
सडक दुर्घटनाबाट विश्वमा हरेक वर्ष लगभग ११ लाख ९० हजार मानिसको जीवन समाप्त भइरहेको छ । वर्षेनी २ देखि ५ करोड व्यक्ति सडक दुर्घटनाको घातक चोटबाट ग्रस्त छन् । धेरैलाई अपाङ्गता बनाएको छ । सडक ट्राफिक दुर्घटनाले व्यक्ति, परिवार र सिंगो राष्ट्रलाई आर्थिक क्षति त पुर्याइरहेको छ । साथै अधिकांश देशहरूलाई कुल गार्हस्थ उत्पादनको ३% आर्थिक भार पनि बढाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदासडक दुर्घटनाका कारण वर्षेनी देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसङ्ख्या गुमाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कति व्यक्तिको दुर्घटनाबाट मृत्यु हुन्छ र कति अपाङ्ग हुन्छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । तर अस्पतालमा बिरामीको संख्या भने उल्लेख्य छ ।
सडक दुर्घटनामा हातखुट्टा, टाउकाको चोट, पेल्भिक इन्जुरी, लिम्ब फ्र्याक्सनलगायतका धेरै चोट लाग्ने गरेको पाइन्छ । टाउकाको चोट खतरनाक मानिन्छ । तत्काल शल्यक्रिया गर्न नसक्दा टाउकोका चोट लागेका बिरामीहरु ज्यान गुमाउन पुग्छन् । शल्यक्रिया समयमै भए पनि शारीरिक अपाङ्गतामा बाँच्न पुगेका बिरामीहरु पनि निकै छन् ।
अत्यधिक गति, सडकको दूरावस्था, सडक बत्तीको नराम्रो अवस्था, बाटो काट्ने गलत तरिका, गति रोक्ने गलत ठाउँ, गाडीको मर्मत नगर्नु, सडक चिन्हहरुको हेलचेक्र्याईं, थकाई, मद्यपान, मानिस र जनावरको असाधारण व्यवहार दुर्घटनाका कारण अन्तर्गत पर्छन् । सबै उमेरका व्यक्तिहरुमा सवारी साधनको चोटपटक गम्भीर र मृत्युजन्य हुनसक्छन् ।

संयुक्त राष्ट्रसंघीय प्रतिवेदनहरूले नेपालमा सवारी दुर्घटनाका कारण वर्षमा न्यूनतम ३ हजार ९२८ जनाको ज्यान जाने गरेको देखाएको छ । बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड र अमेरिकाको वासिङ्टन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको ‘नेपालमा चोटपटक भार’ सम्बन्धी अध्ययनले यातायात दुर्घटनाबाट वर्षमा औसत ७ हजारले ज्यान गुमाउने गरेको तथ्य देखाएको छ । अनुसन्धानकर्ताहरूले नेपालको सडक दुर्घटना सम्बन्धी तथ्याङ्क इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) बाट लिएका थिए ।
आईएचएमईले नेपालको स्वास्थ्य मन्त्रालयका साथै अन्य सरकारी तथा गैरसरकारी निकायबाट लिएको तथ्याङ्कलाई तथ्याङ्कशास्त्रको माध्यमबाट विश्लेषण गरेर राख्ने गरेको छ । २३ पुस २०७६ मा ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार, यातायात सम्बन्धी दुर्घटनाका कारण नेपालमा वार्षिक मृत्यु हुनेको संख्या न्यूनतम ४ हजार ४८० र अधिकतम ११ हजार २१४ छ ।
आईएचएमईको प्रतिवेदनले नेपालमा सबै खालको दुर्घटनामा परेकामध्ये ४० वर्षभन्दा कम उमेरका ७० प्रतिशत शारीरिक रूपमा अशक्त हुने देखाएको छ । सन् २०१३ मा इन्टरनेशनल जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित सडक दुर्घटनाले पु¥याएको आर्थिक भार सम्बन्धी अध्ययन प्रतिवेदनले सडक दुर्घटनाका कारण वार्षिक रूपमा नेपालको कुल गार्हस्थ्य उत्पादनको ६.३० प्रतिशत रकम क्षति हुने गरेको देखाएको छ ।
यति संवेदनशील विषय हुँदाहुँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरण राज्यका निकायको प्राथमिकतामा परेको छैन । तालुकवाला निकाय नै सडक सुरक्षामा गैरजिम्मेवार देखिने गरेका छन् ।
स्वीडेनले सडक दुर्घटनाबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्यसहित ‘भिजन जीरो’ ऐन पारित गरिसकेको छ भने अष्ट्रेलियाले ‘टुवार्डस् भिजन जिरो’ ऐन पारित गरेको छ । बेल्जियम सरकारले छुट्टै इन्ष्टिच्यूट नै बनाएर नागरिकलाई सडक सुरक्षाबारे सिकाउँदै आएको छ । अन्य युरोपेली मुलुकहरूले प्राथमिक तहबाटै विद्यालयको पाठ्यक्रममा सडक सुरक्षाको विषय समेटेका छन् । नेपालमा पनि सडक सुरक्षाबारे पाठ्यक्रममै राखेर तथा नियमित अभियान चलाएर शिक्षा दिनुपर्ने सरोकारवालाहरुको भनाइ रहेको छ ।
- सडक दुर्घटनाका कारण हरेक वर्ष करिब ११ लाख ९० हजार मानिसको मृत्यु हुने गरेको छ ।
- ५–२९ वर्षका बालबालिका र युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोट हो ।
- विश्वको सडकमा हुने मृत्युमध्ये ९२% कम र मध्यम आय भएका देशहरूमा हुने गर्छ । यद्यपि यी देशहरूमा विश्वका ६०% सवारी साधन रहेका छन् ।
- सडक दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी पैदलयात्री, साइकल चालक र मोटरसाइकल चालकहरू पर्दछन् ।
- सडक ट्राफिक दुर्घटनाले अधिकांश देशहरूलाई कुल गार्हस्थ उत्पादनको ३% आर्थिक भार बढाइरहेको छ ।
- संयुक्त राष्ट्र संघको महासभाले सन् २०३० सम्ममा हरेक देशमा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको विश्वव्यापी संख्या आधा घटाउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
श्रोतः विश्व स्वास्थ्य संगठन
जोखिममा को छन् ?
विश्व स्वास्थ्य संगठनका अनुसार, सडक दुर्घटनाबाट हुने मृत्युमध्ये ९० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका देशहरूमा हुने गर्दछ । सडक दुर्घटनाबाट हुने मृत्यु दर अफ्रिकी क्षेत्रमा सबैभन्दा बढी र युरोपेली क्षेत्रमा सबैभन्दा कम रहेको छ । ५—२९ वर्ष उमेर समूहका बालबालिका र युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोट मानिएको छ ।
सडक दुर्घटनामा हुने मृत्युमध्ये दुई तिहाइ काम गर्ने उमेर समूह १८–५९ वर्ष उमेर समूहमा पर्दछन् । सडक दुर्घटनामा महिलाको तुलनामा पुरूषको मृत्यु हुने सम्भावना ३ गुणा बढी रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
जोखिम कारक
यातायात प्रणाली प्रयोगकर्ताहरूको आवश्यकता प्रति उत्तरदायी र मानवीय त्रुटिहरू क्षमा गर्ने हुनुपर्छ । सडक सुरक्षित प्रणाली दृष्टिकोणले सबै सडक प्रयोगकर्ताहरूको लागि सुरक्षित यातायात प्रणाली सुनिश्चित गर्ने लक्ष्य राख्छ । यो दृष्टिकोणले गम्भीर चोटपटक लाग्ने मानिसहरूको जोखिमलाई ध्यानमा राखिएको हुन्छ र यो प्रणाली मानवीय त्रुटिलाई समायोजन गर्न डिजाइन गरिएको हुनुपर्छ । यस दृष्टिकोणको आधारशिलाहरू सुरक्षित सडक र सडक किनारा, सुरक्षित गति, सुरक्षित सवारी साधन, सुरक्षित सडक प्रयोगकर्ताहरू भएको विश्व स्वास्थ्य संगठनको ठम्याएको छ ।
तीब्र गति
सवारीको औसत गतिमा हुने गरेको बृद्धि दुर्घटना र दुर्घटनाको गम्भीरता दुवैसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । उदाहरणका लागि, औसत गतिमा प्रत्येक १% बृद्धिले घातक दुर्घटना जोखिममा ४% वृद्धि र गम्भीर दुर्घटना जोखिममा ३% वृद्धि हुने विश्व संगठनले जनाएको छ ।

रक्सी र अन्य साइकोएक्टिभ पदार्थको प्रयोग
रक्सी र कुनै पनि साइकोएक्टिभ पदार्थ वा ड्रग्स प्रयोग गरेर ड्राइभिङ गर्दा दुर्घटनाको जोखिम बढ्छ । यसबाट मृत्यु वा गम्भीर चोटपटक लाग्ने संभावना अत्यधिक हुन्छ ।
हेल्मेट, सिट बेल्ट प्रयोग
विश्व स्वास्थ्य संगठनले भनेको छ—‘सही हेल्मेट प्रयोगले दुर्घटनामा मृत्युको जोखिम ६ गुणा कम र मस्तिष्कमा चोटपटक लाग्ने जोखिम ७४% सम्म कम गर्न सक्छ । सिट–बेल्ट लगाउनाले सवारी साधनमा सवार व्यक्तिको मृत्युको जोखिम ५०% सम्म घटाउन सक्छ ।
विचलित ड्राइभिङ
सडक सुरक्षामा मोबाइल फोनको प्रयोग बढ्दो चिन्ताको विषय बनेको छ । सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने चालकको तुलनामा मोबाइल फोन प्रयोग गर्ने चालकहरू दुर्घटनामा पर्ने सम्भावना लगभग ४ गुणा बढी हुन्छ । ड्राइभिङ गर्दा मोवाइल फोनको प्रयोगले ब्रेक लगाउन, ट्राफिक संकेतहरू पालना गर्न, सवारीलाई लेन र कम गतिमा राख्न गाह्रो बनाउँछ । टेक्स्ट म्यासेज गर्दा दुर्घटनाको जोखिम बढ्छ ।
असुरक्षित सडक पूर्वाधार
सडकको डिजाइनले पनि सवारी सुरक्षामा ठूलो प्रभाव पार्छ । सबै सडक प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राखेर सडकहरू डिजाइन गर्नुपर्छ । यसको अर्थ पैदलयात्री, साइकल यात्री र मोटरसाइकल चालकका लागि पर्याप्त सुविधा उपलब्ध गराउनु हो । फुटपाथ, साइकल लेनहरू, सुरक्षित क्रसिङ बिन्दु र अन्य ट्राफिक नियमहरुले चोटपटकको जोखिम कम गर्न महत्वपूर्ण हुन भूमिका निर्वाह गर्छ ।
असुरक्षित सवारी साधन
दुर्घटनाबाट बच्न र गम्भीर चोटपटक लाग्ने सम्भावना कम गर्न सुरक्षित सवारी साधनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सवारी सुरक्षामा संयुक्त राष्ट्र संघका धेरै नियमहरू छन् जुन उत्पादन मापदण्डहरू सम्बन्धित देशहरुले लागू गरेमा सम्भावित धेरैको जीवन बचाउन मद्धत गर्नेछ । यसमा इलेक्ट्रोनिक स्थिरता नियन्त्रण (ओभर–स्टेरिङ् रोक्ने) समावेश गर्न र सबै सवारी साधनहरूमा एयरब्याग र सिट–बेल्टहरू जडान गरिएको सुनिश्चित गर्न उल्लेख छ ।
दुर्घटनापछि अपर्याप्त हेरचाह
सडक दुर्घटनामा संलग्न व्यक्तिहरूको पहिचान र हेरचाहमा हुने ढिलाइले चोटपटकको गम्भीरता बढाउँछ । दुर्घटना पछिको समय अत्यन्तै संवेदनशील हुन्छ । मिनेटको ढिलाइले पनि जीवन र मृत्यु बीचको भिन्नता बनाउन सक्छ । दुर्घटना पछि समयमै अस्पतालमा हेरचाहको पहुँच सुनिश्चित गर्न आवश्यक छ । यसका लागि अस्पतालको गुणस्तर सुधार र विशेषज्ञ प्रशिक्षण कार्यक्रमहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
ट्राफिक कानूनको अपर्याप्त कार्यान्वयन
यदि मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट बेल्ट लगाउने, गतिको सीमा, हेल्मेट र बालबालिकालाई निषेध गर्ने ट्राफिक नियमहरू लागू गरिएन भने सडक सवारी मृत्यू र चोटपटकमा अपेक्षित कमी ल्याउन सकिदैन ।

रोकथाम
संगठनका अनुसार, समग्र रूपमा सरकारले सडक सुरक्षालाई सम्बोधन गर्न पहल गर्नुपर्छ । यसका लागि यातायात, प्रहरी, निजी क्षेत्र र नागरिक समाज संगठनहरूको संलग्नता आवश्यक छ । सडक, सवारी साधन र सबै सडक प्रयोगकर्ताहरूको सुरक्षालाई सम्बोधन गर्ने कार्यहरू आवश्यक छ । साथै स्वास्थ्य र शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ ।
सुरक्षित पूर्वाधार डिजाइन गर्ने, सडक सुरक्षाका लागि भूमि–उपयोग यातायात योजनामा समावेश गर्ने, सवारी साधनहरूको सुरक्षा सुविधाहरू सुधार गर्न सकिन्छ । यसका साथै सडक ट्राफिक दुर्घटनाका पीडितहरूको लागि दुर्घटना पछि हेरचाह बढाउने, प्रमुख जोखिमहरू सम्बन्धी कानूनहरू तोक्ने र लागू गर्ने, र जनचेतना जगाउन जरूरी छ ।
संयुक्त राष्ट्र संघको सडक सुरक्षा २०२१–२०३० योजनाका लागि डब्लुएचओले सचिवालयको रूपमा काम गर्दछ जसले २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटकलाई कम्तीमा ५०% घटाउने लक्ष्य राखेको छ । यसमा राष्ट्रिय सडक सुरक्षा निकायका प्रमुखहरूको विश्वव्यापी सञ्जाल बोलाउने एवं प्राविधिक सहायता प्रदान गर्न विश्वव्यापी स्थिति रिपोर्टहरू उत्पादन गर्दै जाने लगायतका विषय समावेश छन् ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
