नेपाल हेल्थ न्युज, चितवन । भरतपुरमा आयोजित एकदिने रक्तदान कार्यक्रममा १,७१७ जनाले रक्तदान गरेका छन्। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाले शनिबार आयोजना गरेको उक्त अभियानमा जिल्लाका सातै स्थानीय तहबाट उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमबाट संकलित रगतमध्ये एक हजार ५३६ युनिट नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा राखिएको छ भने बाँकी एक सय ८१ युनिट रगत भरतपुर अस्पतालको ब्लड बैंकमा सुरक्षित गरिएको छ।
रक्तदानको अन्तर्राष्ट्रिय दिवस जुन १४ को अवसर पारेर आयोजना गरिएको यो विशेष अभियानले उपचारका क्रममा देखिने रगत अभावलाई कम गर्न मद्दत पुग्ने आयोजकहरूको विश्वास छ। रक्तदान गर्न सक्ने थुप्रै मानिस भए पनि धेरैजसोले अग्रसरता नदेखाउने गरेका छन्। समाजमा सकारात्मक सन्देश फैलोस् भनेर यो बृहत् अभियान सञ्चालन गरिएको हो, कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताउनुभयो।
यो महोत्सव एकै दिनमा एकै स्थानबाट सबैभन्दा धेरै रगत सङ्कलन भएको कार्यक्रमका रूपमा नेपालको रेकर्डमा दर्ज भएको छ। प्रचार समितिका संयोजक विपिन पाठकका अनुसार यसअघि २०७४ फागुन २५ मा काठमाडौंको टुँडिखेलमा लायन्स क्लबलगायतले १,५०० पिन्ट रगत सङ्कलन गर्दै यस्तै प्रयास गरेका थिए।
रक्तदान जस्तो मानवीय कार्यप्रति जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रमहरु भविष्यमा पनि निरन्तर गरिने आयोजकहरूले बताएका छन्।रासस
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२

