नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले आफ्नो इतिहासमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण जेठ ८ गते सम्पन्न भएको हो। प्रत्यारोपणमा उनका २६ वर्षीय छोरा आयुष कार्कीले आफ्नो कलेजो दान गरेका थिए।
कलेजो प्रत्यारोपण विश्वमै एक अत्यन्त जटिल प्रक्रिया मानिन्छ, जसमा बहु–विषयगत विशेषज्ञहरुको ठूलो टोली आवश्यक हुन्छ। यस शल्यक्रियामा कलेजो दाताको अपरेसनमा झण्डै ९ घण्टा र प्राप्तकर्ताको शल्यक्रियामा १३ घण्टा लागेको थियो। प्रत्यारोपण भारतको प्रतिष्ठित अमृता अस्पतालसँगको सहकार्यमा, नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा सम्पन्न गरिएको थियो।
कलेजो दाता आयुष कार्कीले भने, “हामी दुईपटक भारत गएका थियौं, तर डाक्टरको परामर्श चित्त बुझेन। नेपालमै विश्वस्तरीय सेवा उपलब्ध रहेछ भन्ने थाहा पाएपछि मेडिसिटीमा परामर्श लियौं र यहीं प्रत्यारोपण गर्ने निर्णय गर्यौं।”
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोका अनुसार, यो प्रत्यारोपण सम्भव हुनुको मुख्य कारण अस्पतालमा रहेको दक्ष र समर्पित मल्टिडिसिप्लिनरी टोली हो। “हामीले अस्पताल स्थापना गर्दा नै नेपाली जनताले विदेश जानु नपरोस् भन्ने सोच राखेका थियौं,” उनले भने।

ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख डा. उमिद कुमार श्रेष्ठले ईश्वर बहादुर कार्कीको अवस्था निकै गम्भीर रहेको जनाउँदै भने, “उनीमा पेटमा पानी जम्ने, होस हराउने, रगत वान्ता हुने लगायतका समस्या देखिएको थियो। कलेजोसँगै मिर्गौला पनि बिग्रिएको थियो। विदेशका अस्पतालले प्रत्यारोपण गर्न अस्वीकार गर्दा पनि हामीले चुनौती स्वीकार्य गर्दै सफल प्रत्यारोपण गरेका हौं।”
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार मिर्गौला प्रत्यारोपण पनि आवश्यक हुन सक्ने आशंकामा चिकित्सकहरूले पहिला कलेजो प्रत्यारोपण गर्ने निर्णय गरेका थिए। हाल मिर्गौलाको कार्यक्षमता पनि क्रमशः सुधार हुँदै गएको जनाइएको छ।
नेपाल मेडिसिटी अस्पतालले यसअघि ४५ जना मिर्गौला प्रत्यारोपण र ५०० भन्दा बढी हिप तथा जोर्नी प्रत्यारोपण गरिसकेको छ। अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा नेपाली जनताका लागि सुलभ मूल्यमा प्रदान गर्दै आएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
