नेभिगेशन

अब अनुमति बिना एम्बुलेन्स चलाउन पाइने छैन: स्वास्थ्य मन्त्रालयको निर्णय

नेपाल हेल्थ न्युज, काठमाडौं । अबदेखि देशभर एम्बुलेन्स सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति लिनु अनिवार्य भएको छ। मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका धेरै एम्बुलेन्सहरूको अवस्था पत्ता लगाउँदै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले अबदेखि सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूले कानुनीरूपमा अनुमति लिएको हुनुपर्ने निर्णय गरेको हो। यसअघि देशका धेरै ठाउँमा बिना अनुमति एम्बुलेन्स सेवा दिइँदै आएको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार, एम्बुलेन्स सञ्चालन गर्न चाहने संस्थाहरूले सम्बन्धित जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिसँग समन्वय गरेर सेवा सञ्चालन गर्नुपर्नेछ। मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि सेवा दिँदा तोकिएका सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गरिनुपर्नेछ।

स्वीकृति पाउनका लागि जीपीएस प्रणाली जडान गरिएको हुनुका साथै, प्रेषण केन्द्र प्रणालीमा आबद्ध भएको देखाउनु पर्नेछ। साथै, एम्बुलेन्सले त्यो सवारी दर्ता भएको जिल्लामै सेवा दिइरहेको हुनुपर्छ, र सवारी साधन ‘फोरह्विल’ हुनु पनि आवश्यक शर्त हो।

एम्बुलेन्सको वर्ग, रङ, उपकरण, र चालकको तालिमसम्बन्धी प्रावधानहरू पनि पूरा गरिएको हुनुपर्छ। साथै, यदि एम्बुलेन्सले पहिले राजश्व छुट लिएको हो वा नलिएको हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्दै प्रदेश सरकारको सिफारिसपत्रमा उल्लेख गरिनुपर्नेछ। मन्त्रालयले अबदेखि यी मापदण्डहरू पालना नगरी एम्बुलेन्स सञ्चालन गर्न दिइने छैन भन्ने चेतावनीसमेत दिएको छ।

ambulance-in-nepal-1750850937.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट