नेभिगेशन

सरुवा भएर पनि हाजिर नगर्ने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तीन दिनको अल्टिमेटम

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सरुवा भएका तर तोकिएको कार्यस्थलमा हाजिर नगरिएका कर्मचारीहरूलाई लक्षित गर्दै तीन दिनभित्र हाजिर गराउन कडा निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार, सरुवा भइसकेका कर्मचारीहरूलाई अझै पनि विभिन्न स्थानमा काजमा राखिएको, दरबन्दीभन्दा बाहिर बसेर सेवा लिइरहेको, र उनीहरूलाई तोकिएको स्थानमा हाजिर गराउन गाह्रो भएको गुनासो बढ्दै गएपछि यो निर्णय लिइएको हो।

मन्त्री प्रदीप पौडेलको निर्देशनमा मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट संघीय अस्पताल र मातहतका सबै कार्यालयमा पत्र पठाइएको छ।

उक्त पत्रमा तीन दिनभित्र सरुवा भएका कर्मचारीलाई सम्बन्धित स्थानमा हाजिर गराउनू पर्ने र तोकिएको समयसम्म हाजिर नगरिए विभागीय कारबाही गर्ने स्पष्ट चेतावनी दिइएको छ। त्यस्तै, तोकिएको कार्यस्थलमा नपुगी अन्यत्र बसेर सेवा सुविधा लिने कर्मचारीहरूलाई सुविधा वापतको रकम समेत असुलउपर गरिने उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो निर्देशनलाई अटेर गर्ने कुनै पनि कर्मचारी वा कार्यालयलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिनुभएको छ। उहाँका अनुसार, स्वास्थ्य सेवा क्षेत्रमा विगतदेखि नै दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्तिले सेवा प्रवाहमा असर परेको र यो व्यवस्थालाई अब नियन्त्रणमा ल्याउने मन्त्रालयको उद्देश्य रहेको छ।

यो निर्णयपछि सरुवा भएका कर्मचारीहरूले समयमै हाजिर हुने र सम्बन्धित कार्यालयहरूले कुनै बाहाना नदेखाई कार्यान्वयनमा सहयोग पुर्‍याउने अपेक्षा मन्त्रालयले राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट