
वरिष्ठ निःसन्तान एवं आइभिएफ स्पेसलिस्ट डा. सविना श्रेष्ठ विगत २१ वर्षदेखि प्रजनन स्वास्थ्यको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । काठमाडौँ फर्टिलिटी सेन्टरकी सञ्चालकसमेत रहनुभएकी डा. सविनाको समूहले आइभिएफ प्रविधिमार्फत् हालसम्म करिब १ हजारभन्दा बढी निःसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गरिसकेको छ भने आइयूबाट करिब ४ हजार, मेडिसिनलगायत सामान्य उपचारबाट करिब ६ हजारले सन्तान सुख प्राप्त गरिसकेका छन् । सन् २००३ मा रजिस्ट्रारका रूपमा ओम अस्पतालबाट आफ्नो करियरको सुरुआत गर्नुभएकी उहाँले सोही समयमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालसँग सहकार्य गर्ने अवसर पाउनुभयो । डा. रिजालको कार्यव्यस्तताका कारण टेस्टट्युब प्रविधिमार्फत् हुने सबै कामको जिम्मा डा. सविनाकै काँधमा आइपुग्यो । सेवा सुरु गरेको १ वर्षमै उहाँले सफलता प्राप्त गर्नुभयो । सन् २००४ को जुलाईमा उहाँको टिमको प्रयासले सार्थकता पायो, अर्थात् ओम अस्पतालमा पहिलो पटक आइभिएफ प्रविधिबाट ‘टेस्टट्युब बेबी’को जन्म भयो । टेस्टट्युब प्रविधिबाट जन्मिएका ओममणि तमाङ अहिले २० वर्षका लक्का जवान भइसकेका छन् । जानौं उहाँको अनुभव र अनुभूति आफ्नै भाषामा ।
जुनसुकै फिल्डमा पनि उतारचढाव हुन्छ, सफलता–असफलता सँगै आउने हो । सुरुको समयमा यो क्षेत्रमा काम गर्न एकदमै गाह्रो थियो । टेस्टट्युब प्रविधिलाई नेपाली समाजले स्वीकार गर्न सकेको अवस्था थिएन । आफ्नो बच्चा होइन,अरू कसैको बच्चा हो जस्तो व्यवहार गर्ने अवस्था थियो । सन्तानको चाहनामा तड्पिएका महिलाहरू लुकीछिपी उपचारका लागि आउनुपर्ने, यदि कसैले टेस्टट्युब गरेको भनेर थाहा पाए भने ‘अर्काको बच्चा राखेको’ चर्चा हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ, प्रायः सबैले यसबारे बुझिसकेका छन् । टेस्टट्युब प्रविधिमा पनि आफ्नै बच्चा हुने रहेछ भनेर स्वीकार गरिसकेको अवस्था छ ।
सुरुका दिनमा आइभिएफ प्रविधि ३० देखि ३५ प्रतिशत मात्रै सफल हुने गरेको थियो, तर अहिले सुधार भएर ६० प्रतिशतसम्म पुगिसकेको छ । सन्तान नभएर पीडामा रहेका दम्पतीलाई सन्तान सुख दिन पाउँदा हामीलाई सबैभन्दा ठुलो सफलता मिलेको अनुभूति हुन्छ । सन्तानको चाहनामा आउने दम्पतीको अनुभव र पीडा सुन्दा हामी आफैँ दुखी हुन्छौँ । आमा बन्न नसकेका कतिपय आमाहरू रुँदै पीडा सुनाउनुहुन्छ, उहाँहरूको कुरा सुन्दा लाग्छ– निःसन्तान हुनु नेपालमा कति ठुलो अपराध मानिएको रहेछ, कति ‘टर्चर’ सहनुपर्दो रहेछ !
पछिल्लो समय निःसन्तान दम्पतीले आइभिएफ प्रविधि स्वीकार गरे पनि यसमा चरम विकृति भित्रिएको छ । यो आफैँमा अलि महँगो उपचार पद्धति हो । औषधि/उपकरण सबै विदेशबाट झिकाउनुपर्छ । त्यसकारण पनि खर्च हुन आउँछ । तर, पछिल्लो समय जताततै ‘आइभिएफबाट सस्तोमा उपचार’ भन्दै विज्ञापन गरिएको पाइन्छ । फेसबुकतिर सस्तोमा उपचार भनेर विज्ञापन हेरेर आउने दम्पतीलाई लाग्ने वास्तविक शुल्क बताउँदा आफू ठगिएको अनुभव गर्ने गरेको पाइन्छ ।
यस्तै, व्यक्तिको उमेर, शारीरिक अवस्था हेरेर पनि शुल्कमा तलमाथि हुन सक्छ । जस्तो–डिम्बको गुणस्तर बढाउने औषधि प्रयोग गर्दा कम उमेरका महिलालाई कम र बढी उमेरका महिलालाई बढी लाग्न सक्छ । सामान्यतः एक निःसन्तान दम्पतीको आइभिएफ गर्न औषधिसहित करिब ३ लाख देखि ३.५ लाख रुपैयाँसम्म शुल्क लाग्छ । यो उपचार गर्नुको मुख्य उद्देश्य दम्पतीलाई सन्तान सुख दिनु हो । तर, कसैको भने सन्तान नहुन पनि सक्छ । यो हाम्रो हातमा हुने विषय पनि होइन ।

जुन डाक्टरले बिरामीको समस्या बुझेर सोहीअनुसार उपचार गर्न सक्छ, उही सफल र अब्बल डाक्टर बन्न सक्छ । बिरामीले पनि उपचारमा विश्वास गर्नुपर्यो, त्यो विश्वासको वातावरण डाक्टरले नै बनाउने हो । भएको समस्या बिरामीलाई ट्रान्सपरेन्ट भएर भनिदिनुपर्छ । एक मात्र भरोसा गरेर, विश्वास बोकेर आएका बिरामीप्रति विश्वासघात गर्नुहुँदैन ।
यदि पाठेघरमा बच्चा बस्ने ठाउँ राम्रो नभएमा, डिम्बको उत्पादन नभएमा बच्चा बस्ने वा नबस्नेबारे एकिन गरेरै भन्न सकिन्छ । तर, अन्य कुरामा भने यसै हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । कहिलेकाहीँ श्रीमान्–श्रीमतीको स्वास्थ्य अवस्था ठिक हुँदाहुँदै पनि बच्चा भइरहेको हुँदैन । यसमा के कारण हो भनेर यसै भन्न सकिँदैन ।
हरेक संस्थाले आफ्नो सही डाटा राख्नुपर्छ । यस्ता डाटा केन्द्रीकृत हुन सकेमा कुन ठाउँको अवस्था के छ, कहाँ के भइरहेको छ भन्ने विषयमा स्पष्ट हुन सकिन्छ । अहिलेसम्म टेक होम बेबी ३५ प्रतिशत जति छ । त्यो पनि सेन्टरअनुसार फरक पर्छ । अन्य उपचार नगरी आइभिएफ गराउन आउने युवापुस्ताका व्यक्तिको सफलता राम्रो हुन्छ । उमेर धेरै भएर, अन्य धेरै प्रकारका उपचार गराएर डिम्ब सिध्याएर आएकाहरूमा भने सफलता दर कम हुन्छ । उपचार गर्न आउने सबैलाई आइभिएफ नै गर्नुपर्छ भन्ने होइन । तर, गर्दा सफल हुने सम्भावना बढी हुन्छ ।
आइभिएफको इन्डिकेसनमा नपरेकाहरूले आफैँ अझै कोसिस गर्दा सन्तान प्राप्त गर्न सकिन्छ । सन्तान प्राप्तिको प्रयास असफल हुँदा दम्पतीमात्र होइन, हामी पनि निराश हुन्छौँ । हामीले पनि कति धेरै कोसिस गरेका हुन्छौँ, बच्चा भइदेओस् भन्ने हुन्छ । सफल भएन भने किन भएन भन्ने कतिपय प्रश्नको त जबाफ हामीसँग पनि हुँदैन, दम्पतीलाई के जबाफ दिने !
अनि खुसी लाग्छ…
मैले मुम्बई र जर्मनी गएर तालिम लिएकी छु । एम्ब्रियोलोजी र क्लिनिकल दुवै काम गरिरहेकी छु । निःसन्तान भएर समाजको, परिवारको टर्चर सहेर, दसतिर उपचार गराउँदै भौँतारिइरहेका दम्पतीको काखमा बच्चा राखिदिन सक्दा युद्ध नै जितेको अनुभूति हुन्छ । त्यो अवस्थामा सन्तान प्राप्त गरेको दम्पतीले जसरी शब्दमा खुसी वर्णन गर्न सक्दैन, हामी पनि त्यति नै खुसी हुन्छौँ । दम्पतीको अनुहारमा आएको मुस्कान नै हाम्रा लागि सफलता हो ।
दैनिकी नै निःसन्तानको सेवा !
म बिहान ८ बजेदेखि १ बजेसम्म ओम आइभिएफ सेन्टरमा हुन्छु । दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म भने काठमाडौँ फर्टिलिटी सेन्टरमा सेवा दिने गरेकी छु । सुरुसुरुमा बाहिरको डाक्टरमा भर पर्नुपर्दा ग्रुप बनाएर डिम्ब संकलन गरिन्थ्यो । तर पछिल्लो केही वर्षदेखि भने दैनिक डिम्ब संकलन (पिकअप) गर्दै आएकी छु ।

उपचारमा काउन्सिलिङको भूमिका
यो उपचार पद्धतिका लागि काउन्सिलिङ एकदमै महत्वपूर्ण छ । हामीसँग एक जना बहिनी (पूजा) हुनुहुन्छ । उहाँ पनि ३–४ पटक आइभिएफ असफल भएर पछि सफल भएको व्यक्ति हुनुहुन्छ । उहाँले पनि काउन्सिलिङ गर्नुहुन्छ । कतिपय नर्सिङ स्टाफहरूसँग बिरामी पनि खुलेर बोल्छन् । यदि काउन्सिलिङ राम्ररी गर्न सकिएन र दम्पतीले आफ्नो समस्या र हिस्ट्री खुलेर बताउन सकेनन् भने सही उपचार हुन सक्दैन ।
तनावले पनि घटाउँछ सफलता
दम्पतीले स्ट्रेस लिनै हुँदैन । यसले प्रतिफलमा असर गर्छ । मानसिक रूपमा दम्पती एकदमै पोजिटिभ हुनुपर्छ, खुसी मुडमा हुर्नुपर्छ । काउन्सिलिङ गर्दा पनि साइकोलोजिकल आधारमा गर्नुपर्छ । व्यक्तिले कति उपचार ग¥यो ? परिवारबाट कसरी सपोर्ट पाइरहेको छ ? सोही अनुसार काउन्सिलिङ गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय उपचारका नाममा धेरैतिर चहार्दै हिँड्ने प्रचलन छ । एउटा डाक्टरलाई देखायो, तुरुन्तै प्रतिफल आएन भने अर्कोतिर गइहाल्ने, यो राम्रो होइन । आफूलाई अनुकूल हुने डाक्टरसँग निरन्तर फलोअपमा रहेमा सफलता हाँसिल गर्न सकिन्छ ।
अहिलेसम्मको अनुभवमा सहरका भन्दा गाउँघरका दम्पती पारिवारिक र सामाजिक रूपमा पीडित हुने गरेको पाएकी छु । विशेषगरी महिलाहरूले सबैतिरबाट पीडा भोगेका छन् । बच्चा नभएमा अर्को विवाहका लागि डिभोर्स पेपर साइन गर्ने सर्तमा अन्तिमपटक उपचार गराउन आउने महिलाको संख्या पनि उत्तिकै छ । यस्तो तनावको अवस्थामा प्रतिफल राम्रो आउँदैन । स्ट्रेसले गर्दा महिला–पुरुष दुवैको डिम्ब र शुक्रकिटमा समस्या आउन सक्छ ।
निःसन्तानको उपचार गराइरहेका करिब १० प्रतिशतले एन्टिडिप्रेसनको औषधि सेवन गरिरहेको पाइन्छ । यो महिला, पुरुष दुवैमा लागू हुन्छ । अहिले त यो संख्या झन् धेरै छ । त्यसैले यसमा परिवारको भूमिका अझ महत्वपूर्ण हुन्छ । बच्चा नभएमा छोराको अर्को विवाह गरिदिने सोच छ । तर, ५० प्रतिशत त छोराकै समस्याका कारण बच्चा भइरहेको हुँदैन भन्ने परिवारलाई बुझाउनु आजको प्रमुख चुनौती हो । किनकि यो कुरा परिवारले स्वीकार नै गरिरहेको छैन ।
सुरु–सुरुमा त तेस्रो श्रीमती लिएर समेत बच्चाका लागि आउने गरेका घटना छन् । ३ वटा बिहे गरुन्जेल पुरुषले आफूमा पो समस्या हो कि ! भनेर एक पटक पनि जाँच गरेको हुँदैन । तर, आजकल श्रीमान्–श्रीमती दुवैले जाँच गर्ने प्रचलन बढेको छ । दम्पतीले यसको महत्व बुझेका छन् । पहिले–पहिले श्रीमान्को शुक्रकिट जाँच गर्न ‘महाभारत’ जस्तै हुन्थ्यो । सन्तान नहुनुमा ३० प्रतिशत श्रीमान्, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत अनएक्सप्लेन हुन्छ । दुवैमा कम्बाइन पनि हुनसक्छ । त्यसैले दुवैको जाँच गर्नु महत्वपूर्ण छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
