नेभिगेशन

कोठाभित्रको ढुसीले स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय

नेपाल हेल्थ न्युज, काठमाडौँ । दुई मिल्ने साथीहरू निकोल फराज र डिलानी डनी कलेजमा स्नातक तहको पढाइ सकेर अर्को फ्ल्याटमा सरेपछि उनीहरूमा गम्भीर स्वास्थ्य समस्या देखा पर्‍यो। त्यसले जीवन नै उलटपुलट हुन्छ भन्ने उनीहरूलाई केही थाहा थिएन। अमेरिकाको लस एन्जलसमा उनीहरू सरेको केही सातामै सास फेर्न समस्या हुने, थरथर काँप्ने, एकदमै टाउको दुख्ने, निद्रा नलाग्ने र थकान हुने समस्या देखियो।

"मलाई लागुऔषध दिइएजस्तो महसुस हुन्थ्यो," मस्तिष्कमा अन्योल हुने र कुनै कुरामा ध्यान दिन नसक्ने समस्या भोगेकी डिलानीले बीबीसीसँग भनिन्। "म चार दिनमा जम्मा दुई घण्टा मात्रै निदाउन सक्थेँ। एकदमै थकाइ लाग्थ्यो।"

ढुसीको विषाक्तता

पहिला त उनीहरूले तनावका कारण त्यसो भएको भन्ठाने। उनीहरूलाई ढुसीले बिस्तारै विषाक्त बनाउँदै लगेकोबारे कुनै ज्ञान थिएन। उनीहरू बस्ने तल्लाको भित्ता र सीलिङमा ढुसी बनिरहेको थियो र ढुसी बन्न त्यो एकदमै अनुकूल थियो।

"ढुसी हाम्रो फोक्सोको लागि असाध्यै हानिकारक हुन सक्छ," आस्मा एन्ड लङ्स यूकेका प्रमुख क्लिनिशन डाक्टर एन्डी ह्विटमोरले भने। "यसले श्वासप्रश्वास सङ्क्रमण, एलर्जी वा दम गराउन सक्छ।"

सीलिङमा लागेको ढुसी

केही खास किसिमको ढुसीले विषालु हुने र त्यसले चरम विषाक्तता, आस्मा र चरम अवस्थामा क्यान्सरजस्ता दीर्घकालीन गम्भीर स्वास्थ्यहरू निम्त्याउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

उपचार नगरी छोड्यो भने ढुसी घातक बन्न सक्छ। "आस्मा (दम)ले पनि ज्यान लिन सक्छ। चिसो ठाउँ र ढुसीले ढाकेको ठाउँवरपर कोही बसेको छ भने त्यो मानिसलाई जीवन नै लिन सक्ने आस्मा हुन सक्ने सम्भावना रहन्छ," ह्विटमोरले भने।

आफ्नो सुत्ने कोठाको भुँइमा पानीको केही थोपा देखेपछिमात्रै निकोल र उनको साथीले त्यसबारे खोजी गर्दा अपार्ट्मन्टभरि नै ढुसी फैलिएको पत्ता लागेको थियो। "यसलाई नाङ्गो आँखाले देख्न सकिँदैनथ्यो तर त्यो अपार्ट्मन्टभरि फैलिएर हाम्रो स्वास्थ्यमा असर गरिरहेको थियो," निकोलले भनिन्।

निकोल र डिलानीको घरमा देखिएको ढुसी

ढुसी के हो?

ढुसी चिसो र कम आर्द्रता भएको वातावरणमा बढ्ने एक सूक्ष्म जीव हो। यो हावामार्फत् फैलन्छ। भित्तामा कालो, सेतो वा हरियो धब्बा देखिनु घरमा ढुसी बढिरहेको सङ्केत हो। यो चिसो ठाउँमा देखिन्छ अनि गन्ध पनि आउँछ।

सन् २०१३ मा क्लिनिकल एन्ड इक्स्पेरिमेन्टल एलर्जीमा प्रकाशित अध्ययनअनुसार ४७ प्रतिशत घरमा ढुसी देखिन्छ। अमेरिकामा ४७ प्रतिशतमा र युरोपमा २१ प्रतिशत घरमा त्यसले असर पारेको हुन्छ।

उष्ण क्षेत्रका देशहरूमा थोरै अनुसन्धान भए पनि हालैको एक अध्ययनले दक्षिण भारतका ७१० घरहरूमा ओसिलोपन देखिएको थियो। अनि उत्तरी थाईल्यान्डको एक अध्ययनले पानी चुहावटले २८.२ प्रतिशत घरहरूलाई प्रभावित गरेको देखाएको छ।

पत्ता लगाउन कठिन

डाक्टर जिल क्रिस्टाका अनुसार मानिसले पत्तै नपाईकन उनीहरूलाई ढुसीले असर गरेको हुन सक्छ। "धेरै मानिसहरू उनीहरूलाई ढुसीले विषाक्त बनाएको कुरा कहिल्यै थाहा पाउँदैनन्," 'ब्रेक द मोल्ड' पुस्तककी अमेरिकी लेखकले भनिन्। ढुसीबारे प्रायः गलत बुझाइ रहेको र कम मात्रै पत्ता लागेको उनी ठान्छिन्।

ढुसी खास गरी नदेखिने ठाउँहरू जस्तै भित्ता, भुँइ वा फर्निचरको पछाडि विकास हुन्छ। त्यसको अर्थ यसको प्रभाव महिना वा वर्षौँसम्म थाहा नपाइएको हुन सक्छ।

निकोल र डिलानीका लागि कुरा अझै खराब हुँदै गयो। उनीहरूलाई यो के भइरहेको थियो भन्ने बुझ्न एक वर्षभन्दा बढी समय लाग्यो। "मैले काम गरिरहँदा फोन उठाउँदाको क्षण सम्झन्छु," निकोलले भनिन्। "कोही मलाई एउटा नम्बर लेख्न दिइरहेका थिए र म त्यसको बीचमा के सुन्दै थिएँ र लेख्दै थिएँ भन्नेबीच तादात्म्य थिएन।"

त्यही समयमा उनलाई थाहा भयो कि केही गम्भीर रूपमा गलत भइरहेको छ। "यो डरलाग्दो थियो। अन्ततः म जागिर छोड्न बाध्य भएँ," निकोलले भनिन्। निकोल र डिलानीले धेरै डाक्टरलाई देखाए तर कसैले पनि उनीहरूको समस्या सही तरिकाले पत्ता लगाउन सकेनन्।

"म अस्पतालको आपत्कालीन कक्षमा गएको सम्झिन्छु र डाक्टरले मलाई म ठिक छु भने," निकोलले भनिन्। "यसले हाम्रो आत्मविश्वास नष्ट गरिदियो। हामीले यसलाई वास्तविक हो कि होइन भन्ने प्रश्न गर्न थाल्यौँ।"

खास गरी विषाक्त ढुसीको असर पत्ता लगाउन कठिन थियो किनभने यसका लक्षणहरू फ्लू वा एलर्जीसँग मिल्दाजुल्दा थिए। अनुसन्धानकर्ताहरू अझै यसले स्वास्थ्यमा पार्ने प्रभाव र ढुसीसम्बन्धी रोगको उपचार कसरी गर्ने भन्ने बुझ्दै छन्।

सन् २०२४ मा च्यारिटी आस्मा एन्ड लङ्ग यूकले फोक्सोको समस्या भएको ३,६५२ मानिसहरूबीच गरेको सर्वेक्षणमा एक चौथाइ बच्चाहरू र झन्डै आधा वयस्कहरूले ओसिलो र ढुसीका कारणले आफूहरूमा आस्मा (दम)का लक्षणहरू देखिएको बताए।

डाक्टर ह्विटमोरले विशेष गरी बच्चाहरू जोखिममा रहेको बताए। "बच्चाहरूको फोक्सो अझै विकसित भइरहेको छ र त्यसैले तिनीहरूमा ढुसीले सङ्क्रमण गर्ने सम्भावना बढी हुन्छ," उनले भने। "उनीहरू छिटोछिटो सास फेर्छन्, त्यसैले वयस्कहरूको तुलनामा सासमार्फत् उनीहरूको शरीरमा धेरै ढुसी प्रवेश गर्छ।"

ढुसीबाट कसरी जोगिने?

यूकेमा रहेको एअरफ्रेश नामक कम्पनीका निर्देशक टम कोल्गनले ढुसी कम गर्न मानिसहरूले यी केही कुराहरू गर्न सक्ने सुझाव दिएका छन्।

  • जाडो महिनामा पनि दिनमा ३० मिनेट सबै झ्यालहरू खुला राख्नुहोस्
  • घरलाई १८ डिग्री सेल्सियसको तापक्रममा राख्नुहोस्
  • घरमा खास गरी बाथरूममा हावा बाहिर फ्याल्ने पङ्खा राख्नुहोस् र नुहाउँदा त्यसलाई खुला राख्नुहोस्
  • घरको तापक्रम नाप्ने उपकरण किन्नुहोस् र यदि आर्द्रताको मात्रा ६० प्रतिशत नाघ्यो भने झ्यालहरू खोल्नुहोस्
  • खाना पकाउँदा भान्साको हावामा धेरै बाफ देखिन्छ। खाना पकाउँदा सधैँ झ्यालहरू खोल्नुहोस्
  • मानिसहरूले आफ्नो घरमा ढुसी देखिएपछि प्रायः तुरुन्तै यसमा रासायनिक पदार्थ छर्किन्छन्। कोल्गन यसो नगर्न सुझाउँछन् किनभने यसले स्थिति अझै खराब पार्न सक्छ

"त्यो बेला नै हो ढुसीको अस्तित्व रक्षा प्रणाली सक्रिय हुने। यसले ढुली फैलाउन थाल्छ र नयाँ स्थानमा पुग्न सक्छ," उनले भने।

कपडाहरू सुकाइएको ठाउँ

बढ्दो स्वास्थ्य खतरा

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनले वर्षा र आर्द्रता बढाउँदा घरहरूमा पानीका कारण हुने क्षति र त्यसले ढुसीबाट देखा पर्ने रोगहरू अझ धेरै हुने सम्भावना रहने बताएका छन्।

ढुसी रोकथाम गर्न सकिने समस्या हो। तर नराम्रोसँग बनाइएका वा पैसा नपुगेर मर्मत गर्न नसकिएका भवनमा बसेका मानिसहरू ढुसीको सबैभन्दा बढी जोखिममा छन्।

निकोल र डिलानीलाई निको हुन छ वर्ष लाग्यो। "ढुसीको प्रदूषणको स्तर यति ठूलो थियो कि यसले धेरै क्षति गर्‍यो," निकोलले भनिन्।

डाक्टरहरूले उनलाई लामो समय ढुसीको प्रदूषणले उनको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएको बताएका छन्, जसले गर्दा अरू स्वास्थ्य समस्या पनि निम्तिए।

आफ्ना साथीहरू विदेश यात्रा वा बाहिर गएर रमाइलो गर्दै गर्दा आफूहरू भने घरबाट बाहिरै निस्किने तागतमा समेत नभएको उनले बताइन्।

"हामीले हाम्रो बीसको दशकलाई शोकमा बिताउनुपरेको थियो," डेलानीले भनिन्। "हाम्रो स्वास्थ्यको कारणले ती हामीबाट खोसिएका थिए।" "एकअर्काको साथ हुनुले नै हामीहरू अघि बढ्न सक्यौँ," निकोलले थपिन्। बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट