नेपाल हेल्थ न्युज, हेटौँडा । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्माण सम्पन्न भएको आयुर्वेद औषधालयको मंगलबार औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले औषधालयको उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा बानियाँले आयुर्वेदलाई पुरातनकालदेखि मानव सेवाको एक प्रभावशाली पद्धति भएको उल्लेख गर्दै यसको प्रचारप्रसार र जनसाधारणमा जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। आर्थिक रूपमा कमजोर वर्गका लागि सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित स्थापना गरिएको यस औषधालयलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।
उहाँले थप भन्नुभयो कि अस्पतालका भौतिक पूर्वाधार विकासका लागि स्थानीय तहसँग समन्वय गरिनेछ र राक्सिराङ क्षेत्रको लामो समयदेखि झुण्डिएको जग्गा पुर्जासम्बन्धी समस्याको समाधानका लागि पनि प्रदेश सरकार सक्रिय रहनेछ।
औषधालयमा ओपीडी सेवा, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई लक्षित परामर्श सेवा, साथै योग तथा पञ्चकर्म सुविधा प्रदान गरिने जानकारी औषधालय प्रमुख रामवचन शाहले दिनुभयो।
करिब ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त औषधालय दुई कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ। निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो।
समारोहमा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजालगायत विभिन्न दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता
मंगलबार, चैत २४, २०८२
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ, अस्पतालमा भर्ना
मंगलबार, चैत २४, २०८२
बीमाबाट स्वास्थ्य सेवा लिनेलाई भेदभाव गर्न नपाइने, औषधि अस्पतालमै अनिवार्य
मंगलबार, चैत २४, २०८२
