
मुलुकमा ३६ वर्षदेखि औषधी आयात गर्दै आएका छौं । क्यान्सरका औषधी मात्र ३४ वर्षदेखि निरन्तर आपूर्ति गरिरहेका छौँ । सुरुका १६ वर्ष जति त हामीले मात्र आपूर्ति गर्नुपर्यो । अरूले जोखिम मोलेर ल्याउने आँट नै गरेनन् । यसका लागि कन्ट्युनियस मेडिकल एजुकेसज (सिएमई) गरिरहनुपर्छ । डाक्टरलाई सभासम्मेलन (कन्फ्रेन्स) मा लैजानुपर्छ । विगत १२ वर्षदेखिहरेक महिनाको दोस्रो शनिबार राजधानीमा ‘ट्युमर बोर्ड’ चलाइरहेका छौँ । यसमा क्यान्सरसम्बन्धी डाक्टरहरूबीच सीप र अनुभव आदान–प्रदान हुन्छ । साथै मुलुकमा पहिलो पटक एचआईभीको औषधी ल्याउन सफल भयौं, जुन अहिलेसम्म निरन्तर छ । विगतदेखि नै मिर्गौलालगायत धेरै किसिमका औषधी उपलब्ध गराइरहेका छौं । यसरी अत्यावश्यक औषधी उपलब्ध गराउनु एक प्रकारको नशा नै बनिसकेको छ ।
क्यान्सरका औषधी महँगा छन् । हामीले होलसेल दरमा औषधि दिइरहेका छौं । नाफाभन्दा पनि बिरामीलाई दिइएको सेवा ठूलो लाग्छ ।
औषधी व्यवस्था विभागमा दर्ता नगरी औषधि ल्याउन मिल्दैन । दर्ता प्रक्रिया पूरा गर्न वर्षौं लाग्छ । विभागले बिरामीका लागि भनेर अनुमति दिएको हुन्छ । तर, बिरामीका लागि मात्रै भनेर औषधी ल्याउन सक्दैनौँ । कम्पनीले पनि पठाउँदैन । भारत र बंगलादेशमा बनेका सामान्य औषधी ल्याउन त्यति गाह्रो हुँदैन । तर, तेस्रो मुलुकका कम्पनीहरूमा ‘न्यूनतम अर्डर क्वान्टिटी बुकिङ’ गर्नुपर्छ । सबै खपत हुन सक्दैन । नेपालमा न्यूनतम मागअनुसारको परिमाण (अर्डर क्वान्टिटी) ल्याउन धेरै गाह्रो हुन्छ ।
जस्तोः सन् २०२० मा बेल्जियममा उत्पादन भएको सर्भाइकल क्यान्सरविरुद्धको भ्याक्सिन अर्डर दिँदा कम्पनीले बल्ल फेब्रुअरी २०२४ मा १० हजार डोज पठायो । जबकि एक लटमा ३२ हजार डोज लिनुपर्छ । यसमा पनि संघर्ष गरिरहनुपर्छ । यो खपत हुन सक्ने/ नसक्ने शंका रहिरहन्छ ।
सन् २०१९ मा १५ हजार डोज ल्याउन सफल भएका थियौं । तर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई १२ हजार ५ सय दिएर बाँकी भ्याक्सिन बेच्न दुई वर्ष वर्ष लाग्यो । उमेरअनुसार कसैलाई एक र कसैलाई दुई डोज पनि दिनुपर्ने हुनसक्छ । प्रतिडोज करिब ९ हजार रुपैयाँ जति पर्छ ।
औषधी व्यवस्था विभागले दिने ‘क्वान्टिटी पर्मिसन’(पटके स्वीकृति) हस्पिटलले निश्चित बिरामीका लागि मगाउने औषधी हो । यसका लागि पनि स्वीकृति पाउन २ महिना जति लाग्छ । ‘क्वान्टिटी पर्मिसन’ तुरुन्त अर्जेन्टमा मगाउने औषधी भएकाले यसलाई सरलीकरण गर्न जरुरी छ । अति आवश्यक पर्दा बिरामीका आफन्तजनले भारत गएर वा अरू व्यक्तिबाट मगाउने गरेका छन् । बिचौलियाले निकै महँगोमा बेच्ने गरेको भन्ने पनि सुन्नमा आउँछ । विगतमा कुरियरले पनि ल्याइदिन्थे । तर, अहिले औषधीको नाममा अन्य चीज ल्याउने विकृति बढेपछि आजकल बन्द गरिएको छ ।
क्यान्सरका औषधी वर्षौँ लगाएर अनुसन्धान गर्ने ‘इनेभेटर’बाट लिँदा महँगो हुन्छ । यसलाई पेटेन्ट राइट भनिन्छ । भारतमा रिसर्च छैन । तेस्रो मुलुकले नेपाललाई अलि सस्तोमा दिने गर्छन् । जेनेरिक नाममा उत्पादन हुने औषधी सस्तो पर्छ किनभने यसमा रिसर्चका लागि खर्च भएको हुँदैन । रिसर्च गर्ने कम्पनीले ७ वर्षको पेटेन्ट पाउँछन् । धेरै लागतका कारणऔषधि महँगो पर्नु स्वाभाविक पनि हो ।
पेटेन्ट राइट भएका क्यान्सरका धेरै नयाँ औषधी ल्याउने गरेका छाँै । सिधै इनोभेटर कम्पनिसँग कारोबार गर्छौं । औषधिलाई ‘कोल्ड चेन मेन्टेन’ ( गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनको आधारमा अत्याधुनिक कोल्ड चेन रूम बनाउन सफल भएका छौं ।
नेपाल पनि गरिब देशकै श्रेणीमा छ । गरिब देशका लागि अलि सस्तो मूल्यमा औषधी उपलब्ध हुन्छन् । कतिपय बहुराष्ट्रिय कम्पनीको लक्ष सुचिमा नेपाल परेको छैन । तर यहाँका बिरामीको पनि बाँच्ने अधिकार त छ नि । त्यसैले कमाउने भन्दा पनि बिरामी बचाउने हाम्रो प्राथमिकता हो ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
