नेभिगेशन

नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५ : संघीय स्वास्थ्य प्रणालीका चुनौती र अवसरबारे दुईदिने बहस

नेपाल हेल्थ न्युज, ललितपुर ।  संघीय सन्दर्भमा नेपालको स्वास्थ्य प्रणालीका चुनौती र अवसरहरूबारे केन्द्रित छलफल गर्दै #नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५ शुक्रबारदेखि सुरु भएको छ।

नेपाल पब्लिक हेल्थ एशोसिएसन (नेफा)को आयोजनामा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको सम्मेलनमा नीति निर्माता, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको छ।

संघीय सन्दर्भमा स्वास्थ्य प्रणालीका चुनौती र अवसरहरू” भन्ने मूल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘संघीय स्वास्थ्य प्रणालीमा शासन र नीति’ विषयमा व्यापक छलफल भएको थियो। डा. प्रमोद जोशी र नरेशप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न सत्रमा स्थानीयदेखि सुदूर गाउँ तहसम्मको स्वास्थ्य सेवा र संघीय संरचनाले ल्याएका नयाँ अवसर र समस्याबारे विविध प्रस्तुतिहरू प्रस्तुत गरिए।

त्यसपछिको प्यानल छलफलमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्राडा केदारप्रसाद बराल र डा. गुणराज अवस्थी सहभागी थिए। उनीहरूले संघीय, प्रादेशिक र स्थानीय तहबीच नीतिगत समन्वय र सुधारका सम्भावनाहरूबारे धारणा राखे।

स्वास्थ्य वित्त र स्रोत व्यवस्थापनबारे छुट्टै सत्रमा सुदर्शन पौडेल र सुपेन्द्र कार्कीको अध्यक्षतामा आर्थिक असमानता, सेवाको पहुँच र प्रयोगमा देखिएका समस्याहरू तथा संघीय सन्दर्भमा वित्तीय सुधारका उपायहरूमाथि बहस भयो।

यस्तै, अर्को सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा र पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल सहभागी थिए। सत्रको सहजीकरण स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकालले गरेका थिए।

दोस्रो दिन समावेशिता र पहुँचमा केन्द्रित

सम्मेलनको दोस्रो दिन ‘समावेशिता, पहुँच र सामाजिक समावेशीकरण’ शीर्षकमा छलफल हुनेछ। उक्त सत्रको अध्यक्षता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र र नेफाका केन्द्रीय समितिका सदस्य डा. दिलीपकुमार यादवले गर्नेछन्। सत्रमा बाँझोपन, स्तन क्यान्सरको पहिचान तथा उपचारमा हुने ढिलाइ, र ज्येष्ठ नागरिकको जीवन सन्तुष्टिसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछ।

त्यसपछि हुने सत्रमा मधुसूदन सुवेदी, दिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशी र नेपाल नर्सिङ परिषद्‌की रजिष्ट्रार शुक्ला खनाल सहभागी हुनेछन्। सत्रको सहजीकरण पत्रकार रिम्सा सिलाकारले गर्नेछिन्।

सम्मेलनको क्रममा नेफाको २५औं साधारण सभा समेत सम्पन्न हुने बताइएको छ। सम्मेलनमा प्रस्तुत विचार, अनुसन्धान र सुझावहरूले नेपालको संघीय स्वास्थ्य प्रणालीमा नीति निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट