नेभिगेशन

स्वास्थ्य मन्त्रालयले वर्षायामसँगै महामारी नियन्त्रणमा बढायो सक्रियता

नेपाल हेल्थ न्युज, काठमाडौं । वर्षा याम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित महामारीहरूको रोकथामका लागि तयारीलाई तीव्र बनाएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका सम्बन्धित शाखा तथा विभाग प्रमुखहरूसँग बैठक गर्दै सबैलाई समयमै सजगता अपनाउन निर्देशन दिनुभएको छ।

वर्षाको समय सुरु भइसकेको छ, मन्त्री पौडेलले बैठकमा भन्नुभयो, पानी तथा कीटजन्य रोगहरू फैलिन सक्ने भएकाले आजैदेखि तयारीमा लाग्नुपर्छ। उहाँले विगतमा विपद् आइसकेपछि मात्र चासो देखाउने प्रवृत्ति रहेको भन्दै यसपटक पूर्वतयारीमा विशेष जोड दिन आग्रह गर्नुभयो।

डेंगी नियन्त्रणका लागि लामखुट्टे नाशक कार्यक्रम सुरु गर्नुपर्नेमा मन्त्रीले जोड दिनुभएको छ। त्यसैगरी, वर्षा पछि फैलिन सक्ने झाडापखाला, ज्वरो, टाइफाइडजस्ता रोगहरूको रोकथामका लागि जनचेतना र स्वास्थ्य सुरक्षाका उपायहरू अविलम्ब लागू गर्न निर्देशन दिनुभयो।

साथै, छिमेकी देश भारतमा पुनः देखिएको कोभिड–१९ का घटनालाई मध्यनजर गर्दै सरहद क्षेत्रमा निगरानी कडा बनाउने र आवश्यक व्यवस्थापनमा तीन तहका सरकारबीच समन्वय गर्दै अगाडि बढिरहेको जानकारी पनि मन्त्री पौडेलले दिनुभएको छ।

बैठकमा सहभागी अधिकारीहरूले महामारी कोषलाई प्रभावकारी बनाउँदै संकटको बेला जनताले शीघ्र राहत पाउने प्रणाली निर्माणमा जोड दिएका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार महामारी नियन्त्रणलाई वडा तहसम्म पुर्‍याउने उद्देश्यले चाँडै तीनै तहबीच समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट