
स्पाइन शरीरको एक महत्वपूर्ण संरचना हो । स्पाइनलाई नेपालीमा मेरूदण्ड भनिन्छ । मेरूदण्ड टाउकाको तल्लो भाग गर्धनदेखि तल पुच्छरसम्मको भाग हो । यो शरीरको एउटा खम्बा हो । मेरूदण्डले शरीरलाई सिधा राख्छ । यसले उभ्याउन र शरीरलाई सपोर्ट दिन मद्धत गर्छ । मेरुदण्डमा हुने एउटा महत्वपूर्ण नसा ‘स्पाइनल कर्ड’ लाई मेरुदण्डले सुरक्षा दिएको हुन्छ । स्पाइनल कर्डमा असर परेमा हातगोडा चल्न सक्दैन ।
मेरूदण्डमा जम्मा ३३ वटा हड्डीका टुक्रा रहेका हुन्छन्, जसलाई अंग्रेजीमा भर्टिब्रा भनिन्छ । ती मध्ये गर्धनमा (सेरेब्रल स्पाइन) ७ वटा, छातीको पछाडि बीचको ढाड (थोरासिस स्पाइन) १२ वटा, कम्मरमा (लम्बर स्पाइन) ५ वटा, तल्लो ढाड (सेक्रम) ५ वटा र पुच्छरमा (कोक्सीक्स) ४ वटा भर्टिब्रा हुन्छन् । स्पाइनमा समस्या देखिएमा मानिस सिधा हिँड्न र काम गर्न सक्दैन । त्यसकारण स्पाइनको माथिदेखि तलसम्मको कुनै पनि भागमा सानो समस्या देखिए पनि उचित उपचारको आवश्यकता पर्छ ।
स्पाइनमा कसरी समस्या आउन सक्छ ?
बस्ने तरिका नमिल्दा, अत्यधिक शारीरिक तौल, बढ्दो उमेरका कारण स्पाइनमा समस्या आउनसक्छ । यसलाई मेकानिकल (मस्क्युलोस्केलेटल) पेन भनिन्छ । यस प्रकारको समस्या धेरैलाई हुने गर्छ । बस्ने र काम गर्ने तरिका नमिलेका कारण ९५ प्रतिशत स्पाइनको समस्या लिएर आउने गरेका छन् । यसलाई जीवनशैली र फिजियोथेरापी छुटकारा दिलाउन मद्धत गर्छ । त्यो बाहेक चोटपटक, संक्रमण, बोनको क्षयरोग, ट्युमरले पनि स्पाइनमा समस्या देखिनसक्छ । ढाडको बाङ्गोपना पनि स्पाइनमा समस्या आउने कारक हो । त्यसलाई स्कोलियोसिस भनिन्छ । यस किसिमको समस्या जन्मजात पनि हुनसक्छ । उमेरका कारण नसा च्यापिँदा प्यारालाईसिस हुने हो कि भन्ने आशंकाले धेरै व्यक्ति आत्तिएको पाइन्छ ।
वास्तवमा नसा च्यापिएर कहिल्यै पनि प्यारालाइसिस हुँदैन । आजकल एकै ठाउँमा बसेर लामो समय कम्युटर र मोबाइल चलाउने प्रचलन बढेकाले घाँटी र ढाडकोे समस्या बढ्दै गएको पाइन्छ । बाइक चढ्नेहरुमा पनि समस्या देखिने गरेको छ । यस प्रकारको समस्यामा ८० देखि ८५ प्रतिशतसम्म दैनिकीमा सुधार ल्याएर ठीक पार्न सकिन्छ ।
कतिपय बालबालिकामा जन्मजात ढाडको बाङ्गोपना हुनसक्छ । यसलाई कन्जेनाइटल स्कोलियोसिस भनिन्छ । कतिपयमा १० वर्षको उमेरपछि पनि ढाड बाङ्गिन सक्छ । यसलाई इडियोप्याथिक स्कोलियोसिस भनिन्छ । यसका साथै सडक दुर्घटनामा ढाड र घाँटी भाँचिन सक्छ । स्पोर्टस् इन्जुरी हुनसक्छ । रुख र पहाडबाट खसेर चोट लाग्नसक्छ । जीवजन्तुले चिथोर्ने कारण पनि हाडजोर्नी र मेरुदण्डमा समस्या आउनसक्छ ।
कस्तो अवस्थामा शल्यक्रियाको आवश्यकता पर्नसक्छ ?
स्पाइनमा समस्या हुँदा शुरूमा ढाड र घाँटी दुख्नसक्छ । यो रातको समयमा धेरै हुन्छ । यसलाई नाइट पेन पनि भनिन्छ । हातखुट्टामा समस्या देखिन थाल्छ । हस्ताक्षर गर्न गाह्रो हुन्छ । लेख्दा अक्षर बिग्रन्छ । सर्टको टाँक लगाउन गाह्रो पर्छ जसलाई फाइन फङ्सन अफ दि ह्यान्ड भनिन्छ ।
तर एक्कासी पिसाब रोकिने वा चुहिने, हिँड्दा खुट्टा लत्रिने समस्या रेड फ्ल्याग साइन भित्र पर्दछन् । यस्तो अवस्थामा एम.आर.आइ., एक्स—रे, सिटी स्क्यानबाट समस्या पहिचान गरी सम्बन्धित चिकित्सकको राय र सल्लाहमा सफल शल्यक्रियाको जरूरत पर्नसक्छ ।

साथै हिँड्दा गोडा सन्तुलन नहुने, गोडाबाट चप्पल खुस्किने, हस्ताक्षर गर्न गाह्रो भएमा शल्यक्रियाको आवश्यकता पर्नसक्छ । सर्जरीको जरुरत तब हुन्छ जब नसा च्यपिने संकेत प्राप्त हुन्छ । यसरी ढाड भाँचिएको, मक्किएको, मेरुदण्डको संक्रमण र ढाडको ट्युमरले नशा च्याप्न लागेको अवस्थामा सर्जरीको जरुरत पर्छ । त्यसैले बिरामीको अवस्था छुट्याएर औषधि, उपचार र ब्रेसेस, व्यान्डेज र कर्सेट लम्बर लगाएर ठिक गर्ने कि शल्यक्रिया नै गर्ने भन्ने एकिन गर्नुपर्दछ ।
स्पाइन सर्जरीमा के—कस्ता प्रविधि प्रयोग हुने गरेका छन् ?
जटिल अवस्थामा चिरेर मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । माइक्रोस्कोपबाट पनि स–साना शल्यक्रिया गर्न सकिन्छ । त्यस्तै, मिनिमल इन्भेजिभ सर्जरीबाट स–साना प्वाल बनाएर ढाडको फिक्सेसन, ढाडको नशा च्यापिएको खोल्ने गरिन्छ । त्यस्तै मेरुदण्डमा इन्डोस्कोपी मेसिन छिराएर क्यामेराको मद्धतले सानो प्वाल (१–२ सेन्टरमिटर) बनाएर दुई तीन लेवलमा सर्जरी गर्नुपर्ने हुनसक्छ । यस्ता प्रविधि नेपालमा आइसकेका छन् । त्यस्तै न्याभिगेशन सर्जरीराष्ट्रिय ट्रमा सेन्टरमा राखिए पनि प्रयोगमा आउन सकेको छैन । अहिले रोबोटिक सर्जरीको युग हो । नेपालमा चाँडै यो प्रविधि भित्रिने अपेक्षा गरेका छौं ।
स्पाइन सर्जरीमा जोखिम कति हुन्छ ?
हाडजोर्नी सम्बन्धित जुनसुकै शल्यक्रिया पनि जोखिमपूर्ण नै हुन्छ । हामीले जोखिम मोलेरै शल्यक्रिया गर्नुपर्छ । यसका लागि बिरामीका आफन्तसँग राम्रोसँग परामर्श गरेर अनुमति लिनुपर्छ । आवश्यक परेको वा एब्सुलुट इन्डिगेसन भएका बिरामीलाई छनोट गरेर गरिएको शल्यक्रिया सफल हुन्छ । शल्यक्रियाको नाममा शल्यक्रिया गर्ने, इन्डिकेशन नभएको घटनामा शल्यक्रिया गरेमा कम्लिकेशन आउने र शल्यक्रिया नअसफल हुने सम्भावना बढ्छ । अहिले नेपाली समाजमा ढाडको सर्जरी गर्दा झनै नशा च्यापिएर अपाङ्ग भइने हो कि भन्ने आशंका व्याप्त छ । त्यो कुरालाई पनि चिर्ने कोसिस गरिरहेका छौँ ।
कसरी सफलता प्राप्त गर्न सकिन्छ ?
आफूमा संयमता र विशेषज्ञता चाहिन्छ । कम्लिकेसन आएमा तुरुन्त ह्याण्डल गर्न सक्नुपर्छ । अनुभव लिएर गरिएको शल्यक्रिया सफल हुन्छ । शल्यक्रियापश्चात् पोष्ट अपरेटिङ केयर राम्रो हुन जरुरी छ । अन्यथा समस्या आउनसक्छ ।
शल्यक्रियापछि संक्रमण हुने जोखिम कतिको हुन्छ ?
यो सबैभन्दा डरलाग्दो पक्ष हो । हाडजोर्नीको शल्यक्रियापश्चात् संक्रमण भएमा बिरामी जीवन मरणको स्थितिमा पुग्नसक्छ । एकपटक बोनमा संक्रमण गढेपछि निस्किदैन । त्यसमाथि मेरुदण्डको हड्डीसहित नशाको संक्रमण भएमा बिरामीको ज्यान जानसक्छ ।
कतिपय अवस्थामा हात खुट्टा प्यारालाईसिस हुनसक्छ । यो संक्रमणले मस्तिष्क छोएमा मेनिन्जाइटिस र इन्सेफलाइटिस समेत हुनसक्छ । यस्तो अवस्थामा बिरामीको मृत्यु हुने जोखिम उच्च हुन्छ । त्यसैले यसलाई रोक्न सक्ने क्षमता हुनुपर्छ ।
अन्यथा यो घातक र भयानक कम्लिकेशन हो । बिरामीको छनोट र वर्गिकरण अनुसार ठिक समयमा शल्यक्रिया, ठिक एन्टिबायोटिक र सहि टेक्निक र स्टरलिटी मेन्टेन गरेमा शल्यक्रिया सफल हुन्छ । बिरामीले नयाँ जीवन पाउँछ ।
शल्यक्रियामा कति जति खर्च आउँछ ?
मेरुदण्डको शल्यक्रिया खर्चिलो उपचार हो । उपचारका लागि आवश्यक उपकरण महँगा हुन्छन् । ट्रमाका कारण मेरुदण्डको सर्भाइकल, लम्बर र डोरसल फ्याक्चर भएका विपन्न बिरामीलाई नेपाल सरकारले एक लाख उपचार खर्च दिँदै आएको छ । यसले बिरामीलाई धेरै राहत भएको छ । यो सेवा ढाड भाँचिएको, ढाडमा लगाउने इन्स्टु्रमेन्ट, स्क्रुु प्लेट निकै महँगा हुन्छन् । विदेशबाट आयात गनुपर्छ । बाङ्गो भएको ढाड सोझो बनाउन गरिने शल्यक्रिया कस्मेटिक हो । यसमा ५ लाख देखि ८ लाख सम्म खर्च लाग्न सक्छ । सामान्यतया मेरुदण्डको शल्यक्रिया खर्चिलो हुन्छ । सरकारले दिने रकमबाट उपचार खर्च नपुग्नसक्छ ।
शल्यक्रिया पश्चात् बिरामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिले जीवनशैलीमा ध्यान दिनुपर्छ । टिबी र क्यान्सर बाहेक अरु नशा सम्बन्धि समस्या जीवनशैलीकै कारण हुनसक्छ । शल्यक्रिया गरेपछि बस्ने, काम गर्ने, सुत्ने र सवारी साधन चलाउने तरिका सुधार नगरेसम्म रोगले पछ्याइरहन्छ । आफ्नो जीवनशैली र खानपिनलाई सन्तुलन गर्न सकेमा रोग निको हुन्छ । नशा च्यापिएको बिरामीले नियमित हिड्नु राम्रो मानिन्छ । शरीर जति चलायमान भयो त्यति नै नशा च्यापिने सम्भावना कम हुन्छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
