नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल सरकारले आगामी वर्षको विश्व स्वास्थ्य सम्मेलनमा एक महत्वाकांक्षी प्रस्ताव लैजाने तयारी गरेको छ, जसअनुसार विदेशमा श्रम गर्न गएका कामदारहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी सम्बन्धित रोजगारदाता देशले लिनुपर्ने व्यवस्था गरिनेछ।
हालै जिनेभामा सम्पन्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओ को महासभाबाट फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस्तो प्रस्तावको तयारीको जानकारी गराउनुभएको हो। उहाँले बताएअनुसार, धेरै मुलुकहरूबाट वैदेशिक रोजगारीमा जाने नेपाली लगायतका श्रमिकहरूको स्वास्थ्यसम्बन्धी समस्या गम्भीर बन्दै गएकोले नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रिय एजेन्डामा उठाउन लागिएको हो।
मन्त्री पौडेलका अनुसार, प्रस्ताव पारित भएमा श्रमिक विदेश जानुअघि, कार्यरत रहँदा र फर्किँदा आवश्यक स्वास्थ्य जानकारी तथा सहयोग सम्बन्धित मुलुकबाट नै प्रदान गर्नुपर्ने हुन्छ। यसले गर्दा उपचार नपाएर घर फर्किनुपर्ने, आर्थिक अभावले उपचार अधुरो हुने, वा मृत्यु भएपछि शव ल्याउन कठिन हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
उहाँले भन्नुभयो, “यसले महामारी वा अन्य आपतकालीन अवस्थाहरूमा डब्ल्युएचओको अनिवार्य सहयोग सुनिश्चित गर्ने मार्ग पनि खोल्नेछ। अहिलेसम्म महामारीको समयमा सहयोग ऐच्छिक मात्र थियो, अब भने बाध्यकारी बनाउने प्रस्ताव पारित भइसकेको छ, जुन कम विकसित मुलुकहरूका लागि ठुलो उपलब्धि हो।”
नेपालको प्रस्ताव अन्तर्राष्ट्रिय श्रमिक कल्याणका दृष्टिले महत्वपूर्ण हुने मन्त्री पौडेलले बताउनुभयो। उहाँले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, मल्दिभ्स, बेलायत, नर्वे, र स्विट्जरल्याण्डका प्रतिनिधिहरूसँग यस विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो। साथै, भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यलाई औपचारिक रूप दिनका लागि छलफल अघि बढेको पनि उहाँले खुलासा गर्नुभयो।
नेपालले यो प्रस्तावलाई आगामी वर्षसम्म तयार गरेर डब्ल्युएचओको सदस्य राष्ट्रहरूमाझ समर्थन जुटाउने प्रयास गर्नेछ। यदि प्रस्ताव पारित हुन्छ भने, विदेशमा श्रम गर्न जाने कामदारहरूको स्वास्थ्य अधिकार सुरक्षित गर्नमा ऐतिहासिक कदम सावित हुने अपेक्षा गरिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
