नेभिगेशन

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

नेपाल हेल्थ न्युज, सङ्खुवासभा । किमाथाङ्कामा निर्माण सम्पन्न भएको ५० शय्याको नयाँ जिल्ला अस्पताल भवन अब सञ्चालनमा आउने भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाले निर्माण सम्पन्न गरी आज जिल्ला अस्पताल प्रशासनलाई औपचारिक रूपमा भवन हस्तान्तरण गरेको हो।

भवन निर्माणको लागि सन् २०७५ को असार २२ मा स्वामीनारायण आशीर्वाद जेभी, सुनसरीसँग ठेक्का सम्झौता भएको थियो। झण्डै रु २७ करोड २८ लाखको लागतमा बनेको यस अत्याधुनिक संरचना तीन वटा सुविधा सम्पन्न ब्लकहरूमा विभाजित छ। आयोजनाका प्रमुख सुमनकुमार मिश्रका अनुसार यो संरचना स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले नयाँ भवनबाट सेवा सञ्चालन गर्न आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, नयाँ संरचनाबाट सबै प्रकारका सेवा विस्तार हुने छन्।

हाल अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग उपचार, फिजियोथेरापी, सामान्य शल्यक्रिया, प्रसूति सेवा लगायतका सेवाहरू प्रदान गरिँदै आएको छ। भवन अभावका कारण अघिसम्म सन् २०३३ मा बनेको पुरानो संरचनाको भुइँ र प्यासेजमै उपचार सेवा प्रवाह भइरहेको थियो।

सङ्खुवासभाको १० वटै स्थानीय तहका बासिन्दासहित छिमेकी भोजपुर जिल्लाका धेरै नागरिकहरूले पनि यही अस्पतालबाट सेवा लिँदै आएका छन्। अस्पतालमा दैनिक औसत तीन सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन्।रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट