नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा राष्ट्रसेवक तथा वैदेशिक रोजगारीमा गएकाहरूका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने कार्य अघि बढेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई पत्राचार गर्दै पालिकामा कार्यरत राष्ट्रसेवक र वैदेशिक रोजगारीमा गएकाहरूका परिवारलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध गराउन निर्देशन दिएको छ।
यो व्यवस्था स्वास्थ्य बीमा ऐन, २०७४ मा नै उल्लेख भए पनि हालसम्म पूर्ण रूपमा कार्यान्वयनमा आएको थिएन। मन्त्री पौडेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो प्रावधानलाई कार्यान्वयनमा ल्याउने पहल गर्नुभएको छ।
स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला मन्त्रालयसँग समन्वय गर्दै ऐनमा उल्लेखित प्रावधान कार्यान्वयन गर्न अनुरोध गरेको थियो। सो अनुरोधको आधारमा संघीय मामिला मन्त्रालयले पालिकाहरुलाई आवश्यक निर्देशन जारी गरेको हो।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यसबाट ऐनमा उल्लेखित तर हालसम्म कार्यान्वयनमा नआएको प्रावधान लागू हुने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले बाँकी क्षेत्रहरूलाई पनि स्वास्थ्य बीमामा समावेश गराउने दिशामा मन्त्रालयले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो।
मन्त्री पौडेलका अनुसार सबै राष्ट्रसेवक र संगठित क्षेत्रलाई बीमामा आबद्ध गराएमा स्वास्थ्य बीमा कोषमा वार्षिक करिब ४० अर्ब रुपैयाँ थपिनेछ र यसले कार्यक्रमको दीगो विकासमा टेवा पुर्याउनेछ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
