नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगहरूको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत अतिरिक्त एक लाख रुपैयाँ उपचार सुविधा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नीतिगत सुधार तथा व्यवस्थागत रूपान्तरणमा सक्रियता देखाउँदै आउनुभएको छ। सोहीअनुसार अबदेखि क्यान्सर, मुटु रोग, मिर्गौला सम्बन्धी रोग, टाउको र मेरुदण्डमा चोट लाग्ने (हेड इन्जुरी तथा स्पाईनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोगका बिरामीहरूले बीमा कोषबाट हाल उपलब्ध सुविधा अतिरिक्त थप एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्।
मन्त्रीस्तरीय निर्णयअनुसार सो व्यवस्था स्वास्थ्य बीमा नियमावलीको कार्यान्वयन अन्तर्गत लागू गरिनेछ। साथै, मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी यो सुविधा पुनरावृत्ति नहुने ढंगले कार्यान्वयन गर्न पत्राचार समेत गरिसकेको छ।
मन्त्री पौडेलले स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढाउन र वित्तीय दिगोपनाको आधारमा बीमा थैलीको अवधारणा लागू गर्ने तयारी समेत अगाडि बढाउनुभएको छ। यस्ता थैली निर्माण गर्दा बीमा कोषको दुरुपयोग नहोस् भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिँदै बीमा सुविधा थैलीहरू निर्माण गर्दा रोगको भार, नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारिता र वित्तीय दिगोपनालाई आधार बनाइने र बीमा कोषको दुरुपयोग हुन नदिन विशेष ध्यान दिन आग्रह गरेको छ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

