नेभिगेशन

भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा सुरु

नेपाल हेल्थ न्युज, नेपालगञ्ज। भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी समस्याको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ। अस्पतालले विशेषज्ञ चिकित्सकसहित सोमबारदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याएको हो।

अस्पतालका अनुसार नयाँ सेवामार्फत फोक्सोका दीर्घरोग, श्वासप्रश्वाससम्बन्धी समस्या तथा निद्रासम्बन्धी विभिन्न रोगको पहिचान, उपचार र परामर्श प्रदान गरिनेछ।

डा. रञ्जीत पाण्डेका अनुसार क्लिनिकमा दीर्घकालीन दम, पुरानो खोकी, छातीमा पानी जम्ने, क्षयरोग, बाथ रोगका कारण फोक्सोमा देखिने समस्या तथा फोक्सो खुम्चिने रोगको उपचार र परामर्श उपलब्ध हुनेछ।

त्यसैगरी, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, दिनभर निद्रा लागिरहने तथा पर्याप्त समय सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको समेत पहिचान र उपचार गरिनेछ।

क्लिनिकबाट क्षयरोगका बिरामीलाई औषधिप्रति संवेदनशील तथा औषधि प्रतिरोधी क्षयरोगको उपचार र परामर्श सेवा पनि प्रदान गरिने डा. पाण्डेले जानकारी दिनुभयो।

यसका साथै निमोनियालगायत गम्भीर अवस्थाका बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट हटाउने प्रक्रियामा आवश्यक उपचार र परामर्श सेवा पनि उपलब्ध हुने उहाँले बताउनुभयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले फोक्सोका दीर्घरोग, क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी विशिष्टीकृत सेवा सुरु गरिएको बताउनुभयो।

उहाँका अनुसार नयाँ सेवाले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्नुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका बिरामीलाई समेत सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट