नेभिगेशन

टिचिङ अस्पतालमा अब प्रविधिको सहारा: लाइन घटाउन महानगरको १ करोड ७० लाखको सहयोग

बिरामीले घरबाटै उपचार शुल्क भुक्तानी गर्न सक्ने, अस्पतालमा स्वयं रिपोर्ट प्रिन्ट गर्न सक्ने तथा दर्ता प्रक्रियालाई थप सहज र छरितो बनाउन सकिने

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा उपचारका लागि पुग्ने बिरामीले अब टिकट काट्न, शुल्क तिर्न वा रिपोर्ट लिन घण्टौं लाइनमा बस्नुपर्ने झन्झटबाट क्रमशः मुक्ति पाउने भएका छन्। अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप छरितो, व्यवस्थित र बिरामीमैत्री बनाउन काठमाडौं महानगरपालिकाले १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका अत्याधुनिक प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ। 

महानगरपालिकाले अस्पताललाई १६ थान इन्टरयाक्टिभ किओक्स मेसिन र ६५ थान ‘अल इन वन’ डेस्कटप कम्प्युटर उपलब्ध गराएको हो। यी उपकरणको प्रयोगबाट बिरामीले घरबाटै उपचार शुल्क भुक्तानी गर्न सक्ने, अस्पतालमा स्वयं रिपोर्ट प्रिन्ट गर्न सक्ने तथा दर्ता प्रक्रियालाई थप सहज र छरितो बनाउन सकिने जनाइएको छ।

एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पताल व्यवस्थापनलाई उक्त उपकरण हस्तान्तरण गर्नुभयो।

उपकरण हस्तान्तरण गर्दै डङ्गोलले स्वास्थ्य सेवा लिन अस्पताल पुग्ने बिरामी र उहाँका आफन्तले भोग्नुपर्ने लामो लाइन तथा झन्झट कम गर्न महानगरले सहकार्य गरेको बताउनुभयो ।

‘बिरामी र बिरामीका आफन्तलाई अस्पताल पुग्दा त्यसै पनि पीडा भइरहेको हुन्छ। उपचार गराउने क्रममा थप सास्ती र सकस नहोस् भन्ने हाम्रो चाहना हो,’ उहाँले भन्नुभयो ।

उहाँले प्रविधिको अधिकतम प्रयोगमार्फत अस्पतालको भीड व्यवस्थापन, सेवा प्रवाह र बिरामीमैत्री वातावरण निर्माणमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

अस्पताल प्रशासनका अनुसार नयाँ प्रविधि जडान भएसँगै बिरामीले नाम दर्ता, शुल्क भुक्तानी तथा स्वास्थ्य परीक्षणका रिपोर्ट प्राप्त गर्ने प्रक्रिया थप स्वचालित, छिटो र व्यवस्थित हुनेछ। यसअघि बिरामीहरू दर्ता, शुल्क तिर्न तथा रिपोर्ट लिन घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको थियो।

महानगरपालिकाको सहयोगले अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा प्रविधिमैत्री बन्नुका साथै दैनिक हजारौं सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष