नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो सातादेखि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा कोभिड–१९ का संक्रमित फेला पर्न थालेका छन्। विगत एक हप्तामा पाँच जनामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार ती संक्रमितमध्ये अधिकांशलाई सामान्य लक्षण मात्र देखिएको र होम आइसोलेसनमा राखिएको छ। एक जना भने अन्य स्वास्थ्य समस्याका कारण अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ।
“चार दिनअघि एक जना बिरामीलाई निजी अस्पतालबाट यहाँ ल्याइएको हो,” डा. बसौलाले जानकारी दिनुभयो, “हाल उहाँको अवस्था सुधारोन्मुख छ।”
सक्रिय संक्रमितको संख्या १६
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. चन्द्रभाल झाले हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको जनाउनुभएको छ। उहाँले भारतमा कोरोना बढेपछि नेपालमा पनि केही असर देखिन थालेको बताउनुभयो।
“केही दिनअघि सीमामा गरिएको परीक्षणमा भारतबाट आउने केही यात्रुमा संक्रमण देखिएको हो,” डा. झाले भन्नुभयो, “तर अहिलेका दिनमा नयाँ केस रिपोर्ट भएको छैन।”
सतर्कता आवश्यक
टेकु अस्पतालले आपतकालीन कक्षबाट खोप सेवा पनि नियमित रूपमा दिइरहेको छ। जनस्वास्थ्य विज्ञहरूका अनुसार अहिलेको अवस्था महामारीकै जस्तो त छैन, तर सतर्कता अपनाइरहनु आवश्यक छ।
धुलिखेल अस्पतालका डा. राजीव श्रेष्ठका अनुसार कोरोना अब एक सामान्य संक्रमणजस्तै रहन सक्छ। “यो अब दादुरा, हैजा वा रुघाखोकीजस्तै सामान्य रोगको रूपमा समय–समयमा देखिन सक्छ,” उहाँले भन्नुहुन्छ, “तर नयाँ भेरियन्टको जोखिमलाई ध्यानमा राख्दै खोप लगाउने बानी बसाल्नुपर्छ।”
नेपालमा विगत पाँच वर्षमा कोरोनाका कारण १२ हजारभन्दा बढीको ज्यान गइसकेको पृष्ठभूमिमा स्वास्थ्य मन्त्रालयले पनि सतर्कता अपनाउन जनतालाई आग्रह गर्दै आएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
