नेपाल हेल्थ न्युज काठमाडौंं । नेपाल सरकारका स्वास्थ्य मन्त्रीद्वारा हालै सार्वजनिक रुपमा गरिएको डाक्टर लिने देशसँग रोयल्टी लिने अभिव्यक्तिप्रति राष्ट्रिय चिकित्सक संघले कडा आपत्ति जनाएको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा संघले उक्त भनाइलाई गैरजिम्मेवार, अपमानजनक र डाक्टरप्रतिको दृष्टिकोणलाई अवमूल्यन गर्ने बताएको छ।
चिकित्सक संघका अध्यक्ष डा. बिकाश गौचन र महासचिव डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विदेश जाने चिकित्सक बाध्यताले देश छाडिरहेका छन्, रहरले होइन। यस्तो संवेदनशील अवस्थामा रोयल्टीको कुरा गरेर मन्त्रीज्यूले डाक्टरलाई किनबेच हुने वस्तुजस्तो बनाउने प्रयास गर्नुभएको छ।”
संघका अनुसार ग्रामीण भेगमा डाक्टरको चरम अभाव छ, अस्पतालहरूमा आधारभूत सेवा, औषधि, उपकरण र जनशक्तिको न्यूनता छ, र सरकारी संयन्त्र समयानुकूल सुधार गर्न चुकेको छ। यस्तो अवस्थामा डाक्टरहरूलाई विदेश पलायन हुनुको दोष उनीहरूलाई होइन, राज्यको असक्षमता र व्यवस्थापनलाई दिनुपर्ने संघको भनाइ छ।
संघले अगाडि निम्न ८ बुँदे सुझावहरू पनि दिएको छ
- पुरानो दरबन्दी संरचना परिमार्जन गर्दै स्थायी पदपूर्तिका लागि लोकसेवा प्रक्रिया तत्काल सुरु गर्न।
- छात्रवृत्तिमा पढेका डाक्टरलाई सेवामा रहँदै थप अध्ययन गर्न पाउने अवसर दिन।
- ग्रामीण क्षेत्रमा काम गर्ने डाक्टरलाई विशेष सुविधा दिन।
- कार्यस्थलमा हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न।
- रेजिडेन्ट डाक्टरको तलब तथा कार्यसमय स्पष्ट व्यवस्था गर्न।
- स्वास्थ्य अनुसन्धानलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गर्न।
- दरबन्दी र सरुवामा पारदर्शिता र योग्यता आधारित प्रक्रिया अपनाउन।
- डाक्टरलाई सहज ऋणको व्यवस्था गर्न।
चिकित्सक राष्ट्रसेवक हुन्, न कि आयात–निर्यात हुने वस्तु। डाक्टरहरूलाई देशमै सेवा गर्न प्रेरित गर्न चाहने हो भने, राज्यले उनीहरूको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्नुपर्नेछ, विज्ञप्तिमा उल्लेख गरिएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
