नेभिगेशन

निजामती कर्मचारी अस्पतालमा पहिलोपटक इक्मो रिट्रिभल सेवा, जटिल बिरामीको सफल उपचार

नेपाल हेल्थ न्युज, काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इक्मो) सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले इक्मो प्रविधिको सहायतामा गम्भीर अवस्थाका एक बिरामीको सफल उपचार गरेको छ।

इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मो र भेन्टिलेटरको सहायतामा उपचारपछि स्वास्थ्यलाभ गरी मंगलबार साँझ अस्पतालबाट डिस्चार्ज हुने तयारीमा छन्।

अस्पतालका अनुसार बिरामीलाई ११ दिनसम्म इक्मो र १४ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारपछि असोज १७ गते उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट डिस्चार्ज गरिएको थियो।

अस्पतालको सघन उपचार सेवा विभागका प्रमुख डा. प्रदीप तिवारीका अनुसार इक्मो एक अत्याधुनिक जीवनरक्षक प्रविधि हो। यसले मुटु र फोक्सोले पर्याप्त काम गर्न नसकेको अवस्थामा ती अंगलाई अस्थायी रूपमा सहयोग पुर्‍याउँछ।

यस प्रविधिमा बिरामीको शरीरबाट रगत बाहिर निकालेर मेसिनमार्फत अक्सिजन थप्ने र कार्बन डाइअक्साइड हटाउने गरिन्छ। त्यसपछि प्रशोधित रगत पुनः शरीरमा पठाइन्छ।

‘भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा गम्भीर समस्या देखिएकाले फोक्सोलाई आराम दिन विशेष प्रकारको इक्मो मेसिनको सहायता आवश्यक परेको थियो। इक्मोमा जोडेपछि मेसिनले उहाँको फोक्सोलाई आवश्यक सहयोग गर्न थालेको थियो,’ डा. तिवारीले भन्नुभयो।

उपचारमा सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी, एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीलगायत चिकित्सक तथा नर्सिङ कर्मचारीको टोली संलग्न थियो।

इक्मो विशेषज्ञ तथा क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार एआरडीएस, पल्मोनरी इम्बोलिजम, गम्भीर हृदयाघात तथा मुटु र फोक्सो प्रत्यारोपणजस्ता जटिल अवस्थामा इक्मो प्रविधि प्रयोग गरिन्छ।

यस उपलब्धिसँगै अस्पतालले इक्मो रिट्रिभल सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ। इक्मो रिट्रिभलअन्तर्गत इक्मो आवश्यक पर्ने गम्भीर बिरामी उपचाररत अस्पतालमै विशेषज्ञ टोली आवश्यक उपकरणसहित पुगेर उपचार सुरु गर्छ। त्यसपछि आवश्यकताअनुसार बिरामीलाई इक्मो सेवा उपलब्ध हुने केन्द्रसम्म सुरक्षित रूपमा स्थानान्तरण गरिन्छ।

डा. ठाकुरका अनुसार यस्तो सेवा सञ्चालनका लागि बिरामीको तत्काल मूल्याङ्कन, उद्धार योजना, दक्ष जनशक्ति, विशेष उपकरण र उपचारका विभिन्न चरणमा प्रभावकारी समन्वय आवश्यक हुन्छ।

‘नेपालमै यस्तो सेवा सञ्चालन हुनु देशको क्रिटिकल केयर सेवालाई थप सक्षम बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। यो नेपालकै पहिलो इक्मो रिट्रिभल केस पनि हो,’ उहाँले भन्नुभयो।

अस्पतालमा इक्मो सेवा सञ्चालन हुनुले नेपालमा जटिल अवस्थाका बिरामीको उपचार क्षमता विस्तार हुनुका साथै आपत्कालीन अवस्थामा अन्य अस्पतालबाट समेत बिरामीलाई सुरक्षित रूपमा उद्धार गरी उपचार गर्ने सम्भावना बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट