
साउन महिनामा मात्र देशभर ३० जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जनाएको छ । ललितपुर जिल्लामा १९, काठमाडौँमा १, कैलालीमा ८ र प्युठानमा २ जनामा हैजा संक्रमण पुष्टि भएको थियो । हैजा संक्रमितबाट सबैभन्दा बढी ५ देखि १४ वर्षका बालबालिका पीडित भएका छन् ।
संयोगवश यो वर्ष हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
हरेक वर्ष विश्वमा हैजाका कारण २१ हजारदेखि १ लाख ४३ हजारसम्म व्यक्तिको मृत्यु हुने गरेको छ । विश्वमा वर्षेनी १३ लाख देखि ४० लाखसम्म हैजाका घटनाहरू देखा पर्ने गरेका छन् । यो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको अनुमानित तथ्याङ्क हो । सन् २०१७ मा सन् २०३० सम्म हैजाबाट हुने मृत्युलाई ९० प्रतिशतसम्म घटाउने रणनीतिक ग्लोबल रोडम्याप बनाइएको थियो ।
हैजा एक तीब्र झाडापखाला भएकाले तत्काल उपचार नगरेमा केही घण्टामै व्यक्तिको मृत्यु हुने डब्लुएचओले जनाएको छ । यो बिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने एक संक्रामक रोग हो । यो ब्याक्टेरिया दूषित पानी र खानामा पाइन्छ । बिब्रियो कोलेरा पाचन प्रणालीमा प्रवेश गरेपछि पेट दुख्ने, पातलो पखाला लाग्ने (डायरिया), र बान्ता हुने लक्षण देखिन्छ ।
हैजा फैलिने मुख्य कारण
सुरक्षित पानी र आधारभूत सरसफाइमा पर्याप्त पहुँच नभएका समुदायमा हैजाको प्रकोप हुने भएकाले यसलाई डब्लुएचओले गरिबीको रोग भनेको छ । नदी, पोखरी वा अन्य जलस्रोतबाट आउने दूषित पिउने पानीको प्रयोग, बासी र खुला ठाउँमा राखिएका खानाको उपभोग, संक्रमित व्यक्तिसँगको सम्पर्क, मलमूत्रको अनुचित व्यवस्थापन आदि कारणले हैजा फैलन सक्छ । द्वन्द्व, अनियोजित सहरीकरण र जलवायु परिवर्तनले पनि हैजाको जोखिम बढाउने डब्लुएचओको भनाइ रहेको छ ।
हैजा रोकथामका उपाय
सफा पानी पिउने
राम्रो सँग उमालेर वा फिल्टर गरिएको पानी मात्र पिउनुपर्छ । पानी सफा गर्ने क्लोरीन ट्याब्लेट्स वा अन्य उपाय प्रयोग गर्दा हैजा रोकथाममा मद्धत पुग्छ ।

सफा खाना खाने
खाना राम्रोसँग पकाएर मात्र खाने, ताजा र सफा खानेकुरा मात्र प्रयोग गर्ने, खुला ठाउँमा बेचिने खानेकुरा प्रयोग गर्नुपर्छ ।
हात धुने
खाना बनाउने र खानु अघि, शौचालय प्रयोग गरेपछि, र संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि साबुन र सफा पानीले हात धुनुपर्छ । बच्चाहरूलाई पनि हात धुने बानी लगाउनुपर्छ ।
सार्वजनिक स्थलमा सरसफाइमा ध्यान दिने
वरिपरि सफा राख्ने, फोहोर व्यवस्थापन राम्रोसँग गर्ने र शौचालयको उचित प्रयोग र व्यवस्थापन गर्नुपर्छ ।
स्वास्थ्य शिक्षा
समुदायमा हैजा रोकथामका उपायहरूको बारेमा जनचेतना फैलाउने, हैजाको लक्षण देखिने बित्तिकै तुरुन्तै उपचारको लागि डाक्टरकहाँ जान प्रोत्साहित गर्नुपर्छ ।
हैजाका लक्षण
पातलो पखाला (डायरिया) जो अचानक सुरु हुन्छ । बान्ता हुन्छ । पेट दुख्छ । प्यास लाग्ने र पानीको कमी (डिहाइड्रेसन) हुनसक्छ । कमजोरी र थकान महसुस हुन्छ ।
हैजाको उपचार
ओ.आर.एस. र पर्याप्त पानीको सेवन गर्नुपर्छ । जीवनजल पिउने जसले शरीरमा नून र पानीको सन्तुलन कायम राख्न सहयोग गर्छ। शरीरमा पानीको कमी हुन नदि पर्याप्त पानी पिउनुपर्छ ।
एन्टिबायोटिक्स
डाक्टरको सल्लाह अनुसार एन्टिबायोटिक्स प्रयोग पनि गर्न सकिन्छ । एन्टिबायोटिक्सले ब्याक्टेरियालाई मार्न र रोग निको पार्न सहयोग गर्छ ।
आईभी फ्लुइड्स
गम्भीर अवस्थाहरूमा अस्पतालमा भर्ना भएर आईभी फ्लुइड्स लिन सकिन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न मद्धत गर्छ ।
डाक्टरको सल्लाह
कुनै पनि लक्षण देखा परेमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ । समयमा उपचार पाउँदा रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
अन्त्यमा हैजा एक गम्भीर रोग हो । तर सावधानी र उचित उपचार अपनाएमा यसलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । त्यसैले स्वच्छता र सफाइमा ध्यान राख्ने, सफा पानी र खाना प्रयोग गर्ने, समयमै उपचार गरेमा हैजाबाट जोगिन सकिन्छ । जनचेतना फैलाउने र स्वास्थ्य शिक्षामा जोड दिनसकेमा समुदायमा हैजा फैलनबाट जोगाउन सकिन्छ । सामुदायिक स्वास्थ्य संस्था, नेपाल सरकार सामाजिक संघ संस्था समाजसेवीबाट ब्यापक जनचेतना मुलक कार्यक्रम लागू गर्न जरूरी छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
