नेपाल हेल्थ न्युज, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई एक विशिष्ट स्वास्थ्य संस्थामा परिणत गर्ने उद्देश्यले प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रहरी अस्पताल परिसरमा नव निर्माण गरिएको अपरेशन थिएटर भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हालको १५ शय्याको क्षमतालाई विस्तार गरी कम्तिमा ५० शय्याको अस्पताल बनाउने आवश्यकता औँल्याउनुभयो। उहाँले सो कार्य अघि बढाउन स्वास्थ्य मन्त्रालयमा औपचारिक प्रक्रिया शीघ्र सुरु गर्न आग्रह गर्नुभयो।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामी आवश्यक उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्थापनमा साथ दिन तयार छौँ, अस्पताल प्रशासनले आफ्नो आवश्यकता स्पष्ट रूपमा अगाडि बढाउनुहोस्।” साथै, अस्पतालमा जलन उपचार कक्ष जस्ता अत्यावश्यक सेवा समावेश गरी आम नागरिकका लागि पहुँचयोग्य सेवा सुनिश्चित गर्न पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल र स्वास्थ्य मन्त्री खेम सारुले पनि प्रदेश सरकार प्रहरी अस्पतालप्रति सकारात्मक रहेको र आगामी दिनमा समेत आवश्यक सहयोग निरन्तर रहने बताउनुभएको छ।
श्री सनलाईट एमपि कन्स्ट्रक्सनले प्रदेश सरकारबाट विनियोजन गरिएको करिब सात करोड ७७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरेको हो।
नेपाल प्रहरीका प्राविधिक नायब महानिरीक्षक डा. गोपेश कुमार ठाकुरले अस्पतालमा नर्सिङ जनशक्तिको अभाव रहेको औँल्याउँदै त्यसमा चाँडो सुधार गर्न आग्रह गर्नुभयो। साथै, प्रहरी अस्पताललाई सर्वसाधारणले समेत सहज रूपमा सेवा लिन सक्ने बनाउने प्रयासलाई उहाँले सराहना गर्नुभयो।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री रत्न खत्री, वादशाह कुर्मी, भण्डारीलाल अहिर र प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्ट सहित विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
