नेभिगेशन

भारतमा फेरि बढ्दै कोरोना संक्रमण, चार नयाँ भेरियन्टको पहिचान

नेपाल हेल्थ न्युज, भारतमा पछिल्लो समय पुनः कोरोना संक्रमणको सक्रिय केसहरूमा वृद्धि देखिएको छ। मंगलबारसम्म सक्रिय संक्रमितको संख्या १,०८१ पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

राज्यअनुसार संक्रमितको संख्या

कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित थपिएका छन्। हाल सबैभन्दा बढी ४३० जना सक्रिय संक्रमित केरल राज्यमा रहेका छन्। यद्यपि, गुजरातमा १३ संक्रमित पूर्ण रूपमा निको भइसकेका छन्।

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

उत्तर प्रदेशको फिरोजाबादमा एक ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएपछि उक्त राज्यमा यो नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु भएको छ। महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा थप ११ जनाले ज्यान गुमाएका छन्, जसले गर्दा कुल मृत्यु संख्या १२ पुगेको हो।

चार नयाँ भेरियन्टको पहिचान

भारतीय चिकित्सा अनुसन्धान परिषद (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा चारवटा नयाँ कोरोना भेरियन्ट देखिएका छन् — एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१। यीमध्ये केही भेरियन्ट दक्षिण तथा पश्चिम भारतबाट संकलित नमूनाहरूको जीन अनुक्रमणमार्फत पत्ता लगाइएको हो।

डा. बहलका अनुसार, हालको अवस्था गम्भीर भने छैन, तर सतर्कता जरुरी छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले पनि यी भेरियन्टहरूलाई निगरानी योग्य श्रेणीमा राखेको छ, चिन्ताजनक भने मानेको छैन।

जेएन.१ — हाल सबैभन्दा धेरै देखिएको भेरियन्ट

परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा जेएन.१ भेरियन्ट फेला परेको छ। यसको पछाडि बीए.२ (२६%) र ओमिक्रोनका अन्य उपप्रकार (२०%) रहेका छन्। जेएन.१, ओमिक्रोनको बीए.२.८६ स्ट्रेनको उप-प्रकार हो, जुन पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा डब्लुएचओ द्वारा ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषण गरिएको थियो।

यस भेरियन्टमा करिब ३० म्युटेसन छन्, जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, यो छिटो फैलिने भए पनि अत्यधिक गम्भीर भने नहुने देखिएको छ।

एनबी.१.८.१ भेरियन्ट पनि फैलन थालेको

एनबी.१.८.१ भेरियन्टमा भएका विशेष स्पाइक प्रोटिन म्युटेसनहरूले यसलाई अझ छिटो फैलन योग्य बनाउँछ। यसले अघिल्लो संक्रमण वा खोपबाट प्राप्त प्रतिरक्षालाई पनि सजिलै छल्न सक्छ।

विशेषज्ञहरूका अनुसार, जेएन.१ भेरियन्टको लक्षणहरू केही दिनदेखि लिएर हप्तौँसम्म रहन सक्छन्। कतिपय अवस्थामा, लङ्ग कोभिड जस्तो स्थिति देखा पर्न सक्ने खतरा पनि रहन्छ, जहाँ संक्रमित निको भइसकेपछि पनि लक्षणहरू दीर्घकालीन रूपमा बाँकी रहन्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट