नेभिगेशन

जिल्ला अस्पताल खोटाङ स्तरोन्नति गर्दै ५० शय्यामा विस्तार

नेपाल हेल्थ न्युज, खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै ५० शय्याको क्षमता बनाउने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नतिको निर्णय पारित गरेको हो।

वि.सं. २०४९ सालदेखि १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा विस्तार गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालयको पहलमा अघि बढाइएको थियो। यस वर्षको वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले यो प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गर्नुभएको थियो।

हाल निर्माणाधीन नयाँ भवनको काम अन्तिम चरणमा पुगेपछि अस्पताल स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो। मन्त्री राईका अनुसार अब ११औँ तहका विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम हुनेछ, जुन यसअघि ३० जनाको मात्र थियो।

प्रदेश सरकारको यस निर्णयले जिल्लावासीबीच उत्साह फैलिएको छ। मन्त्री राईले भन्नुभयो, “अब खोटाङका नागरिकले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था रहनेछैन। योग्य चिकित्सकसहितको सेवा स्थानीय तहमै उपलब्ध हुनेछ।”

खोटाङ जिल्लामा १० वटा स्थानीय तह छन्, तर विशेषज्ञ चिकित्सक, उपकरण तथा भौतिक संरचनाको अभावका कारण सामान्य रोगको उपचारका लागि समेत अन्य जिल्ला जानुपर्ने बाध्यता थियो।

संघीय सरकारले चार वर्षअघि देशभरका जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गर्ने निर्णय गरे पनि कर्मचारी दरबन्दी लगायतका विषयमा ढिलाइ भइरहेको थियो।

यसअन्तर्गत, श्यामसुन्दर, रामसागर, नेपाल फूलबारी जेभीले ओखलढुंगा स्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमार्फत रु. २२ करोड ९० लाख लागतमा अस्पतालको नयाँ भवन निर्माणको जिम्मा पाएको हो।

वि.सं. २०७८ असार २४ मा ठेक्का सम्झौता भएअनुसार ३० महिनामा निर्माण सक्ने भनिएको भवन तोकिएको म्याद नाघेपछि थप ११ महिनाको समय दिइएको थियो। हाल पुनः आगामी असार मसान्तसम्मका लागि म्याद थप गरी निर्माण कार्यलाई अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट