नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सकीय लापरबाहीका कारण बालिकाको मृत्यु भएपछि उपभोक्ता अदालतले काठमाडौँस्थित हिमाल अस्पताल प्रालि र सोही अस्पतालमा कार्यरत एक चिकित्सकलाई रकम क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
उपभोक्ता अदालतका न्यायाधीश रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले बिहीबार अस्पताल र डाक्टरलाई क्रमशः ७० र ३० प्रतिशत जिम्मेवार ठहर गर्दै जम्मा १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो।
फैसलाअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र वालरोग विशेषज्ञ डा. जयदेव यादवले ४३ लाख ६३ हजार रुपैयाँ तिर्नुपर्नेछ।
यो घटना २०७९ माघ २३ गतेको हो, जब गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसा गौतमलाई उपचारका लागि अस्पताल पुर्याउनुभएको थियो। पीडित पक्षको भनाइअनुसार स्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको हो। सो घटनापछि अभिभावकले लामो समयसम्म अस्पतालमै धर्ना दिएका थिए र पछि नेपाल मेडिकल काउन्सिलमा उजुरीसमेत दर्ता गरिएको थियो।
नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि डा. यादवको उपचारमा लापरबाही देखिएको ठहर गर्दै चेतावनी मात्र दिने निर्णय गरेको थियो। काउन्सिलका अनुसार नियमित स्वास्थ्य परीक्षण भए पनि बालिकाको अवस्थामा देखिएको जटिलतापछि आवश्यक परीक्षण नगरिएको, अन्यत्र स्थानान्तरण गर्दा सावधानी नअपनाइएको र इन्ट्युबेसन नगरेको पाइएकाले चिकित्सकलाई भविष्यमा सतर्क रहन चेतावनी दिइएको हो।
काउन्सिलको निर्णयबाट सन्तुष्ट नभएका अभिभावकले कानुनी बाटो रोज्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए। पछि उपभोक्ता अदालत गठन भएसँगै सो मुद्दा त्यहाँ सारिएको हो।
यदि अदालतको यो फैसला कुनै पक्षलाई चित्त नबुझे पुनरावेदनका लागि उच्च अदालत काठमाडौंमा जाने कानुनी प्रावधान रहेको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
