नेपाल हेल्थ न्युज, झापा । पछिल्लो एक वर्षको अवधिमा झापा जिल्लामा लम्पी स्किन रोगको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ, जसका कारण हालसम्म १० हजारभन्दा बढी गाईगोरु प्रभावित भएका छन्। संक्रमणका कारण १४२ गाईगोरुले ज्यान गुमाइसकेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख डा. शीतल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका सबै १५ पालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। हालसम्म ५८ हजार गाईगोरुमा खोप दिइसकिएको जानकारी दिइएको छ।
डा. भट्टराईका अनुसार मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा चिनिएका छन्। गर्मीयामको सुरुवातसँगै रोगको संक्रमण दर अझ तीव्र बनेको बताइएको छ।
उहाँले भन्नुभयो, यो रोग मुख्यतः लामखुट्टे, झिँगा, भुसुना, किर्ना जस्ता कीराहरूको टोकाइबाट सर्छ। त्यसैले हामी किसानका गोठसम्म खोप लिएर जाने अभियान सञ्चालन गरिरहेका छौं।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट झापा जिल्लाका लागि ७७ हजार ५ सय मात्रा खोप आपूर्ति गरिएको र बाँकी खोप छिट्टै लगाइने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।लम्पी स्किन रोग लागेका गाईगोरुमा उच्च ज्वरो, शरीरका विभिन्न भागमा गाँठागुठी देखिने, ती गाँठाबाट तरल पदार्थ निस्कने र कहिलेकाहीँ पाक्ने समस्या देखिन्छ।
डा. भट्टराईका अनुसार अघिल्लो पटक खोप लगाइएका पशुमा रोग नदेखिएकोले खोप प्रभावकारी देखिएको छ। नवजात बाछाबाछी र बाहिरी जिल्लाबाट ल्याइएका गाईगोरुमा मात्रै संक्रमणको दर उच्च देखिएको छ, उहाँले स्पष्ट पार्नुभयो।
साथै, चालू आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर बाँझोपनसम्बन्धी समस्या समाधान गर्न ७२ वटा फार्ममा पुगेर एकीकृत शिविर सञ्चालन गरिएको समेत उहाँले बताउनुभयो। यस्तै, प्राकृतिक विपत्तिका कारण पशुधनमा भएको क्षतिका १३ वटा निवेदन प्राप्त भएको र ती अनुसार प्रभावित किसानलाई ६ हजारदेखि ७८ हजार रुपैयाँसम्मको राहत उपलब्ध गराइएको जानकारी उहाँले दिनुभयो।
नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
बिहीबार, असार ४, २०८३
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
बिहीबार, असार ४, २०८३


