नेभिगेशन

ललितपुर महानगरको पहल: स्वास्थ्य बीमामा ४०% प्रिमियम महानगरले तिर्ने

नेपाल हेल्थ न्युज, ललितपुर । ललितपुर महानगरपालिकाले आफ्ना बासिन्दाहरूको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय गरेको छ। यस सम्बन्धमा बुधबार महानगर प्रमुख चिरीबाबु महर्जन र राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।

यस योजनाअन्तर्गत नगर प्रहरी, सरसफाईकर्मी, सवारीचालक, एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी) हरूको स्वास्थ्य बीमाको १०० प्रतिशत प्रिमियम महानगरले व्यहोर्ने छ। कार्यक्रममा प्रिमियम तिर्नका लागि चेक हस्तान्तरण पनि गरिएको थियो।

ललितपुर महानगरले दुई वर्षअघि पाटन अस्पतालसँग प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो। यो कार्यक्रममार्फत महानगरबासीहरूले पाटन अस्पतालको प्रथम सेवा केन्द्रबाट स्वास्थ्य सेवा लिने अवसर पाएका छन्।

महानगर प्रमुख महर्जनले पाटन अस्पतालसँगको सहकार्यलाई स्वास्थ्य क्षेत्रमा नयाँ र महत्वपूण कार्य बताउँदै कोभिड महामारीपछि पनि सहयोग जारी राखिएको बताउनुभयो। पाटन अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र मर्चुरी हाउसको स्तरोन्नतिमा महानगरले महत्वपूर्ण योगदान गरेको छ। बढ्दो स्वास्थ्य सेवा मागका कारण अस्पताललाई थप विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

महानगर प्रवक्ता राजु महर्जनले स्वास्थ्य बीमा प्रिमियम तिर्ने विषयमा ललितपुर महानगर पहिलो स्थानीय तह भएको दाबी गर्दै यस पहलले स्थानीय तहहरूबीच उदाहरण प्रस्तुत गरेको बताउनुभयो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले यस निर्णयलाई नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण र सकारात्मक कदम भएको मूल्यांकन गर्नुभयो।

राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्थानीय तहहरूका लागि यो कार्यक्रम अनुकरणीय भएको उल्लेख गर्दै यसलाई कमजोर बनाउन सकिने अवस्था नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले भुईँ तहका नागरिकलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्रदान गरेको छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट