नेपाल हेल्थ न्युज, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले दुर्गम तथा स्वास्थ्य सेवा पाउन गाह्रो हुने क्षेत्रमा नयाँ पहल थालेको छ। गाउँपालिकाले अब नागरिकलाई स्वास्थ्य संस्थामा जानुपर्ने झन्झट हटाउँदै, घरमै स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाले जानकारी दिएअनुसार यो सेवा हरेक महिनाको दुई दिन नियमितरूपमा दिइँदै आएको छ। स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार शारीरिक रूपमा असक्त, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी तथा बालबालिकालाई प्राथमिकता दिँदै सेवा सञ्चालन भइरहेको छ।
स्वास्थ्य संस्थामा पुग्न नसक्ने अवस्थाका कारण यस्तो सेवा सुरु गरिएको उहाँले बताउनुभयो। नरैनापुर–१ स्थित कटकुइयाँका ९१ वर्षीय लहरी चमार भन्छन्, “पहिले लौरो टेक्दै स्वास्थ्य चौकी जानुपर्थ्यो, अहिले त सेवा घरमै पाइन्छ, सरकार जस्तै लाग्छ।” त्यस्तै, मंझ्रेटीकी ८० वर्षीया रज्जा अहिरनले पनि स्वास्थ्यकर्मी घरै आइपुगेपछि सहज भएको प्रतिक्रिया दिइन्।
कटकुइयाँ स्वास्थ्य चौकीको तथ्याङ्कअनुसार हालसम्म एक सयभन्दा बढी नागरिकले घरमै स्वास्थ्य सेवा लिइसकेका छन्। सेवा वितरण भइरहेको वडामा १,२०० भन्दा बढी घरधुरी रहेको जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार घरमै पुगेर उपचार सेवा प्रदान गर्नुका साथै दीर्घरोगीका लागि निःशुल्क औषधि वितरणसमेत गरिएको छ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी अस्मिता भारतीका अनुसार नवजात शिशु र सुत्केरी महिलामा संक्रमणको जोखिम बढ्ने भएकाले घरमै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो। उनका अनुसार सुत्केरी भएपछिको २४ घण्टा, ३ दिन र ७ दिनभित्र स्वास्थ्यकर्मीको जाँच आवश्यक हुन्छ।
त्यस्तै, अनमी सामना गुरुङले वडा नम्बर १ लाई नरैनापुरकै सबैभन्दा विकट क्षेत्र मानेका छन्। पहिले जनचेतनाको अभावले महिलाहरू घरमै सुत्केरी हुने गरे पनि अहिले अवस्था सुधारिएको र सबै सुत्केरी स्वास्थ्य संस्थामा हुने गरेको बताइन्।
स्थानीय महिला मिना चमारले भने, “घरमै स्वास्थ्य सेवा पाइने भएपछि डर घटेको छ।” नियमित गर्भ परीक्षण, आइरन चक्की वितरणजस्ता सेवाले मातृ मृत्युदर घटाउन सकारात्मक भूमिका खेलेको अनमी भारतीको भनाइ छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

