाहा हुँदैन । त्यसकारण, डाक्टरले सुरुआती अवस्थामा ‘ब्याड न्यूज ब्रेकिङ’ र उपचार लयपद्धतिबारे बिरामीलाई जानकारी गराउने बेला इमानदारपूर्वक सबै बताउनुपर्छ । पहिलो भेटमा बिरामीलाई अलि बढी समय दिने गरेको छु । बिरामी र परिवारलाई उपचारका फाइदा/बेफाइदा, रोगको अवस्था र स्टेज, औषधोपचार खर्च र रोग निको हुने÷नहुने पूर्वानुमानबारे विस्तृतमा सम्झाउने कोसिस गर्छु ।
जँचाउन आउँदा बिरामीले के–कस्ता भ्रम पालेका हुन्छन् ?
समाजमा क्यान्सर भयावह र डरलाग्दो रोगको नामले चिनिन्छ । क्यान्सर रोग लाग्नेबित्तिकै बिरामी बाँच्दैन, धन सम्पत्ति सबै सकिन्छ भन्ने आमजनमानसमा भ्रम रहेको पाइन्छ । यस्ता भ्रमले बिरामीको सोच्ने शैलीमा प्रभाव पार्दछ । क्यान्सर लाग्नेबित्तिकै बिरामीहरू उदास, हतोत्साहित, भावनात्मक एवं आक्रामक हुन्छन् ।
क्यान्सर मधुमेह, उच्च रक्तचाप, थाइरोइडजस्तै दीर्घरोग हो । यदि समयमै क्यान्सर पहिचान र उपचार भए निर्मूल पार्न सकिन्छ । यसका लागि सार्वजनिक स्तरमा क्यान्सर रोगबारे जनचेतना फैलाउन जरुरी छ ।

नेपालमा क्यान्सर पहिचानको अवस्था कस्तो छ ?
अहिले ९० देखि ९५ प्रतिशत क्यान्सर रोग नेपालमै पहिचान (डायग्नोसिस) हुन्छ । कहिलेकाहीँ सार्कोमा क्यान्सर, जेनेटिक प्यारन, ड्राइभर म्युटेसन क्यान्सरको उपचार गर्न भारत, थाइल्यान्ड, सिंगापुर र अमेरिकासम्म जानुपर्ने हुनसक्छ । कतिपय क्यान्सर रोग डायग्नोस नै हुँदैनन् । अझै ३ देखि ५ प्रतिशत क्यान्सर रोग कहीँ पनि पत्ता लाग्दैन । जस्तै, कार्सिनोमा अफ अन्नोन प्राइमरी (सियूपी) ।
नेपालमा कति प्रकारका क्यान्सर औषधी निःशुल्क प्राप्त हुन्छन् ?
करिब २२ वर्षअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकन संस्था म्याक्स फाउन्डेसनबीच सम्झौता भएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर म्याक्स फाउन्डेसनले ५ वटा क्यान्सरका औषधी निःशुल्क उपलब्ध गराउँछ । त्यसमध्येमा रगतको क्यान्सर (सीएमएल), पेटको क्यान्सर (जीस्ट), फोक्सोको क्यान्सर (एडिनोकार्सिनोमा एएजीएफआरएल पोजेटिभ), किड्नीको क्यान्सरका औषधी निःशुल्क उपलब्ध छन् । हालै प्रतिष्ठानमा स्तन क्यान्सर स्टेज फोर (इआर–पीआर पोजेटिभ) को औषधी पनि निःशुल्क उपलब्ध छ । यी औषधी अस्पताल बाहिरका फार्मेसीबाट खरिद गर्दा १०–१५ हजारदेखि महिनाको १०–१५ लाख रुपैयाँसम्म पर्ने छन् । बिरामीले निःशुल्क औषधी लिन नेपाली नागरिकता र रोग पत्ता लागेको कागजपत्र बोकेर आउनुपर्छ ।
क्यान्सर रोगी कति समयसम्म चिकित्सकको फलोअपमा रहनुपर्छ ?
क्यान्सर दीर्घरोग हो । यो रोग लागेका व्यक्तिले उपचार सकिएपछि आफ्नो उपचार गर्ने डाक्टरसँग आजीवन नियमित फलोअपमा बस्नुपर्छ । सुरुआती चरणको क्यान्सर पहिचान भए उपचार सकिएपछि पहिलो वर्ष ३ महिना, दोस्रो वर्ष ४–६ महिना र तेस्रो वर्षदेखि वर्षको एक पटक फलोअपका लागि अस्पताल आउनुपर्छ । चौथो स्टेजको क्यान्सर र शरीरभरि फैलिएको क्यान्सर भए एकदेखि तीन महिनाको अन्तरालमा फलोअपका लागि आउनुपर्छ । त्यस्तै, ५० वर्ष कटेका व्यक्तिले कुनै स्वास्थ्य समस्या नभए पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

रोकथामका उपाय के–के हुन सक्छन् ?
क्यान्सर रोग लाग्नै नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम र मानसिक आरामलाई सन्तुलनमा राख्नुपर्छ । पाठेघरको मुखको क्यान्सरबाट जोगिन ह्युमन प्यपिलोमा भाइरसविरूद्ध एचपीभी भ्याक्सिन लगाउन सकिन्छ । यो खोप ९ देखि २६ वर्षका महिलालाई लगाउन सकिन्छ । त्यस्तै, कलेजोको क्यान्सरबाट जोगिन ‘हेपाटाइटिस बी’ भ्याक्सिन लगाउन सकिन्छ ।
धूमपान, मद्यपान र मोटोपना नियन्त्रणमा राख्न सके ९० देखि ९५ प्रतिशत दीर्घरोगबाट बच्न सकिन्छ । हरेक दिन ३० मिनेट शारीरिक व्यायाम गर्नुपर्दछ । साथै, मानसिक तनाव र चिन्ता कम गर्नुपर्दछ । हरेक दिन ६ देखि ८ घन्टा निदाउन जरुरी छ ।
अब्बल डाक्टर हुन के–कस्ता विषयमा ध्यान दिनुपर्दो रहेछ ?
आफ्नो कामप्रति इमानदार र बफादार हुनैपर्छ । मिहिनेत गर्नुपर्छ । अध्ययनशील हुनुुपर्छ । शैक्षिक क्रियाकलापमा सक्रिय रहनुपर्छ । समयसँगै आफूलाई अपडेट राख्नुपर्छ ।
‘अरुणले गर्व गर्ने बाटो राखिदियो’
विद्या शाही
आमा
म अवकाशप्राप्त सरकारी शिक्षिका हो । त्यसबेला मेरा ससुरा कुलबहादुर शाही नुवाकोटका बडा हाकिम हुनुहुन्थ्यो । ३६ वर्ष नेपाली सेनामा सेवा गर्नुभयो । उहाँले पनि नाम कमाउनुभयो । उहाँ कुनै लोभलालचमा नपरी निष्पक्ष रूपमा बर्दियाको सुकुम्बासी बस्तीमा बसेर आफ्ना जहान–परिवारलाई बुढेसकालको सहारा बनेर बित्नुुभयो । उहाँका छोराले गर्न नसके पनि नाति अरुणले गर्व गर्ने बाटो राखिदिएको छ । परिवारमा डाक्टर थिएनन् । डाक्टर बनोस् भन्ने सपना थियो । अहिले हाम्रो सपना साकार पारेको छ ।

‘बिरामीको खुसी जित्न सकोस्’
महेन्द्रबहादुर शाही
बुबा
म वाणिज्य बैंकको क्यासियर पदबाट अवकाशप्राप्त हो । छोरा अरुण निष्पक्ष समाजसेवामा लागोस् र यसैगरी क्यान्सर बिरामीको खुसी जित्न सकोस् भन्ने कामना गर्दछु । ‘नेपालमै सेवा गर्नुपर्छ’ भन्ने हाम्रो चाहना उसले पूरा गरेको छ । यसरी नै राम्रो काम गर्दै जाओस् भन्ने कामना गर्दछु ।
आज्ञाकारी र अलराउन्डर विद्यार्थी

अरुण धेरै आज्ञाकारी र अलराउन्डर विद्यार्थी थिए । सबैको माया पाउने, हँसिलो अनुहार, मिलनसार, कोहीसँग झगडा नगर्ने र फुटबलका सोखिन थिए । पहिला डाक्टर बन्ने कुरा गर्दैनथे । पछि डाक्टर बनेको खबर पाउँदा निकै खुसी भएँ । काठमाडौंमा मेरो ढाडको शल्यक्रिया गर्दा भेट्न आएका थिए । त्यो बेलामा बधाइ दिएँ । इमानदारी र निष्ठापूर्वक सेवा गर्दै जाउन् भन्ने कामना गर्दछु ।
युवा पुुस्ताका अब्वल डाक्टर

डा. अरुणले निकै राम्रो गर्नुभएको छ । उहाँलाई युवा पुुस्ताको अब्बल क्यान्सर विशेषज्ञ भन्न सकिन्छ । अहिले पाटनमा क्यान्सरको भोलुम बढेर चाप थेग्न गाह्रो हुन लागेको छ । काठमाडौंमा पब्लिक सेक्टरमा क्यान्सर उपचार गर्ने राम्रो हस्पिटल हुन जरूरी छ । निजीमा धेरै महँगो छ । सरकारले दिने एक लाख रुपैयाँ इन्भेस्टिगेसन गर्दै सकिन्छ ।
पारिवारिक सदस्यजस्तै डा. अरूण

मेरो दिदी पनि क्यान्सरको बिरामी हो । पाटन अस्पतालमा गएपछि डा. अरूण शाहीबाट राम्रो केयर पायौं । उहाँ परिवारका सदस्यजस्तो लाग्छ । निकै सहयोगी हुनुहुन्छ । ठूलो मान्छे बन्नुहुन्न । कहिल्यै पनि थाक्नुहुन्न ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

