नेपाल हेल्थ न्युज, मकवानपुर । थाहा नगरपालिकामा अक्सिजन जेनेरेटर प्लान्ट खरिदको प्रक्रिया अपारदर्शी र अनियमित भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, संघीय र प्रदेश सरकारबाट प्राप्त १ करोड ५५ लाख रुपैयाँ बजेटमा प्राविधिक मापदण्ड विपरीत प्रविधि छनोट गरी प्रक्रिया अघि बढाइएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड र प्रदेश सरकारबाट ५५ लाख रुपैयाँ विनियोजन गरिएको योजनामा बोलपत्र, मूल्याङ्कन र सम्झौता प्रक्रियामा मिलेमतो भएको ठहर आयोगले गरेको हो।
विशेष अदालतमा पेश गरिएको अभियोगपत्रमा थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, इन्जिनियर सन्तोष बोहरा, सहायक सुदर्शन पहेली, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, साथै सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि र सो प्रालिका सञ्चालक सोबित प्रसाईको संलग्नता देखाइएको छ।
आरोपपत्रमा उल्लेख गरिएअनुसार, यी सबै व्यक्तिहरूको आपसी मिलेमतोमा झुटा कागजात पेश गरी कम गुणस्तरको प्रविधि चयन गरिएको थियो। त्यसैगरी, सुभारम्भ सर्भिस ट्रेडर्सले प्रस्तुत गरेको १ करोड १० लाख रुपैयाँभन्दा बढीको बोलपत्रलाई अनुमोदन गराउँदै १२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरिएको थियो।
अख्तियारको दाबी अनुसार, प्लान्टका सामग्रीहरू नगरपालिका भित्र्याइएको भए पनि सार्वजनिक खरिद ऐन, नियमावली तथा प्राविधिक मापदण्डहरूलाई बेवास्ता गरिएको छ।
अख्तियारले संलग्न पक्षहरूलाई सार्वजनिक पदको दुरुपयोग, गलत कागजात प्रयोग, बेइमानी मूल्याङ्कन र भ्रष्टाचार सम्बन्धी कसुरमा कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरेको हो।

कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
