नेपाल हेल्थ न्युज, खजुरा । लुम्बिनी प्रदेशको नेपालगन्ज उपमहानगरपालिकाले अपाङ्गता भएका नागरिकहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै अभिनव कार्यक्रम अघि बढाएको छ। यस अन्तर्गत ‘ग’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ, जुन प्रदेशमै पहिलोपटक गरिएको यस्तो प्रयास हो।
उपमहानगरभित्रका १९२ वटा अपाङ्ग परिवार यस बीमा योजनामा समावेश भएका छन्। बीमा कार्ड वितरण कार्यक्रम नगर प्रमुख प्रशान्त विष्टको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, वडा नं. ४ का अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य मुजम्मिल हुसेन हलवाई, महिला तथा बालबालिका शाखा प्रमुख पवित्राकुमारी पुरी, र स्वास्थ्य बीमा बोर्ड बाँकेका संयोजक रमेश आचार्यको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अपाङ्ग व्यक्तिहरूले पर्याप्त राज्य सेवाहरू नपाएको उल्लेख गर्दै औषधि उपचारको पहुँच सजिलो बनाउन बीमा कार्यक्रम ल्याइएको जानकारी दिनुभयो। उहाँले यस अभियानलाई निरन्तरता दिँदै आगामी वर्षबाट ‘अल्बिनो’ भएका व्यक्तिहरूलाई पनि बीमाको दायरामा ल्याउने योजना रहेको बताउनुभयो।
उपप्रमुख राईले यस कार्यक्रमलाई आफ्नो कार्यकालभर निरन्तर अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो। महिला विकास अधिकृत आशाकुमारी शाहीका अनुसार बीमा योजना आगामी भदौ १ गतेदेखि लागू हुनेछ।
स्वास्थ्य बीमाको वार्षिक शुल्क पाँच जनासम्मको परिवारका लागि ३,५०० रूपैयाँ छ भने पाँचभन्दा बढी सदस्य भएको परिवारमा अतिरिक्त सदस्यको हकमा जनही ७०० रूपैयाँ थपिनेछ। तर, ७० वर्षभन्दा बढी उमेर भएका ज्येष्ठ नागरिक, अति गरिब, अपाङ्ग, कुष्ठरोगी, एमडीआर, टिबी र एचआईभी संक्रमित बिरामी भएका परिवारहरूलाई शुल्कमा पूर्ण छुट दिइनेछ।
बीमाअन्तर्गत पाँच जनाको परिवारलाई वार्षिक अधिकतम १ लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने अधिक सदस्य भएको परिवारले दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्नेछन्।

गरिबलाई परीक्षणको नाममा लुट्न नखोज: मन्त्री पौडेलको चेतावनी
बुधबार, असार ३२, २०८२
डेंगु नियन्त्रणका लागि ४ महिना निर्माण कार्य रोक्न स्वास्थ्य मन्त्रीको आग्रह
बुधबार, असार ३२, २०८२
स्वास्थ्य सेवा ऐन संशोधन सहमति विरुद्ध सर्वोच्चमा चुनौती, सरकारलाई कारण देखाउ आदेश
बुधबार, असार ३२, २०८२