नेपाल हेल्थ न्युज, काठमाडौं । एक सय १ वर्षको इतिहास बोकेको भक्तपुर अस्पताल देशभरका अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ।
अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन सार्वजनिक कार्यक्रममा भक्तपुर अस्पतालले १०० मध्ये ९० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम भएको उल्लेख गर्दै, अस्पतालको गुणस्तर कायम राख्न कर्मचारीले इमानदारिता पूर्वक काम गर्नुपर्ने बताउनुभयो। उहाँले मन्त्रालयले न्युरो सेवा सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको र एक महिनाभित्र डायलाइसिस सेवा सुरु गरिने जानकारी दिनुभयो। साथै, पुरानो भवन पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरिने उहाँले जनाउनुभयो।
प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले एक सय १ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्त्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताउनुभयो । बागमती स्वास्थ्य एप्स मार्फत सबै १३ प्रादेशिक अस्पतालको दैनिक विवरण अनुगमन गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो।
एमएमएस मूल्यांकन टोलीका संयोजक उपप्राध्यापक रोशनी तुईतुईका अनुसार भक्तपुर अस्पताल ३०० शय्या क्षमताका बी–लेवलका अस्पतालमध्ये देशकै पहिलो भएको हो। उहाँले अब भक्तपुर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।
लुम्बिनी प्रादेशिक अस्पतालले ८९ अंकसहित दोस्रो र भरतपुर अस्पतालले ८८ अंकसहित तेस्रो स्थान हासिल गरेका छन्। बागमती प्रदेश अन्तर्गत धादिङ अस्पतालले ८२ र त्रिशूली अस्पतालले ८१ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।
भक्तपुर अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले सेवाहरूको विस्तार र बिरामीको चाप अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको जानकारी गराउनुभयो।
भक्तपुर अस्पतालको स्थापना वि.सं. १९६१ मा भएको हो। यो अस्पताल तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर ज.ब.रा. द्वारा निर्माण गरिएको थियो र सुरुमा 'चन्द्रलोक डिस्पेन्सरी' नामले चिनिन्थ्यो। यो नेपालकै दोस्रो पुरानो सरकारी अस्पताल हो, पहिलो बिर अस्पतालपछि। स्थापना हुँदा यस अस्पतालमा १५ वटा शय्या थिए, जुन हाल ७५ शय्यामा विस्तार गरिएको छ ।
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२

