नेभिगेशन

स्वास्थ्यसेवामा गुणात्मक सुधारको बाटो : लुम्बिनीको बजेटमा ४ अर्ब ९५ करोड

नेपाल हेल्थ न्युज, दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। भरपर्दो स्वास्थ्य सेवा भन्ने नीतिगत मार्गदर्शनसहित प्रस्तुत गरिएको बजेटले सबै नागरिकका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै प्रदेशभर आधारभूत तथा आकस्मिक सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बजेटमा निःशुल्क औषधिका लागि ३ करोड रुपैयाँ र अत्यावश्यक उपकरण खरिदका लागि थप रकम विनियोजन गरिएको छ।

मातृ-शिशु सुरक्षादेखि हवाई उद्धारसम्म

गर्भवती महिला र नवजात शिशुको मृत्यु दर घटाउने उद्देश्यले “सुरक्षित मातृत्व अभियान”लाई विस्तार गर्दै दुर्गम क्षेत्रका सुत्केरी महिलाका लागि हवाई उद्धार सेवा सञ्चालन गरिनेछ, जसका लागि १० करोड छुट्याइएको छ।

मानसिक स्वास्थ्यमा पहिलोपटक प्राथमिकता

प्रदेश सरकारले यसपटक मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ। “मानसिक स्वास्थ्यमा सुधार, स्वस्थ जीवनको आधार” भन्ने नारासहित आत्महत्या रोकथाम, योग शिविर, मनोसामाजिक परामर्श जस्ता कार्यक्रम सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गम्भीर रोगहरूमा सहुलियत र सेवा विस्तार

गम्भीर रोगहरूको उपचारलाई सहज बनाउन मुटुको भल्भ, मृगौला प्रत्यारोपण तथा क्यान्सर उपचारमा प्रति बिरामी २ लाख रुपैयाँ सहुलियत दिइनेछ। आँखाको नानी प्रत्यारोपण, डायलाइसिस र निःशुल्क रक्तसञ्चार सेवाहरू पनि निरन्तर रहने छन्।

अस्पताल स्तरोन्नति र नयाँ संरचनाहरूको निर्माण

राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्या क्षमतामा विकास गर्न ५ करोड छुट्याइएको छ भने भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा र आकस्मिक सेवा सञ्चालनको व्यवस्था गरिएको छ। अर्घाखाँची, भैरहवा र बर्दियाका अस्पताल भवनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको छ।

विशेष सेवा र संक्रमणजन्य रोग नियन्त्रणमा जोड

कपिलवस्तुमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माण गरिनेछ। सिकलसेल, थालासेमिया, हेमोफिलिया लगायत रोगप्रति जनचेतना र स्क्रिनिङलाई प्रवर्द्धन गरिनेछ। मलेरिया, डेंगी, कुष्ठरोग, हेपाटाइटिस, क्षयरोग लगायत संक्रामक रोगहरूको रोकथामका लागि केस(आधारित सर्भेलेन्स प्रणाली कार्यान्वयनमा ल्याइनेछ।

पोषण सुधार र डिजिटल स्वास्थ्य निगरानी

पोषणमा कमजोर रहेका जिल्लाहरू – दाङ, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया – मा लक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ। महिला तथा बालबालिकाको पोषण अवस्थामाथि डिजिटल प्रणालीमार्फत निगरानी सुरु गरिनेछ।

नसर्ने रोग र आयुर्वेद सेवामा पनि ध्यान

मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोगहरूको न्यूनीकरण तथा रोकथामका लागि ४ करोड विनियोजन गरिएको छ। आयुर्वेद क्षेत्रमा पनि विशेष चासो दिँदै बिजौरी र बुटवलस्थित आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने योजना रहेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल गौरवको आयोजना

लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजना मानेर यसको निर्माणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ।

यसरी, कुल ४ अर्ब ९५ करोडको बजेट स्वास्थ्य मन्त्रालयका लागि छुट्याइएको छ। यदि योजना सफलतापूर्वक कार्यान्वयन भए, लुम्बिनी प्रदेशको स्वास्थ्य पहुँचमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट