नेभिगेशन

मानसिक स्वास्थ्य समस्या बढेपछि सरकारले छुट्टै महाशाखा बनाउने

नेपाल हेल्थ न्युज, पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू तीव्र रूपमा वृद्धि भइरहेकाले सरकारले यस क्षेत्रमा विशेष ध्यान दिने निर्णय गरेको छ। यस अन्तर्गत मानसिक स्वास्थ्य र नसर्ने रोगहरूका लागि छुट्टै महाशाखा गठन गर्ने प्रक्रिया अघि बढाइएको छ।

हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागभित्र रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तर्गत मानसिक स्वास्थ्य शाखा कार्यरत थियो। तर अब यो शाखालाई इडिसिडीबाट अलग गरी पूर्ण रूपमा नयाँ महाशाखाको रुपमा विकास गरिनेछ।

इडिसिडीमा हाल विभिन्न ६ शाखा सञ्चालनमा छन् – जसमा मानसिक स्वास्थ्य र नसर्ने रोग शाखासहित ट्रपिकल रोग नियन्त्रण, भेक्टर जन्य रोग, जुनोटिक तथा सरुवा रोग नियन्त्रण, इपिडिमियोलोजी र प्रकोप व्यवस्थापन, र कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाहरू समावेश छन्। अब यस संरचनालाई पुनः व्यवस्थित गर्दै मानसिक स्वास्थ्यका लागि विशेष छुट्टै संयन्त्र निर्माण गरिनेछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “देशभर मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा रहेकाले यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्न छुट्टै महाशाखा आवश्यक भएको निष्कर्षमा पुगेका छौं। अब यो योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।”

नेपालमा हालै गरिएको केही अध्ययनहरूले पनि मानसिक स्वास्थ्यप्रति गम्भीर ध्यान दिनुपर्ने संकेत गरेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक प्रतिवेदनअनुसार, करिब ४.३ प्रतिशत वयस्कहरू कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन्। त्यस्तै, राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ अनुसार, देशभर झण्डै ११ लाख मानिस मानसिक समस्याबाट प्रभावित छन्।

विश्व स्वास्थ्य संगठन (who) को २०२२ को तथ्यांकले पनि मानसिक स्वास्थ्यको अवस्था प्रति सचेत रहनुपर्ने देखाएको छ। तथ्यांकअनुसार, प्रत्येक ८ मध्ये १ व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन्। साथै, १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारण भएको उल्लेख छ, जुन विशेषगरी निम्न तथा मध्यम आय भएका देशहरूमा बढी देखिन्छ।

सरकारको यो कदमले नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट