नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा समयमै प्राप्त निःशुल्क औषधीको प्रयोगबाट एक विपन्न बिरामीको ज्यान जोगिन सफल भएको छ। भारतको सितामढी स्थायी घर भई हाल काठमाडौंको जडीबुटीमा बसोबास गर्दै आएका ४७ वर्षीय विजय चौधरी सोमबार अचानक बेहोश भएर लड्नुभएको थियो।
आफन्तकहाँ गएका बेला उहाँको शरीरको दाहिने भाग एक्कासी नचल्ने भयो र उहाँ लड्नुभएको हो। तत्कालै परिवारजनले उहाँलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएका थिए। प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले उहाँमा मस्तिष्कघात भएको पुष्टि गर्नुभयो।
डा. सुनिल कोइरालाको नेतृत्वमा उहाँको उपचार सुरु गरियो। उहाँलाई थ्रोम्बोलाइसिस नामक उपचार विधिबाट उपचार गर्नुपर्ने देखियो, जसमा एल्टिपेलेज नामक औषधी प्रयोग गरिन्छ। यो औषधी महँगो भएकाले प्रायः बिरामीका लागि सहज उपलब्ध हुँदैन। तर, स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय सहयोगमार्फत प्राप्त यस औषधीलाई केही सरकारी अस्पतालहरूमा निःशुल्क वितरण गर्दै आएको छ, जसमा वीर अस्पताल पनि पर्छ।
चौधरीको परिवार आर्थिक रूपमा कमजोर भएकाले औषधी किन्ने अवस्था थिएन। यस्तो अवस्थामा डा. कोइरालाले आफैं फार्मेसीमा गई मन्त्रालयबाट प्राप्त निःशुल्क औषधी तुरुन्त ल्याएर प्रयोग गर्नुभएको थियो। समयमै औषधी दिइएकाले चौधरीको अवस्था सुधार हुन थाल्यो र अहिले उहाँको खुट्टा चल्न थालेको चिकित्सकहरूले जानकारी दिनुभएको छ।
उक्त औषधीले शरीरमा जमेको रगतको डल्लो फुटाउने कार्य गर्छ, जसले मस्तिष्कमा रगत प्रवाह सहज बनाउँछ। चिकित्सकहरूका अनुसार यो औषधी मस्तिष्कघातको सुरुवाती चारदेखि साढे चार घन्टाभित्र प्रयोग गर्न सकेमा मात्र प्रभावकारी हुन्छ।
अहिले चौधरीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। उपचारपछि बोल्दै उहाँले भन्नुभयो, म ठेलामा तरकारी बेचेर परिवार पाल्ने मान्छे, यस्तो औषधी किन्ने हैसियत थिएन। अस्पतालले मलाई बचायो, म आभारी छु।
चिकित्सकहरूका अनुसार मस्तिष्कघातका लक्षणहरू जस्तै— शरीरको आधा भाग नचल्ने, मुख एकातिर फर्किने, बोल्न गाह्रो हुने, वा दृष्टि धुंधलिने जस्ता संकेत देखिएमा ढिला नगरी तुरुन्त अस्पताल जानु अत्यावश्यक हुन्छ। ढिलाइ भएमा स्थायी अपांगताको खतरा रहने बताइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
