नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व धुम्रपान विरुद्धको दिवस । यसै अवसरमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयले चुरोट उद्योगका छलपूर्ण प्रवृत्तिहरू विरुद्ध सचेत रहन सार्वजनिक अपिल गरेको छ । हरेक वर्ष ३१ मे का अवसरमा मनाइने विश्व धुम्रपान विरुद्ध दिवसका अवसरमा डब्लुएचओले सो अपिल गरेको हो । लोभलाग्दो आवरण खोलौं भन्ने नारासहित मनाइएको यस वर्षको नाराले विशेषगरी युवा र महिलाहरूलाई लक्षित गर्दै चुरोट उद्योगले अपनाएका आकर्षक तर घातक रणनीतिहरूको पर्दाफास गर्न आग्रह गरेको छ ।
डब्ल्यूएचओ दक्षिण–पूर्व एशियाकी क्षेत्रीय निर्देशक सायमा वाजेदले दिएको वक्तव्यमा भनिएको छ—‘धुम्रपान अझै पनि विश्वमा मृत्युको सबैभन्दा रोक्न सकिने प्रमुख कारण हो । यो मुटु रोग, क्यान्सर, मधुमेह, र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी दीर्घरोगको मुख्य जोखिम कारक पनि हो । दक्षिण–पूर्व एशियामा हाल करिब ४११ मिलियन वयस्क धुम्रपान प्रयोगकर्ता छन् । विश्वका करिब एकतिहाइ धुम्रपान प्रयोगकर्ता यही क्षेत्रमै छन् । यसले गर्दा यो क्षेत्र विश्वव्यापी धुम्रपान महामारीको केन्द्र बनेको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको धुम्ररहित चुरोट (स्मोकलेस टोवाको) को उच्च प्रयोग हो । उहाँले थप भन्नुभएको छ—‘सबैभन्दा चिन्ताजनक त धुँवारहित चुरोट प्रयोगको दर हो । विश्वभरका यस्ता प्रयोगकर्ता ७७ प्रतिशत (२८ करोड ८० लाख) यही क्षेत्रभित्र छन् ।’
प्रगति भए पनि चुनौती कायमै
सन् २००० देखि २०२२ सम्ममा चुरोट प्रयोगमा उल्लेखनीय कमी आएको तथ्य पनि सकारात्मक सन्देश हो । पुरुषहरूमा प्रयोग दर ६८.९ प्रतिशतबाट ४३.७ प्रतिशतमा झरेको छ भने महिलाहरूमा ३३.५ प्रतिशतबाट ९.४ प्रतिशतमा झरेको छ । यसले गर्दा सन् २०१० को तुलनामा २०२५ सम्म ३० प्रतिशत चुरोट प्रयोग घटाएर नसर्ने रोगको पूरा गर्ने सम्भावना प्रवल भएको डब्ल्यूएचओको भनाइ छ । क्षेत्रीय निर्देशक वाजेदका अनुसार, यो कमी ३४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण छ जुन अत्यन्त दुर्लभ र प्रेरणादायी उपलब्धि हो ।
‘तर यस्तो उपलब्धिले हामी ढुक्क हुनु हुँदैन किनकि चुरोट उद्योग फेरि नयाँ स्वरूपमा फर्किएका छन्’—उहाँले थप चेतावनी दिनुभएको छ।
नयाँ चुनौती ः इलेक्ट्रोनिक सिगरेट र स्वादयुक्त उत्पादन
सायमा वाजेदका अनुसार, चुरोट उद्योगले अहिले इलेक्ट्रोनिक सिगरेट र निकोटिन पाउच जस्ता उत्पादनहरूलाई सुरक्षित विकल्पको रूपमा प्रचार गर्दै किशोर र किशोरीहरूलाई लक्षित गर्दैछन् । क्षेत्रीय तथ्यांक अनुसार दक्षिण–पूर्व एशियामा हालै मात्र १३ देखि १५ वर्ष उमेर समूहका १ करोड १० लाख बालबालिका चुरोटको लतमा फसिसकेका छन् ।
‘आकर्षक प्याकेज, सामाजिक सञ्जालमार्फत सेलिब्रिटीहरूको प्रचार र झूटो स्वास्थ्य दाबी जस्ता प्रविधि प्रयोग गरेर उद्योगहरुले नयाँ पुस्तालाई लत लगाउने रणनीति अपनाइरहेका छन्’—उहाँले भन्नुभयो ।
देशहरूलाई कडा कदम चाल्न आग्रह
यसै सन्दर्भमा डब्ल्यूएचओले आफ्ना सदस्य राष्ट्रहरूलाई विभिन्न कदम चाल्न आग्रह गरेको छ । जसमा सुर्ति नियन्त्रणसम्बन्धी फ्रेमवर्क कन्वेन्सन मापदण्डहरू पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने, नयाँ चुरोट र निकोटिन उत्पादनहरूमा प्रतिबन्ध लगाउनुपर्ने, धुम्रपान परित्याग सेवा केन्द्रहरू विस्तार गर्नुपर्ने, चुरोट उद्योगको नीतिगत हस्तक्षेपबाट स्वास्थ्य प्रणालीलाई बचाउनुपर्ने, परोक्ष विज्ञापन र धुँवारहित चुरोट, सुपारीको झुटो प्रचार नियन्त्रण गर्नुपर्ने, युवाहरूको नेतृत्वमा आधारित जनचेतना अभियान, विद्यालय स्वास्थ्य कार्यक्रम, र सहपाठी शिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने रहेका छन् ।
यसका साथै डब्ल्यूएचओले चुरोट उद्योगका विकसित हुँदै गरेका रणनीतिहरूलाई सामना गर्न देशहरूलाई तथ्यांक सङ्कलनमा लगानी, अनुसन्धान बलियो बनाउने र कानुनी कार्यान्वयन कडा बनाउन पनि आग्रह गरेको छ ।
चुरोट: स्वास्थ्य मात्र होइन, समाज र अर्थतन्त्रको पनि शत्रु
चुरोटले मानव स्वास्थ्य मात्र हैन, समाज, अर्थतन्त्र र वातावरणमा पनि गम्भीर असर पार्ने डब्ल्यूएचओले स्मरण गराएको छ । चुरोटले गरिबी बढाउँछ । स्वास्थ्य प्रणालीमा बोझ सिर्जना गर्छ र सामाजिक असमानतालाई चर्काउँछ ।अतः हामी सबै मिलेर चुरोटका सबै रूपहरूको लोभलाग्दो आवरण खोल्नुपर्छ । यसको वास्तविक स्वरूप भनेको रोग, मृत्यु र निराशा हो । हामी सबै मिलेर यस्तो भविष्य बनाऔं, जहाँ हाम्रा सन्तानहरू चुरोटको छायाँबाट मुक्त भइ स्वस्थ र समृद्ध जीवन बाँच्न सकून् ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
