
चौधरीले भारतको कर्नाटाकाबाट बायोमेडिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको हो । उहाँले उच्च श्रेणी हाँसिल गरेकाले व्याङ्गलोरमा नै जागिर पाउनुभएको थियो । तर एक वर्ष नपुग्दै मास्टर्स गर्न जर्मन जाने अभिलासा बोकेर नेपाल फर्किनुभयो । नेपाल फर्किएकै बेला सन् २०१० मा त्रि. बि.शिक्षण अस्पताल महाराजगञ्जमा सेवा गर्ने अवसर पाउनुभयो । वायोमेडिकलमा स्नातक अध्ययन गरेकामध्येबाट त्रि.वि.शिक्षण अस्पतालमा नियुक्ति पाउने उहाँ पहिलो भाग्यमानी बायोमेडिकल इन्जियिनर हुनुहुन्छ । त्यो बेला बायोमेडिकल इन्जिनियरको कमी त छँदै थियो । साथै यसबारे धेरै अनभिज्ञ थिए । बायोमेडिकल इन्जिनियरको काम कर्तब्य बुझाउन गाह्रो हुन्थ्यो ।
मेडिकल उपकरणहरुको मर्मतसम्भारदेखि नयाँ मेसिन खरीद प्रक्रियाका लागि टेन्डर स्पेशिफिकेसन बनाउन धेरैलाई ज्ञान नै थिएन । सन् २०१७ मा बायोमेडिकलमा मास्टर्स गर्न चौधरी जर्मन जानुभयो । त्यहाँ उहाँले वायोमेडिकलमा मास्टर्स गर्नुभयो, सँगैसँगै म्यानेजर इन रेगुलारिटी अफेयर्समा पनि विज्ञता हाँसिल गर्न सफल हुनुभयो । सायद उहाँ नेपालको वायोमेडिकल रेगुलेसनमा मास्टर्स गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । चौधरीले डब्लुएचओ गाइडलाइन अन इम्प्लिमेन्टिङ रेगुलारिटी रिक्वायरमेन्ट्स फर वायोसेफ्टी एण्ड वायोसेक्युरिटी इन वायोमेडिकल ल्याबोरेटोरिज—ए स्टेपवाइज एप्रोज ‘डब्लुएचओ जेनेभा’ शीर्षकमा शोधपत्र प्रकाशित गर्नुभएको छ ।
मास्टर्सको थेसिसका दौरान चौधरीले विश्व स्वास्थ्य संगठनको सहकार्यमा वायोसेफ्टी, वायोसेक्युरिटी एण्ड क्वालिटी म्यानेजमेन्ट इन बायामेडिकल ल्याबोरेटोरिजको पाइलट प्रोजेक्टका लागि नेपाललाई छनौट गर्नुभयो । भन्नुहुन्छ—‘डब्लुएचओ नेपाल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, औषधि व्यवस्था विभागको अध्ययन अनुसन्धान गरेँ । पाइलट प्राजेक्ट गर्दा नेपालमा मेडिकल उपकरण भित्र्याउन एउटा पोलिसीको आवश्यकता देखेँ ।’
हुन त वायोमेडिकलमा मास्टर्स गर्न जर्मन जाँदा चौधरीले त्रि.वि. शिक्षण अस्पतालको जागिर गुमाउनुपर्यो । अस्पतालबाट विदा स्वीकृत भएपनि इस्टिच्युट अफ मेडिसिन (आईओएम) डिन कार्यालयमा त्रि.वि. शिक्षण अस्पतालको प्रशासनले समयमा बिदा फरवार्ड नगरेकाले उहाँको जागिरले निरन्तरता पाउन सकेन । न्याय पाउन सर्बोच्च अदालतमा दायर गर्नुभएको मुद्धा विचाराधीन छ ।
मास्टर्स सकिएलगत्तै सन् २०१९ को अन्तिमतिर चौधरी मुलुकमा वायोमेडिकल विधाको विकास र विस्तारको सपना बोकेर जर्मनबाट नेपाल फर्किनुभयो । चौधरी भन्नुहुन्छ— ‘त्यो सपना अहिलेसम्म साकार भएको छैन ।’ सन् २०२० बाट उहाँले एम.केयर टेक्नोलोजी कम्पनिमा आवद्ध भएर मेडिकल उपकरणको इम्पोर्टको काम शुरु गर्नुभयो । हाल उहाँ यस कम्पनिको प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँको व्यवसायिक यात्रा क्रिटिकल केयरका मेडिकल उपकरण आपूर्तिमा धेरै केन्द्रित छ । चौधरीले जर्मन, युरोपियन देश, चाइनिज, भारत, कोरियन, अमेरिकन, जापानिज ब्रान्डलगायत करिब १८ देशमा निर्मित क्रिटिकल केयर (आईसियु, एनआईसियु, पिआईसियु) मा प्रयोग हुने उपकरण र ओआर सोलुसन (ओटी टेबुल, ओटी लाइट, एनेस्थेसिया मेसिन) को नेपालमा बजारीकरण गर्दै आउनुभएको छ । साथै ल्याप्रोस्कोपी (प्वाल पारेर गर्ने), इमर्जेन्सी, डिजास्टर मेनेज्मेन्टसम्बन्धि स्वास्थ्य सामाग्रीको पनि आपूर्ति गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ—‘अन्तर्राष्ट्रिय जगतमा रिसर्च एण्ड डेभलप्मेन्ट मार्फत विकसित नयाँ टेक्नोलोजीको आविष्कार हुन्छ । वायोमेडिकल इन्जिनियरहरु यसमा ज्ञाता हुन्छन् । तर नेपालमा रिसर्च एण्ड डेभलप्मेन्टको अवधारणा छैन । केवल वायोमेडिकल इन्जिनियर मेडिकल उकरणको मर्मत सम्भार र टेन्डर स्पेसिफिकेसन बनाउने व्यक्तिका रुपमा मात्र चिनिन्छ ।’
नेपालमा सयौंको संख्यामा बायोमेडिकल इन्जिनियर रहेका छन् । स्वास्थ्य व्यवस्थापन महाशाखा र अन्य विभिन्न अस्पतालहरुले यसको महत्व बुझेर वायोमेडिकल इन्जिनियर हायर गर्न थालेको पाइन्छ । सरकारले बैज्ञानिक किसिमले पर्याप्त दरबन्दी नखुलाएकाले धेरै वायोमेडिकल इन्जिनियरहरुले आफ्नो प्रतिभा देखाउन पाइरहेका छैनन् ।
मेडिकल उपकरणको गुणस्तर यकिन गर्न युएसएफडिए वा सिई/एमडिआर प्रमाणित (सर्टिफाइड) हुनुपर्छ । यसैका आधारमा विकसित देशको प्रशासन संयन्त्रले मोनिटरिङ र भ्यालुएसन गरेर नियन्त्रण गरिरहेको छ । त्यसैले नेपालमा पनि एफडिए बनाउन जरुरी देखिन्छ । जुन देशमा रिसर्च एण्ड डेभलप्मेन्ट हुन्छ, त्यहाँ प्रोडक्सन हुन्छ । प्रोडक्सन भएपछि निर्यात हुन्छ, जसले गर्दा देशको अर्थतन्त्रमा उल्लेख्य सुधारका साथै रोजगारीको अवसर सिर्जना हुन्छ ।
नेपालमा मेडिकल उपकरणको रेगुलेसन नभएका कारण मानिसको शरीरमा प्रयोग हुने मेडिकल डिभाइसले समस्या गरेमा कसले जिम्मा लिने ? त्यसैले नेपाल सरकारले नियामक निकाय (रेगुलेसन वडी) खडा गर्नुपर्छ । नियामक निकाय नभएसम्म गाइडलाइन बन्दैन ।

गाइडलाइन नबनेसम्म उचित व्यवस्थापन हुँदैन
चौधरी भन्नुहुन्छ—‘कुनै पनि मेडिकल सामान भित्र्याउँदा सम्बन्धित प्रोडक्ट नेपालका लागि उपयुक्त भएनभएको अनुसन्धान गर्नुपर्छ । रेगुलेटरी डकुमेन्टस् (आईएसओ, क्वालिटी म्यानेजमेन्टस्, जोखिम व्यवस्थापन, एफडिए, सिई/एमडिआर, आईभिडिआर) ठीक भएनभएको हेर्नुपर्छ । त्यसपछि मात्र सम्बन्धित प्रोडक्ट देशभित्र इन्ट्री गर्न दिनुपर्छ ’
अहिलेको अवस्थामा मेडिकल उपकरण आपूर्ति त भइरहेको छ । त्यसको क्वालिटी बारे कसैलाई नै थाहा हुँदैन । त्यसको रिजल्टलाई शत्प्रतिशत मान्यता दिने कि नदिने ? कसले दिने त ? भन्ने जस्ता प्रश्न आउँछ । त्यसैलेसरकारले मेडिकल उपकरणमा गाइडलाइन बनाएर स्टैन्डराइज तोक्नुपर्छ ।
थर्ड पार्टी असिस्टमेन्ट नभएकाले अहिलेको अवस्थामा कुनै पनि ल्यावमा मेसिन क्यालिब्रेसन गरेर चलाएनचलाएको थाहा हुँदैन । सरकारी निकायले मेसिनको क्वालिटी ठीक वा वेठिक भन्न सक्ने अवस्था पनि छैन । यसबाट मेसिनको क्वालिटीको एसोरेन्स हुन सकिरहेको छैन । यो एउटा जोखिम हो । त्यसैले सरकारी तहमा क्वालिटी एसोरेन्सको लागि पनि रेगुलेसन जरुरी हुन्छ । यदि गुणस्तरहीन मेडिकल डिभाइसका कारण बिरामीको ज्यान गएमा को जिम्मेवार हुने ? एकले अर्कोलाई दोष लगाएर मात्र मरेको बिरामी फिर्ता आउन सक्दैन ।
मेडिकल उपकरणको लाइफ हुन्छ । यसले शुरुमा राम्रो परफर्मेन्स दिन्छ । पुरानो हुँदै गएपछि क्षमता घट्दै जान्छ । कतै कतै त २० औं वर्षदेखि एउटै मेसिन निरन्तर चलाइरहेको पाइन्छ । एउटा हस्पिटलबाट अर्को हस्पिटलमा लगेरसमेत सोही मेसिन चलाइरहेका हुन्छन् । मेडिकल उपकरणको क्वालिटी खस्किएमा डायग्नोष्टिकको रिपोर्ट राम्रो आउँदैन । डायग्नोष्टिकको रिपोर्ट राम्रो नआएमा उपचारको रिजल्ट पनि राम्रो हुन सक्दैन ।
त्यसैले मुलुकमा मेडिकल उपकरणको रेगुलेसन गर्ने गर्ने छुट्टै स्वतन्त्र नियामक निकायको व्यवस्था भएमा आयातित सामानको रजिष्ट्रेसन हुनेदेखि सामानको आयु सकिएपछि डिस्पोज गर्नेसम्मको व्यवस्था बन्नसक्छ । यदि मेडिकल उपकरणको नियामक निकाय नभएमा नेपाल मेडिकल उपकरणको डम्पिङ साइड बन्न सक्छ ।
रिफर्भिस उपकरणहरु प्रयोग गर्दा गुणस्तरमा प्रश्न चिन्ह उठ्छ । त्यसैले आन्तरिक तथा बाह्य रिफर्भिस सामानको प्रयोग नियन्त्रण गर्न जरुरी छ । साथै खुला सिमानाका कारण बिना दर्ता स्वास्थ्य सामाग्री देशमा भित्रिने भएकाले त्यसको क्वालिटी र सर्भिसमा कमी हुने हुँदा नियन्त्रण गर्न आवश्यक देखिन्छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
