नेभिगेशन

नेपाल फार्मेसी संघ लुम्बिनीको नयाँ नेतृत्व चयन, तिवारी अध्यक्ष र खत्री महासचिव

नेपाल हेल्थ न्युज, कपिलवस्तु । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आठौं साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार चन्द्रौटामा सम्पन्न भएको छ। अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दै खेमराज तिवारीलाई अध्यक्ष बनाइएको छ।

केंद्रीय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममार्फत १० सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा चयन गरिएको हो। नवगठित समितिमा उपाध्यक्षमा सुभेन्द्र प्रसाद यादव, सुलभ अधिकारी र सुवेक्षा गौतम रहनु भएको छ भने महासचिवको जिम्मेवारी उदय बहादुर खत्रीलाई दिइएको छ।

त्यस्तै, कोषाध्यक्षमा ओजस्वी रजथल, सचिवद्वयमा महेश रानाभाट र सुनिल द्ववेदी चयन हुनुभएको छ। सदस्यमा सुजाता डाँगी र बिमल घर्ती मगर रहनुभएको छ, अध्यक्ष तिवारीले जानकारी दिनुभयो।

अधिवेशन उद्घाटन गर्दै संघका अध्यक्ष युवराज भुसालले फार्मेसी पेसामा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बिरामीको सुरक्षासँगै फार्मासिष्टहरूको पेशागत हैसियत र औषधि उत्पादनको विश्वसनीयता पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। साथै, प्रमाणपत्र भाडामा दिने प्रवृत्तिको कडा विरोध गर्दै उहाँले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि किरण ढकालले नीति निर्माणमा देखिएको अन्योलका कारण फार्मासिष्टका मुद्दा समाधानमा ढिलाइ भएको उल्लेख गर्नुभयो। फार्मेसी जनशक्ति पर्याप्त हुँदाहुँदै अनावश्यक ओरिएन्टेसनको कुरा उठाउनु उपयुक्त नहुने उहाँको भनाइ थियो।

अधिवेशनमा ध्रुव कुमार शर्मालगायतको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन रमेश खनालले गर्नुभएको थियो भने अध्यक्षता गोबिन्द तिवारीले गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट