नेभिगेशन

बागमती प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थपिने

नेपाल हेल्थ न्युज, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य संस्थामा आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताउनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले सोहीअनुसार जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापा मगरले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै अस्थायी दरबन्दी थप गरी स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताउनुभयो ।

उहाँका अनुसार प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयका लागि विनियोजन भएको छ । सीमित बजेटबाट १३ वटा प्रादेशिक अस्पताल, १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ वटा जनस्वास्थ्य कार्यालयलगायतका स्वास्थ्य निकाय सञ्चालन गर्नुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको काम भइरहेको पनि उल्लेख गर्नुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट