नेपाल हेल्थ न्युज, काठमाडौं । देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्ति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय सर्च कमिटी गठन गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य रहेको छ।
बीपी कोइराला, पोखरा, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै दुई महिनादेखि उपकुलपति पद खाली रहँदै आएको छ। यसबीचमा रेक्टर र डिनहरूमार्फत दैनिक प्रशासनिक तथा आर्थिक कामकाज सञ्चालन भइरहेका छन्।
स्वास्थ्य सचिव डा. देवकोटाका अनुसार सर्च कमिटीले उपकुलपति चयनका लागि आवश्यक कार्यविधि निर्माणमा काम गरिरहेको छ। चाँडै नै सार्वजनिक आवेदन आह्वान गर्ने तयारी छ, उहाँले भन्नुभयो।
मन्त्रालय स्रोतका अनुसार नीति, योजना तथा समन्वय महाशाखाका प्रमुख बिदामा रहेकाले कार्यविधि निर्माणमा केही ढिलाइ भएको हो। अर्कोतर्फ, उपकुलपति नियुक्तिमा राजनीतिक सहमतिको सम्भावना पनि देखिएको छ।
प्रत्येक प्रतिष्ठानका लागि सर्च कमिटीले तीन(तीन जना योग्य व्यक्तिको नाम सिफारिस गर्नेछ, जसबाट प्रधानमन्त्रीले उपयुक्त उम्मेदवारलाई उपकुलपतिको जिम्मेवारी दिनुहुनेछ।
हाल बीपी प्रतिष्ठानमा डा. सञ्जीव शर्मा, पाटनमा डा. पवन शर्मा, कर्णालीमा डा. डबलबहादुर धामी र पोखरामा रेक्टर नभएका कारण डिन डा. श्रीकृष्ण श्रेष्ठले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालनुभएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


