नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालले अत्याधुनिक क्याथ ल्याब सेवा सुरु गरेको छ। यससँगै अब चितवन र आसपासका जिल्लाका बिरामीले स्ट्रोक, हृदयघात, क्यारोटिड स्टेनोसिस, पेसमेकर जडान लगायतका जटिल समस्या समाधानका लागि काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता हटेको छ।
अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर जडान र न्युरो इन्टरभेन्सन प्रविधिमार्फत उच्च गुणस्तरको निदान र उपचार प्रदान गर्न थालिएको जानकारी दिएको हो। क्याथ ल्याब सेवा सुरु भएसँगै भरतपुर अस्पतालले अब मुटु र मस्तिष्क सम्बन्धी आपत्कालीन अवस्थाहरूको तत्काल उपचार गर्न सक्ने क्षमताको विकास गरेको छ।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार, अब सेवाग्राहीले जटिल उपचारका लागि राजधानी धाउनुपर्ने छैन। अस्पतालमा नै विशेषज्ञ टोली, आधुनिक प्रविधि र सुविधा उपलब्ध छ।”
विशेषज्ञ सेवासहितको सरकारी पहल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने भरतपुर अस्पतालमा यो सेवा सरकारी लगानीमा सुरु गरिएको हो। अस्पतालमा दक्ष विशेषज्ञ चिकित्सकहरूको टोली, अत्याधुनिक उपकरण र प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सेवा सञ्चालनमा आएको जनाइएको छ।
क्याथ ल्याबको सुरुआतसँगै अस्पतालले न्युरोलोजी र कार्डियोलोजी दुवै क्षेत्रमा उन्नत सेवा दिन थालेको छ। विशेषगरी, स्ट्रोक (मस्तिष्कघात), क्यारोटिड स्टेनोसिस (घाँटीको धमनी साँघुरो हुने अवस्था), ब्रेन ब्लिडिंग, र हृदय धमनीको अवरोधजस्ता समस्याको तत्काल निदान र उपचार सम्भव भएको छ।
स्थानीय पहुँच, जीवनरक्षा
भरतपुर अस्पतालको यो सेवा चितवन, मकवानपुर, नवलपुर, गोरखा, धादिङ र अन्य मध्यपूर्वी जिल्लाका बिरामीहरूका लागि जीवनरक्षात्मक उपलब्धि बन्ने अनुमान गरिएको छ। विशेषगरी, समयमै उपचार आवश्यक हुने स्ट्रोक र हृदयघातका बिरामीका लागि यो ुगोल्डेन अवरु भित्र सेवा उपलब्ध गराउने महत्वपूर्ण संयन्त्र बनेको छ। अस्पतालका अनुसार, यो सेवा निःशुल्क उपचार योजनाअन्तर्गत (सार्वजनिक स्वास्थ्य सेवा कार्यक्रम) पनि समावेश गरिएको छ । जसअनुसार आर्थिक अवस्था कमजोर भएका बिरामीले पनि सहज रूपमा सेवा लिन सक्नेछन्।
भरतपुर अस्पतालको क्याथ ल्याब सेवा सञ्चालनसँगै सरकारी अस्पतालमार्फत अत्याधुनिक प्रविधिमा आधारित उपचारको पहुँच विस्तार भएको छ। यसले उपचारको लागि आर्थिक, भौगोलिक र समयसम्बन्धी बोझ घटाउने मात्र होइन, जीवनरक्षा तथा स्वास्थ्य सेवामा सरकारप्रति जनविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
