नेपाल हेल्थ न्युज, भुवनेश्वर, भारतः एक वर्षअघि मात्रै, वीरगञ्जकी १९ वर्षीया प्रिशा शाहले आफ्नो झोला प्याक गर्दै थिइन्—ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा आफ्नो भविष्य बनाउन। परिवारको आशा, साथीहरूको बिदाइ र आफ्नै आँखाभरि सपनाका टुसाहरू थिए।
तर बिहीबार साँझ, ती सबै सपना, योजना र आशाहरू होस्टेलको एक कोठामा झुन्डिएको अवस्थामा समाप्त भए। प्रिशाको शरीर मृत अवस्थामा भेटियो—त्यही होस्टेलको छतमा, जहाँ उनी हरेक दिन नयाँ भविष्यको अभ्यास गर्थिन्।
सपना बोकेर गएकी एक छोरी
प्रिशा शाह, विज्ञानप्रति रुचि राख्ने एक होनहार विद्यार्थी, केआईआईटीमा इन्जिनियरिङ अध्ययन गर्न पुगेकी थिइन्। उनलाई परिवारले देशको गर्व ठानेर पठाएको थियो। तर अब, यही कलेजबाट खबर आएको छ—तपाईंकी छोरी अब छैनन्।
उनको मृत्युले सिंगो नेपाली विद्यार्थी समुदाय स्तब्ध भएको छ। त्यो पनि तब, जब यही विश्वविद्यालयमा तीन महिनाअघि नेपालकै अर्की छात्रा प्रकृति लम्सालको पनि यस्तै रहस्यमय मृत्यु भएको थियो।
यो संयोग मात्र हो ?
केआईआईटीका नेपाली विद्यार्थीहरू अहिले डर र शंका दुबैमा छन्। यो केवल संयोग मात्र हो कि केही गहिरो कुरा लुकेको छ ? एक नेपाली विद्यार्थीले नाम नखुलाउने सर्तमा भने। प्रकृति दिदीको घटनालाई भर्खरै बिर्सन लागेक थियौं, अब फेरि प्रिशा दिदी। हामी अब रातभर निदाउन सक्दैनौं।
प्रिशाको मृत्युपछि होस्टेलमा रहेको सुरक्षा प्रणाली, मानसिक स्वास्थ्य सहयोग र विद्यार्थीप्रतिको व्यवस्थापनमा गम्भीर प्रश्न उठेका छन्।
विश्वविद्यालयको मौनता र विद्यार्थीको चिच्याहट
भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले यो घटनालाई विश्वविद्यालयको चरम लापरबाही भनेको छ। उनीहरूले केआईआईटी प्रशासनविरुद्ध कडा कारबाहीको माग गरेका छन्। तर विश्वविद्यालय मौन छ—जसरी प्रकृति लम्सालको घटनामा पनि लामो समयसम्म कुनै स्पष्ट धारणा आएको थिएन।
विदेशी भूमिमा नेपाली विद्यार्थीको असुरक्षा
केआईआईटीमा अध्ययनरत विद्यार्थीहरूका अनुसार, यस्ता घटनापछि कलेज प्रशासनले विद्यार्थीलाई अझ नियन्त्रणमा राख्न खोज्ने गर्छ। हामीलाई होस्टेलबाहिर निस्कन दिइँदैन, मानौँ हामी अपराधी हौं। यो मनोवैज्ञानिक दबाब र बन्द वातावरणले विद्यार्थी सामु अझ ठूलो मानसिक संकट उत्पन्न गराएको छ।
घर फर्किने प्रिशा, अब काठको बाकसमा
प्रिशा अब फर्किँदै छिन्—तर डिग्रीसहित होइन, काठको बाकसभित्र। त्यो बाकससँग फर्किरहेको छ—'एक अधूरो सपना, एक टुटेको परिवार र सयौं प्रश्नहरू, जसको जवाफ कसैसँग छैन।'
अब के गर्ने ?
यो घटना केवल प्रिशाको मात्र होइन—यो विदेश पढ्न चाहने हरेक नेपाली विद्यार्थीको कथा हो। यो हामी सबैको जिम्मेवारी हो—प्रश्न उठाउने, सुरक्षा माग गर्ने र यस्तो नियती दोहोरिन नदिने।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
