नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरका सयौं स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा उपलब्ध गराइने अत्यावश्यक औषधिहरूको अभाव देखिएको छ। महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले सार्वजनिक गरेको विवरण अनुसार, २०८१ सालको असोज मसान्तसम्म ९८ प्रकारका जीवनरक्षक औषधिहरू मध्ये धेरैजसो औषधि उपलब्ध नभएको पाइएको हो।
प्रतिवेदनमा उल्लेख भए अनुसार सिटामोल, अल्बेन्डाजोल, जीवनजल, मेट्रोनिडाजोल र आइरन चक्की जस्ता प्रमुख औषधिहरू दर्जनौं स्वास्थ्य केन्द्रहरूमा अभाव रहेको छ। यो अवस्था नेपाल सरकारको स्वास्थ्य नीति २०७६ र जनस्वास्थ्य सेवा नियमावलीविपरीत रहेको देखिन्छ, जसमा सबै तहका स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध गराउने प्रावधान छ।
औषधि अभावका कारणहरू
स्वास्थ्य सेवा अवरुद्ध हुनुको प्रमुख कारण आपूर्ति प्रणालीमा देखिएको असफलता हो। संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको कमी, खरिद प्रक्रियामा देखिएको ढिलाइ, र बजेट व्यवस्थापनमा कमजोरीले औषधिको नियमित आपूर्ति प्रभावित बनाएको विज्ञहरूले बताउनुभएको छ।
खरिद प्रक्रिया अपारदर्शी हुँदा कतिपय स्थानमा म्याद गुज्रिएका औषधि पनि पठाइएको र वितरण प्रणाली कमजोर रहेकाले औषधि वितरण प्रभावकारी हुन सकेको छैन।
संख्या र पहुँच
देशभर रहेका ७,५९९ स्वास्थ्य संस्थामार्फत सरकारको योजना अनुसार निःशुल्क औषधि वितरण हुने भनिए पनि, स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म धेरै स्थानमा आवश्यक औषधिहरूको मौज्दात छैन। यसले सामान्य उपचारका लागि समेत नागरिकहरूलाई निजी फार्मेसीमा धाउनु पर्ने अवस्था सिर्जना गरेको छ।
अकाउन्टेबिलिटीको अभाव
स्थानीय तह र मातहतका संस्थाहरूले औषधि वितरणसम्बन्धी तथ्यांक व्यवस्थित रूपमा नदेखाएकोले सरकारी स्रोतको प्रयोगमा पारदर्शिता र जवाफदेहितामा प्रश्न उठेको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
